शक्तिशाली र सुन्दर बन्ने अथाह सम्भावना बोकेका तमाम महिलाका नाममा!
दृश्य १— अस्पतालको भुँइतल्लामा भिडिओ एक्स-रे गर्ने कोठा छ। कोठा प्रायजसो अँध्यारो हुन्छ। भिडिओ एक्स-रे गर्दै मनिटरमा मानिसका अंग-आकृति सजिलै देख्न सकियोस् भनेर कोठा अँध्यारो पारिएको हो।
कोठामा बिरामी सुताउने एउटो लाम्चो तर साँघुरो बेड छ। यो बेडमा विभिन्न रोग लागेका बिरामी सुत्न आइपुग्छन्। यही सिलसिलामा अहिले भिडिओ एक्स-रे कोठामा आइपुगेकी छिन् एक गर्भवती महिला।
उनलाई बेडमा पल्टन सहयोग गरेपछि उनका श्रीमान त्यहाँ टाँगेको नीलो पर्दाबाहिर उभिन्छन्। उनलाई कोठाबाहिर कुर्न भनिएको हो। तर उनी अटेर गरेर त्यहीँ पर्दापछाडि उभिएका छन्। श्रीमानको हातमा श्रीमतीको कालो रङको महिलाले बोक्ने झोला देखिन्छ। उनी एकैछिनमा त्यो झोला श्रीमतीले कुममा भिर्ने तरिकामै भिर्छन्। केटा मान्छेले महिलाले बोक्ने झोला त्यसरी बोकेको देख्दा अलि हाँस उठ्दो लाग्ने रहेछ।
अब भिडिओ एक्स-रे गर्ने डाक्टर ती गर्भवती महिलाको पेटमा घोट्ने यन्त्र राखेर मनिटरमा ध्यान दिँदै छन्। मनिटर स्क्रिनमा हात, गोडा सल्बलाउँदै गरेको सानो जीवनको आकृति देखिन्छ।
डाक्टर बोल्छन्, ‘आजको भिडिओ एक्स-रेले अहिलेसम्म बच्चाको राम्रो विकास भइरहेको देखाएको छ। केही हप्तामा फेरि दोहोर्याउनु पर्छ। त्यति बेलाको कुरा त्यति बेलै भनौंला।’
डाक्टरले आफ्नो कुरा सिध्याएर उठ्दै गर्दा बेडमा पल्टिएकी गर्भवती महिला बोल्छिन्, ‘अनि डाक्टरसाब छोरा छ कि छोरी?’
दृश्य २—
अस्पतालको अपरेसन कोठा जहाँ अहिले बच्चा निकाल्ने अपरेसन अर्थात् सिजेरियन हुन लागेको छ। गर्भवती महिलालाई ढाडमा सुइ लगाएर अपरेसन बेडमा सुताइएको छ। उनको ठीक माथिपट्टि सिलिङतिर ट्रकका ठूला हेडलाइटजस्ता चम्किला बत्तीहरू बलिरहेका छन्।
दुई डाक्टर र एक नर्स अपरेसनमा सरिक छन्। बिरामीको ढाडमा सुइ लगाएर बेहोस बनाउने डाक्टर बिरामीको टाउकोतिर उभिएर मनिटरमा देखिएका डाटाहरू पढ्दैछन्।
उनलाई अरूले ‘बेहोस गराउने डाक्टर’ भनेको चित्त बुझ्दैन।
उनी भन्छन्, ‘बेहोस गरेर अपरेसनपछि उठाउने काम पनि त मेरै हो नि! कहाँ बेहोस गराउने डाक्टर मात्रै भनेर पुग्छ र?’
