विराटनगरमा भेन्टिलेटरसहितको ६२ शय्याको ‘कोभिड अस्पताल’ सञ्चालनमा

Spread the love

विराटनगरको कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको ‘कोभिड अस्पताल’ सञ्चालनमा आएको छ।

अस्पतालमा बेड अभाव उच्च रहेका बेला यसले राहत हुने स्वास्थ्यकर्मीले बताएका छन्। 

यसअघि विराटनगरमा प्रदेश सरकार मातहत ९६ शय्याको कोशी कोभिड-१९ उपचार केन्द्र सञ्चालनमा थियो। संघीय सरकार मातहतको कोशी अस्पतालले पनि कोरोना संक्रमितको उपचार थालेको हो।

कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शय्या भरिएर बिरामीले उपचार पाउन छोडेपछि कोशीले कोभिड-१९ युनिट सञ्चालनमा ल्याएको हो।

अस्पतालमा ५ शय्याको भेन्टिलेटरसहितको आइसियू, २५ वटा एचडियू, ३२ वटा अक्सिजनसहितको जेनेरल बेड रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए।

पोस्मेटल वार्डमा अक्सिजनसहितको जनरल वार्ड छ भने दोस्रो तला मेडिकल वार्डमा एचडियू र अक्सिजनसहितको भेन्टिलेर रहेको छ।

कोभिड-१९ युनिट बिहीबारदेखि सञ्चालनमा आएको हो।

पहिलो दिन ६ जना कोरोना संक्रमित भर्ना भएका छन् भने ३ जना संक्रमितको आइसियूमा र अन्य ३ जना एचडियूमा राखेर उपचार सुरू गरिएको छ।

अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्दै आएको छ। जनशक्ति अपुग भए थप गरेर संक्रमितको उपचार गरिने प्रमुख दासले बताए।

कडा लक्षणसहितको गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पताल भरिएका छन्।

आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने वा कुनै बिरामीको मृत्यु हुनुपर्ने अवस्था छ।

अहिले प्रदेश १ मा दैनिक एक हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्।

कोशीले सुरू गरेको कोभिड-१९ युनिटमा अक्सिजन सिलिण्डर अभाव हुने देखिएपछि सहयोग आउन सुरू भएको छ।

विराटनगर महानगरपालिले शुक्रबार ५० सिलिण्डर दिने भएको छ।

अहिले कोशीमा ८५ अक्सिजन सिलिण्डर छ। कोरोना संक्रमितको उपचार गर्न कम्तीमा ३ सय अक्सिजन सिलिण्डर आवश्यक पर्ने भएकोले त्यसअनुसार सहयोगको पहल भरहेको अस्पतालले जनाएको छ।


Spread the love