महरा प्रकरणमा प्रहरी फेरि चुक्यो, बालुवाटारले के गर्छ?

Spread the love

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि महिला कर्मचारीले लगाएको बलात्कार आरोपमा नेपाल प्रहरी फेरि चुकेको छ।

संसद सचिवालयमा काम गर्ने ती महिला कर्मचारीले आइतबार राति नै घटना भएपछि प्रहरीलाई खबर गरेकी थिइन्।

तीनकुनेस्थित चौकीबाट प्रहरी तत्कालै ती महिला कर्मचारीको डेरामा पुगेको थियो। त्यो बेलासम्म सभामुख महरा त्यहाँबाट हिँडिसकेका थिए। राति नै प्रहरी त्यहाँ पुगेको नेपाल प्रहरीको उच्च स्रोतले सेतोपाटीसँगको कुरामा पुष्टि गरेको छ।

त्यहाँ पुगेका प्रहरीलाई ती महिलाले महराले आफूलाई बलात्कार गरेको र कुटपिट गरेको बताइन्। अपराध भएको कोठा देखाइन्। आधा रित्तिएको रक्सीको बोतल, महराले रक्सी खाएको ग्लास, महिलासँगको घम्साघम्सीमा भाचिएको महराको चस्मा, उनी बलात्कृत भएको खाट र उनको जिउमा लागेका चोट सबै देखाइन्।

ती महिलाले सभामुख महरामाथि लगाएको आरोप साँचो वा झुठो जे पनि हुन सक्छ।

तर घटनास्थलमा पुगिसकेको प्रहरीको पहिलो जिम्मेवारी हुन्थ्यो ‘क्राइम सिन’ (अपराध भएको भनिएको ठाउँ) को संरक्षण गर्नु, त्यहाँ उपलब्ध प्रमाण जम्मा गर्नु र तिनको संरक्षण गर्नु।

प्रहरीले भने आपराधिक घटनामा गर्नु पर्ने ती कुनै पनि आधारभूत काम गरेन। प्रहरीले उनलाई भन्यो, ‘तपाईंमाथि अन्याय भएछ, भोलि तीनकुने प्रहरी चौकीमा आएर उजुरी दिनू।’

सो घटना घटेको झन्डै ३६ घन्टा बितिसक्दा पनि प्रहरीले अनुसन्धान सुरू गरेको छैन।

उच्च प्रहरी अधिकृतहरूको अनौपचारिक जवाफ छ, ‘महिलाले जाहेरी नदिएकाले कारबाही अघि बढाउन मिलेन।’

बलात्कारजस्तो गम्भीर आरोपमा पीडित महिलाले प्रहरीलाई बोलाएर ‘क्राइम सिन’ देखाउनु र सम्पूर्ण बयान दिनुभन्दा ठूलो अर्को जाहेरी हुन्न। प्रहरीले त्यहीँ महरामाथि अनुसन्धान बढाउन लिखित निवेदन दिनुपर्छ भनेको भए पनि उनले जाहेरी नदिने कुरै थिएन। प्रहरी र मिडियालाई उनले भनेकै कुराले पनि उनी आफूमाथि बलात्कार गर्नेलाई कारबाही गराउन दृढ छन् भन्ने देखाउँछ।

घटनास्थलमा पुगेका तीनकुने चौकीका प्रहरीले अनुसन्धानअघि बढाउनुको सट्टा नेपाल प्रहरी हेडक्वार्टरलाई जानकारी गरायो। 

तुरून्तै छानबिनको निर्देशन दिनुको सट्टा प्रहरी नेतृत्वले तालुकदार गृह मन्त्रालयमा जानकारी गरायो। प्रहरीले गृह सचिव प्रेमकुमार राई र गृहमन्त्री रामबहादुर थापालाई सो घटनाबारे सोमबार बिहान नै जानकारी गराएको गृह स्रोतले सेतोपाटीलाई बतायो।  

गृहसचिव र गृहमन्त्रीले घटनाको जानकारी पाइसकेपछि पनि बलात्कारजस्तो जघन्य आरोपमा अनुसन्धान अघि बढेन।

मंगलबार बिहान प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा यही घटनाका विषयमा छलफल भएको छ। दुई नेताले बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले घटना थाहा पाएलगत्तै गर्नुपर्ने पहिलो काम हो-  प्रहरीलाई तुरून्तै अनुसन्धान अघि बढाउन निर्देशन दिने।

बलात्कारजस्तो जघन्य आरोपमा सबैभन्दा पहिले हुनु पर्ने पार्टीभित्र छलफल होइन, स्वतन्त्र अनुसन्धान हो।


Spread the love