ठट्टा मिसिएको उनको यो भनाइ वास्तवमा गहन छ। उसका साथीभाइले बुझेका छन्।
अपरेसनमा सामेल डाक्टरहरू गर्भवती महिलाको तल्लो पेटको तह-तह खोल्न व्यस्त छन्। तल्लो पेटको तह-तह एकएक गरेर खोलेपछि पाठेघर देखापर्छ। पाठेघरमा पहिला सानो चिरा पारिन्छ र त्यो चिरालाई मुस्काइ रहेको मान्छेको गाला तन्केको जसरी तन्काइन्छ। त्यसरी चिरेको ठाउँबाट अब डाक्टर आफ्नो हात पसाल्छन् र पाठेघरभित्र बसेको बच्चाको टाउकोलाई आफ्नो औंलाको अंकुशेले तान्दै बाहिरी संसारमा ल्याउँछन्।
आमासँग जोडिएको साल काटेर पुछपाछ पार्न र अन्य जाँच गर्न भर्खरै जन्मेको बच्चा अब बालरोग डाक्टरको हातमा पर्छ। सारा अपरेसन थिएटर त्यो नवजात शिशुको रूवाइले गुन्जायमान हुन्छ। लाग्छ, रूवाइ मानिसको प्राकृतिक र जन्मसिद्ध अधिकार हो।
तर कुनै बच्चा रोएको सुन्दा आनन्द आउने क्षण सायद यही जन्म-समय मात्रै हो। जीवनकालमा अन्य समयका रूवाइहरू रूने मान्छेले सकेसम्म रून नपरे हुन्थ्यो, सुन्ने मान्छेले सकेसम्म सुन्न नपरे हुन्थ्यो।
ढाडमा सुइ लगाएकाले अपरेसन बेडमा सुताइएकी महिला होशमै हुन्छिन् र भर्खरै पेटबाट निस्केको आफ्नो बच्चाको रोदन सुन्छिन्। दुई डाक्टर अघि चिरेको पाठेघर सिलाउन व्यस्त छन्। नर्स पालैपालो अपरेसन औजार दिन र अपरेसन सहज एवं चुस्त बनाउन तल्लीन छिन्।
त्यत्तिकैमा भर्खरै आमा बनेकी महिला बेडबाटै बोल्छिन्, ‘डाक्टरसाब छोरा भयो कि छोरी?’
उनको यो प्रश्न सुनेर अपरेसन थिएटरकी एकजना नर्स बोल्छिन्, ‘ए दिदी ! बच्चालाई कस्तो छ भनेर सोध्नुस् न, छोरा कि छोरी भनेर सोध्नुभन्दा पहिले!’
अपरेसनका सहयोगी डाक्टर थप्छन्, ‘एकछिनमा बच्चाको डाक्टरले देखाउनुहुन्छ तपाईंलाई बच्चा!’
डाक्टरको कुरा सुनेर एकैछिन शान्त बसेकी महिला पुनः बोल्छिन्, ‘डाक्टरसाब छोरा भएको हो भने मात्रै थाइ (बन्ध्याकरण) गरिदिनुस्, नत्र होस् भैगो!’
दृश्य ३—
संखुवासभाबाट एउटा केस रिफर हुँदैहुँदै अहिले पाटन अस्पतालको इमर्जेन्सी आइपुगेको छ। १२ हप्ताको गर्भ आफैं तुहियो। तुहिएको गर्भलाई पाठेघर सफा गर्ने प्रक्रियाबाट उपचार गरियो तर रगत बग्न कम भएन। हप्तौं, महिनौं रगत बगिरह्यो।
धेरै रगत बगेर बिरामी महिला लगभग सेतै देखिन्छिन्। अहिले हो कि एकछिनमा हो बेहोस होला होलाजस्तो अवस्थामा आइपुगेकी छन् पाटन अस्पताल। इमर्जेन्सीमा गर्नुपर्ने उपचार तत्काल सुरू गरियो। रगत चढाउन रगतको इन्तजाम गर्न भनियो। संक्रमण नहोस् भनेर एन्टिबायोटिक सुरू गरियो।
बिरामीको अवस्था अलिकति स्थिर भएपछि वार्डमा भर्ना गरियो। वार्डमा सारिएकी बिरामीसँग डाक्टर प्रश्नका पोकाहरू लिएर उभिएका छन्।
डाक्टर सोध्छन्, ‘तपाईंको घरमा तीन जना केटाकेटी छन्, होइन त? योभन्दा अघि यसरी नै खेर गएको थियो?’
