समयमै बुद्धि नपुर्‍याउँदा अक्सिजन अभाव भयो: प्रदेश मन्त्री सुवेदी

Spread the love

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले समयमा बुद्धि नपुर्‍याउँदा अक्सिजन अभाव भएको बताएका छन्।

उनले सोमबार धनगढीमा सरोकारवालासित कोरोना रोकथामका लागि भएका कामबारे जानकारी दिन आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।

‘हामीले समयमै बुद्धि पुर्‍याउन सकेनौं, हामीबाट कमजोरी भयो,’ उनले भने।

समयमै अक्सिजन प्लान्ट जोडेको भए अहिलेको अवस्था नआउने उनले बताए।

‘गत वर्ष अक्सिजन चाहिएन त्यसैले बेड बनाउन लाग्यौं। अहिले अक्सिजन अभावका कारणले मृत्यु भएको छ,’ उनले भने।

अक्सिजन अभावका कारणले प्रदेशमा धेरैको मृत्यु भएकोमा उनले दु:ख व्यक्त गरे।

‘पैसाको अभाव भएको छैन। जनता बचाउन नसकेकोमा दु:ख छ। अक्सिजन छैन त्यसैले सकेनौं। हामीले समयमा गरेका प्रयास असफल भए,’ उनले भने।

उनले नेपालगन्जबाट आउने अक्सिजन सिलिन्डर पनि कम आउन थालेको बताए।

मन्त्री सुवेदीले अक्सिजन प्लान्ट जोड्न ८० लाख बजेट दिएकोमा डोटीबाहेक सबै जिल्ला अस्पतालले टेन्डर आह्वान गरेको बताए।

उनका अनुसार बझाङ जिल्ला अस्पतालमा केही दिनमै प्लान्ट जडान हुने छ।


Spread the love