बारामा अक्सिजन भरेर विपन्नलाई निःशुल्क दिँदै ‘हाम्रो टिम’

Spread the love

‘हाम्रो टिम नेपाल’ ले आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन दिँदै आएको छ। यो टिमले यसरी काम थालेको एक साताभन्दा बढी भयो। टिमका सदस्यले बारामा रहेको अक्सजिन प्लान्टबाट सिलिन्डर भरेर काठमाडौं ल्याइरहेका छन्।

यतिबेला अक्सिजन भर्न र सिलिन्डर व्यवस्था मिलाउन जताततै हम्मेहम्मे छ। विशेषगरी काठमाडौं उपत्यकामा धेरै संक्रमित भएकाले अक्सिजन अभाव चरम भइसक्यो। यस्तो परिस्थितिमा हाम्रो टिमका सदस्यहरू खटेर बिरामी सेवामा लागिरहेको संस्थाका अध्यक्ष विमल पन्त बताउँछन्।

‘कोही व्यक्तिले आर्थिक अवस्था कमजोर भएकै कारण ज्यान गुमाउन नपरोस् भन्ने सोचेर हामी खटिरहेका हौं,’ पन्तले भने, ‘हामी विपन्न, बेसहारा र अत्यावश्यक संक्रमितलाई सक्दो छिटो अक्सिजन वितरण गरिरहेका छौं।’

उनका अनुसार दस दिनमा संस्थाले दुई सय पचासभन्दा बढीलाई निःशुल्क अक्सिजन सहयोग गरिसकेको छ। यो संस्थासँग अभिनेता पल शाह पनि जोडिएका छन्। शाह आफैं पनि अक्सिजन प्लान्ट पुगेर सिलिन्डर ओसारपसार गरिरहेका पन्तले जानकारी दिए। 

पन्तका अनुसार हाम्रो टिमले गत वैशाखमा निषेधाज्ञा हुनुअघि नै झन्डै ५० वटा अक्सिजन सिलिन्डर संकलन गरेको थियो। यसका लागि टिमले विभिन्न उद्योगी र अरू संस्थासँग सम्पर्क राख्यो। त्यहीबेला बारा, जितपुरको जयअम्बे अक्सिजन ग्यास इन्डस्ट्री प्रालिसँग अक्सिजन भर्ने व्यवस्था मिलाइएको पन्तले जानकारी दिए।

‘भारतको अवस्था हामीले देखिरहेका थियौं। त्यसैले निषेधाज्ञा हुनु केही साताअघि नै तयारी गर्दै थियौं,’ पन्तले, ‘त्यसो गर्दागर्दै पनि सिलिन्डर अभावका कारण माग पुर्‍याउन सकेका छैनौं। सिलिन्डर भए अक्सजिन भर्न सकिन्थ्यो।’

बिहीबार बिहान पनि पन्त, संस्थाका सदस्य उमेश बोहोरा, अभिनेता पल शाह लगायतको टोली बाराको अक्सिजन प्लान्ट पुगे। हामीसँग कुराकानी भएका बेला उनीहरू अक्सिजन भर्ने पालो कुरिरहेका थिए।

जयअम्बे प्लान्टका प्रबन्ध निर्देशक दीपक थापाका अनुसार हाम्रो टिम संस्थासँग छलफल गरी समय मिलाएर उनीहरूलाई अक्सिजन भरिदिने सहमति भएको हो। प्लान्टले संस्था र अस्पतालहरूलाई समय तालिका बनाएर अक्सिजन उपलब्ध गराउँदै आएको छ। हाल यहाँबाट दिनमा दुई सय पचास सिलिन्डर भर्ने क्षमता भएको थापाले जानकारी दिए।

एउटा सिलिन्डर भर्न अस्पताललाई ४ सय ५० रूपैयाँ र अरूलाई ६ सय रूपैयाँ पर्छ। थापाले भने, ‘हामीले पहिलो प्राथमिकता अस्पताल र स्थानीय स्तरमै दिएका छौं। त्यसपछि रहेको संस्थाहरूलाई दिएका हौं। हाम्रो टिमलाई बिहीबार भने ५० सिलिन्डर निःशुल्क भरिदिएका छौं।’