जवाफमा महिला बोल्छिन्, ‘खासमा मेरो पाचौं गर्भ हो डाक्टरसाब। तीनटी छोरीपछि मेरो दुईपटक गर्भ खेर गइसक्यो।’
डाक्टर थप्छन्, ‘तपाईंको त पहिला पनि बच्चा जन्माउन अपरेसन नै गर्नुपरेको थियो। यस्तो अवस्थामा बारम्बार गर्भवती भइरहँदा तपाईंलाई ज्यानको खतरा छ नि, थाहा छ है?’
डाक्टरको कुराले एकछिन गम्भीर बनेकी ती महिला बोल्छिन्, ‘डाक्टरसाब, बुझिदिनुपर्ने मान्छेले बुझिदिँदैनन्, मैले मात्र बुझेर के गर्नु!’
डाक्टरले कुरो बुझ्छन् र धेरै कोट्याउन चाहँदैनन्। डाक्टरलाई लाग्छ- पाप्रा लागेको घाउ नकोट्याएकै बेस, आलो रगत आउनसक्छ!
आफ्नो रुटिन जाँच सकेर निस्किन लागेका डाक्टरलाई महिला प्रश्न गर्छिन्, ‘डाक्टर साब, आजकाल श्रीमान र श्रीमतीबाट शरीरबाहिरै के-के औषधि गरेर छोरा बनाउन मिल्छ भन्ने सुनेको, ‘अब ग्यारेन्टीका साथ छोरा पाउनुहोस्’ भनेर फेसबुकमा एउटा विज्ञापन पढेकी थिएँ, साँच्चै हो?’
ती महिलाको कुरा सुनेर डाक्टरको टाउको रनन हुन्छ। आफूलाई यो ‘ग्यारेन्टीका साथा छोरा जन्माउने’ प्रविधिबारे ज्ञान नभएको कुरा राख्दै डाक्टर वार्डबाट बाहिरिन खोज्छन्।
ढोकामा पुग्दानपुग्दै फेरि ती महिला प्रश्न गर्छिन्, ‘बिन्ती भन्दिनुस्, त्यसो गर्दा छोरा नै पाइन्छ नि है डाक्टरसाब? मेरो उद्दार हुन्छ।’
—
मानिसको दिमाग दृश्यैदृश्यको पुस्तकालय हो। लाखौं, करोडौं दृश्य मानसपटलमा अटाइनअटाइ छन्। हामीले देखेका दृश्यमध्ये केही मात्र हाम्रो दिमागमा ताजा रहन्छन्। हाम्रो मनरूपी तन्तुलाई कुनै न कुनै रूपमा हल्लाउने शक्ति राख्ने दृश्य नै दिमागी रूपमा ताजा रहन्छन्।
माथि प्रस्तुत गरिएका तीन दृश्यहरू म एमडी अध्ययन गर्दै गरेको पाटन अस्पतालको सेरोफेरोमा जन्मेका हुन्। ती दृश्य यति शक्तिशाली थिए कि दिमागको हार्डड्राइभमा कैद भएर बसिदिए।
हुन त अस्पताल यस्तो ठाउँ हो जहाँ कथा बन्ने दृश्यहरू दैनिक देखिन्छन्। व्यथा बोकेर अस्पताल आउनेका कथा सधैं लेखिहाल्न भने सकिँदैन। यसका विभिन्न कारण हुन सक्छन्।
एउटा कारण कामको व्यस्तता हो। अर्को चिकित्सक भएर काम गरिरहँदा नचाहँदा नचाहँदै यो पेसाले दिने यान्त्रिकता एवं शुष्कता हो। यिनै कारणले गर्दा लेख्छु भन्दाभन्दै पनि कहिलेकाहीँ शब्दहरू अघि बढ्न अटेरी गर्छन्।
यसो भनिरहँदा भगवान बुद्धका वाणी जोड्न चाहेँ। बुद्ध भन्नुहुन्छः तब मात्रै बोलीको औचित्य हुन्छ जब तिमीलाई लाग्छ तिम्रो मौनताभन्दा तिम्रो बोली मजबुत छ।
सायद लेखनमा पनि यही कुरा लागू हुन्छ। बुझ्न सके मौनता आखिर आवाजको चरमोत्कर्ष न हो !
