प्लेन चढेको टिकटको पैसा माग्दा ‘मुन्टो बटार्ने’देखि हैरान ट्राभल एजेन्सी

Spread the love

सरर … प्लेन चढेर आफ्नो काम सक्ने तर प्लेन चढे वापतको टिकटको पैसा नतिर्ने ! आज दिउँला, भोली दिउँला भन्दै महिनौ झुलाउने । एउटा ट्राभललाई ठगेपछि उसको अनुहार नै नदेखाउ अनि अर्को ट्राभलबाट टिकट लिएर फेरी त्यसलाई ठग्ने । हो यस्ता प्रबृत्ती भएका यात्रुका कारण बाँकेका ट्राभल एण्ड टुर व्यवसायी हैरान भएका छन् ।

बिश्वासका आधारमा उधारो टिकट दिने गरे पनि यात्रुले भने बिश्वासघात गर्दै आएका छन् । जसले गर्दा यहाँ ट्राभलहरुको ठुलो रकम उधारोमा फसेको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स बाँकेका अध्यक्ष श्रीराम सिग्देलले उधारो टिक फिर्ता नगर्नेका कारण व्यवसायी मर्कामा परेको बताउँछन् । उनी भन्छन्,–‘बिश्वासकै आधारमा बिजनेश चल्ने हो । अझ हामी त सेवामुलक बिजनेश गछौ त्यसैमा पनि बिश्वासघात हुन्छ ।’

उधारो टिकटको पैसा नदिने सबैभन्दा बढि नेता पर्छन । त्यसपछि अन्य प्रतिष्ठित व्यक्तीहरु । उनीहरुले वर्षौसम्म पैसा नदिन झुलाइरहेका हुन्छ । मुन्टो बटारेर हिड्छन् । कानूनी प्रक्रियामा जाँदा अनेकन उल्झन आएर व्यवसायमा समस्या हुने भएका कारण व्यवसायीहरु कानुनी प्रक्रियामा जादैनन् । अहिले भने व्यवसायीहरुले सामाजिक सन्जाल मार्फत नै पैसाका लागि चेतवानी दिदै आएका छन् ।

‘टिकटबाट धेरै पैसा कमाई हुँदैन । त्यसैमा झन् उधारो पैसा नदिदा हामी बर्बाद भएका छौं ।’ एक जना ट्राभल व्यवसायी भन्छन–‘यस्तै कारणले व्यवसायबाट पलायन हुने अवस्था आइसकेको छ ।’ अब उधारो पैसा नदिने बिरुद्ध कानूनी उपचार खोज्ने तहसम्म व्यवसायी लाग्ने व्यवसायीको चेतावनी छ ।


Spread the love