उनका अनुसार शुक्रबार पनि केही सिलिन्डर भरिनेछन्।

२०७६ सालमा स्थापित यो प्लान्ट यही वैशाखदेखि मात्रै सञ्चालनमा आएको हो। अझै तीन महिनापछि मात्रै सञ्चालन गर्ने योजना भए पनि अहिले अत्यावश्यक भएकाले चलाइहालेको उनले बताए, ‘अहिले खाली सिलिन्डरहरू भर्दैछौं। आफ्नै सिलिन्डर अझै आइपुगेको छैन।’ 

प्रबन्ध निर्देशक थापाले हाम्रो टिमलाई आगामी दिनमा पनि मिलेसम्म अक्सिजन भरिदिने जानकारी दिए। तर अब भने टिमले यसका लागि तोकिएको शुल्क तिर्नुपर्छ। उनले भने, ‘उहाँहरू व्यवसाय गर्ने सोचमा आउनुभएको होइन। परोपकारी काम गर्दै हुनुहुन्छ। त्यसमा हामीले सक्ने स्थानबाट सहयोग गर्नेछौं।’

हाम्रो टिमले खाँचो परेका निम्न वर्गका व्यक्तिलाई निःशुल्क अक्सिजन दिने र पैसा तिरेर आफ्नै सिलिन्डरमा भर्न खोज्नेलाई पनि भरेर सेवा दिइरहेको अध्यक्ष पन्त बताउँछन्। उनका अनुसार काठमाडौंमै सिलिन्डर भर्न जम्मा ६ सय लाग्छ। तर बारासम्म पुग्ने गाडी भाडालगायत खर्च जोड्दा प्रतिसिलिन्डर १८ सयसम्म पर्छ। सिलिन्डर ओसारपसारका लागि यतिबेला संस्थाले ठूलो गाडी भाडामा लिएको छ। 

२०७६ साल माघदेखि सञ्चालनमा आएको हाम्रो टिमले पहिलो लकडाउनदेखि नै रोजगार गुमाएका, मजदुर, गरिब, मनोरोगी र सडकमा गुजारा चलाइरहेका व्यक्तिलाई खाना पनि खुवाइरहेको छ। संस्थाका सचिव लक्ष्मण सिंह धामीका अनुसार उनीहरूले अहिले थापाथली, बाग्मती किनारको चौरमा दैनिक करिब तीन सय पचास, महालक्ष्मी स्थानमा सय जना र विभिन्न सडक-पेटीमा अलपत्र परेकालाई खाना खुवाइरहेका छन्।

‘सुरूका दिन प्रशासन र प्रहरीबाट हस्तक्षेप हुन्थ्यो। अहिले समस्या छैन,’ धामीले भने।

संस्थामा यतिबेला झन्डै ४५ जना स्वयंसेवक सक्रिय छन्। उनीहरू बिहानै ३-४ बजेदेखि खाना पकाउन थाल्छन् र १० बजेभित्र खुवाउँछन्। यी सबै सेवा दिन हाम्रो टिमलाई दाताहरूले सहयोग गरेका छन्।

‘हामीसँग जोडिनुभएकाको सहयोगबाट अहिलेसम्म धानिएका छौं,’ संस्थासँग प्रत्यक्ष रूपमा ११ सय सदस्य जोडिएका छन्। उनीहरू महामारीअघिदेखि नै मासिक हिसाबमा निश्चित रकम संकलन गर्थे। त्यही रकम अहिले काम लागेको धामीले बताए।

केही समयअघि यही संस्थाले ६५ रूपैयाँमा खाना खुवाउने कार्यक्रम पनि सञ्चालन गरेको थियो। कार्यक्रमबाट पनि केही रकम जोहो भएको धामीले बताए। तर लकडाउनका कारण उक्त कार्यक्रम तीन महिना मात्र सञ्चालन हुन पायो। 

यो टिमले अनामनगरमा एक सरकारी जग्गा भाडामा लिएर खाना पकाउने र खाद्यान्न तथा जिन्सी भण्डारण गरिरहेको छ। सरोकारवालाले व्यवस्थित ठाउँ उपलब्ध गराइदिए जग्गा भाडा अन्य परोपकारी काममा लगाउन सक्ने संस्थाका अध्यक्ष पन्त बताउँछन्।

हाम्रो टिमले पहिलो लकडाउनमा अलपत्र परेका, काठमाडौंमा आन्दोलन गर्न आएका उखु किसान र बाँके, नैरापुरमा आगलागी पीडित तीन सय बढी परिवारलाई पनि खाना खुवाएर सहयोग गरेको पन्तले बताए।


Spread the love