लेखमा उल्लेख दृश्यहरूलाई लिएर हरेक मानिसको आफ्नै धारणा हुन सक्छ। कतिपयलाई लाग्न सक्छ- आमाबाबु बन्न लागेका जोडीले आफूले जन्माउन लागेको सन्तान छोरा हो कि छोरी हो भनेर थाहा पाउनु उनीहरूको अधिकार हो।
मेरो विदेश बस्ने एउटा साथीको पनि यस्तै विचार छ। उसले मलाई भाइबरमा मेसेज लेखेको थियो- यार! एउटा राम्रो र यूनिक फिमेल नाम सोचिराख है। तेरो साथी छिट्टै बाउ बन्दैछ।
केही समयपछि हामीकहाँ दहीचिउरा खुवाउने चलन् अर्थात विदेशको ‘बेबी सावर’ का फोटामुनि मैले ‘बधाइ छ दुवैलाई’ लेख्नासाथ उसले मेसेन्जरमा भिडिओ कल गर्यो र सिधै सोध्यो- अनि सोचिस् त नाम?
प्रत्युत्तरमा मैले भनेँ, ‘समय बाँकी छ त, किन अहिले आत्तिएको छस्?’
जवाफमा ऊ हाँस्दै बोलेको थियो, ‘होइन यार! वी आर एक्साइटेड। साँच्ची नेपालमा त छोरा हो कि छोरी भन्न पाइँदैन है? गैरकानुनी हो नि है त्यहाँ त। यता त ढुक्क छ, सजिलै भन्दिन्छ! यो कुरामा पनि नेपाल पछाडि नै छ है!’
केही समयको शून्यतापछि मैले भनेको थिएँ, ‘हेर् मित्र, नेपाल र तँ बसेको देशको एउटा डाटा निकालौं न।’
उसले सोध्यो, ‘कस्तो डाटा?’
मैले भनेँ, ‘लिंग पहिचान गरेर गर्भपतन गर्ने दौडमा नेपाल र तँ बसेको देशको कुन अगाडि छ? हेरौं न एकपटक।’
उसलाई के लागेछ कुन्नि, उताबाट बोल्यो, ‘यार, नेपालको नेट अझै सुध्रेन है? पूरै अड्केर आइरहेको छ आवाज। पछि कुरा गरौंला है। टेक केयर बडी!’
आफूले एमडी गर्दै गरेको एम.डी.जी.पी विषयमा मैले अस्पतालका करिब-करिब सबै विभागको फेरा लगाउनुपर्छ। यो विषय पढिरहँदा विभिन्न खालका बिरामी हेरिराखेको हुन्छु। अर्को अर्थमा भन्नुपर्दा यो विषयले मलाई जिन्दगीका अनेकौं रङहरूसँग साक्षात्कार गर्ने मौका जुराइदिएको छ।
केही समयअघि महिला डाक्टरहरूको विशेष बाहुल्यता रहेको प्रसूति विभागमा थिएँ भने आजकल महिला डाक्टरको शून्य उपस्थिति रहेको हाडजोर्नी विभागमा छु।
लकडाउनको चियागफमा एकजना साथी भन्दै थियो, ‘यो हाडजोर्नी विषय त केटाहरूकै लागि ठीक। हड्डी तान्नुपर्यो, गह्रौं औजार तान्नुपर्यो, ठोकठाक पार्नुपर्यो, गाह्रो काम हो, केटीहरुलाई गाह्रै हुन्छ।’
उसले यस्तो भनिरहँदा अस्पतालको लेबर रूम अर्थात बच्चा जन्माउने कोठामा प्रसव पीडाले छट्पटाइरहेका महिलाहरू सम्झिन्छु जो त्यो कठीन घडी खपेर एउटा नयाँ जीवनलाई यो संसारमा ल्याउने अग्निपथको यात्रामा छन्। त्यस्तो दुखाइ खप्न सक्ने महिलाहरू साथीले भनेझैं गाह्रो काम गर्न सक्षम नहोलान्?
म सम्झन्छु, ३६५ दिन, बिना कुनै बिदा, बिना कुनै तलब घरमा खट्ने, खेतबारीमा काम गर्ने आमा, दिदी बहिनी र भाउजूहरूलाई। उहाँहरूले गरिरहेको काम चाहिँ गाह्रोको परिभाषाभित्र पर्ने कि नपर्ने?
सामाजिक सञ्जालमा केही समयअघि एउटा फोटो भाइरल भएको थियो। फोटोमा एकजना नर्सले हातमा प्लेकार्ड बोकेकी छिन्। प्लेकार्डको बेहोरा लगभग यस्तो थियो- म एउटी छोरी, नर्स बनेर हजुरलाई कोरोना लाग्दा सेवा गरेँ। कृपया समाजलाई छोरीको महत्व बुझाइदिनुस् ल!
अझै पनि महिलाहरूले आफ्नो अस्तित्वका लागि समाजलाई यसरी घच्घचाइरहनु परेको छ। विज्ञान र प्रविधिले फड्को मारेको आजको युगमा अझै पनि नेपाली समाज लैंगिक चेतमा पछाडि छ। हामी नेपाली हातमा लाखौं पर्ने ग्याजेट बोक्छौं तर दिमागमा सोच दुई पैसाको नै हुन्छ।
सोचकै कुरा गर्दा केही समय अगाडि मेरी दिदीले भन्नुभएको कुरा याद आयो, ‘हेर् भाइ, जबसम्म घरका केटा मान्छेले खाना खाइसकेपछि आफ्नो थाल आफैं उठाउने र माझ्ने सहजता महसुस गर्दैनन्, तबसम्म वास्तविक रूपमा नेपाली घरका महिला माथि उठ्न सक्दैनन्।’
यसो सोचेर ल्याऊँ त! हामीमध्ये कति जना केटा मान्छे सहजता महशुस गर्छौं? महिला हकहित र समानताका गफ त जति पनि दिन सकिन्छ, तर साँच्चै हामी कति इमानदारीका साथ हाम्रा महिला मित्रहरू अगाडि बढेको सहन सक्छौं?
यो लेखको खाका तयार पारिरहँदा एउटा समाचारमा आँखा परेको थियो। १४४ वर्षको इतिहास बोकेको प्रसिद्ध अमेरिकी पत्रिका वासिङ्टन पोष्टको कार्यकारी सम्पादकका रूपमा पहिलो पटक स्याली बज्बी नाम गरेकी महिला नियुक्त भइन्। के स्याली बज्बी अगाडि कुनै पनि महिला सो पोष्टका लागि काबिल थिएनन्? कि काबिल भएर पनि महिला भएकै कारण कैंयन स्याली बज्बीहरू धेरै अगाडिबाट पन्छाइए?
संसारका कुनाकुनामा हावी यो लैंगिक विभेदको सोच हाम्रा घर, स्कुल, अस्पताल, अफिस आदिमा व्याप्त छ। रूप फरक छन्, सार उही।
करिब तीन महिनाअघि मेरी थोती हजुरआमैको निधन भयो। ८४ वर्षसम्म मस्तिष्कमा सँगालेका अर्बौं दृश्यहरू लिएर कहिले नफर्किने गरी हजुरआमा अस्ताउनुभयो। हजुरआमा नहुँदाको शून्यता हरेक पल खट्किन्छ। हजुरआमाको देहान्तका बारेमा थाहा पाउनेहरू भन्छन्- धन्न कोरोना छलेर जान पाउनुभयो र राम्ररी सद्गत गर्न पाइयो। नत्र प्लास्टिकमा पोको पार्थे! न देख्न पाउनु, न छुन।
थोती हजुरआमा उखान टुक्का र कथाहरू जोड्न साह्रै खप्पिस हुनुहुन्थ्यो। एकपटक एउटा प्रसंगमा हजुरआमाले भन्नुभएको थियो, ‘अहिलेका मानिस के जाति भिडिओ सिडिओ भन्छन्। हाम्ले त गाउँघरमा बच्चा जन्मेर रोएको सुनेरै छोरा जन्मियो कि छोरी भनेर थाहा पाउँथ्यौं।’
हजुरआमाको गफले अचम्मित हुँदै सोधेको थिएँ, ‘ओहो, रोएको सुनेरै छोरा कि छोरी भनेर थाहा पाउने? कसरी?’
उत्तरमा हजुरआमाले भन्नुभएको थियो, ‘यदि बच्चा यहाँ-यहाँ गरेर रोयो भने छोरा। यदि बच्चा वहाँ-वहाँ गरेर रोयो भने छोरी।’
हजुरआमाको कुरा सुनेर हामी सबैजना एकछिन गलल्ल हाँसेका थियौं।
मैले त बच्चा च्याँच्याँ गरेर मात्रै रून्छ भन्ने बुझेको थिएँ।
‘आमा, आज नयाँ कुरा थाहा पाइयो,’ मैले भनेको थिएँ।
हजुरआमाको छोराछोरी छुट्याउने आइडिया बुझ्न त्यति गाह्रो थिएन। आमाकै शब्दमा भन्नुपर्दा, अर्काको घर जानुपर्ने भएकाले छोरी जन्मेदेखि नै वहाँ-वहाँ गरेर रून्छे। आफ्नै घरमा बुहारी ल्याउने भएकाले छोरा यहाँ-यहाँ गरेर रून्छ। वहाँ जाने, यहाँ ल्याउने!
हजुरआमाले गर्नुभएको ठट्टा केलाएर हेर्दा वास्तवमा कुरोको चूरोसम्म पुग्न सकिन्छ। नेपाली समाजमा पितृसत्ता हावी छ। ‘वहाँ जाने’ होइन ‘यहाँ ल्याउनेहरू घरमूली’ छन्। घरमूलीको बल र बुद्धिअनुसार घर चल्छ। घरमूलीमा बल र बुद्धिसँगै विवेक एवं लैंगिक चेत छ भने मात्रै घरका महिला उकुसमुकुस हुनबाट बच्छन्। घर जस्तो छ, सोही अनुरूपको प्रतिबिम्ब हामी समुदायमा र राष्ट्रमा देख्छौं। यसैले पनि यो सहकार्य र सहअस्तित्वको लैंगिक चेत हामीले आ-आफ्नो घरबाटै विकास गर्दै लैजान जरूरी छ।
प्रख्यात अमेरिकन लेखक स्टिभ माराबोलीको एउटा भनाइ छ- एउटी सशक्त महिला तिमीले नाप्न नसकिने गरी शक्तिशाली र वर्णन गर्नै नसकिने गरी सुन्दर हुन्छिन्।
यो लेख शक्तिशाली र सुन्दर बन्ने अथाह सम्भावना बोकेका तमाम महिलाका नाममा!
(डा. आयास लुइँटेल पाटन अस्पतालमा आवासीय चिकित्सक हुन्।)
ट्वीटर: @luintelaayas