पत्रकार पुडासैनी प्रकरण : फेसबुके न्यायधिश, बकमफुसे तर्क र शंकाको सुई

Spread the love

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अघिको भिडियो सार्वजनिक भएसँगै विभिन्न कोणहरुबाट बहसहरु सुरु भएका छन् । 

एक पत्रकारले आत्महत्या गर्नु अघि आफूलाई यसरी मर्न बाध्य पारियो भन्दै त्यसको दोष आफ्नै सहकर्मी पत्रकारलाई लगाएको भिडियो बाहिर आउँदा सनसनी मच्चिनू स्वभाविक पनि छ । 

चर्चाको शिखरमा रहेका पत्रकारहरु मध्ये एकको मृत्यू अस्वभाविक हुनु र त्यसको आरोप अर्को पत्रकार तर्फ तेर्सीनुले नेपाली पत्रकारिताको चर्चित काण्ड बन्न पुगेको यो प्रकरणको वास्तविकता बाहिर आउन केही समय कुर्नैपर्ला तर घटनाको स्वच्छ छानबिन र सुष्म अध्ययन बिना उठेका सवालहरुको निर्वारण असंभव छ । 

बाहिर आएको भिडियोमा पुडासौनीले रुँदै आफूले आत्महत्या गर्नुको मुख्य कारण न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, यूवराज कडेल र एक यूवती भएको बताएका छन् । आफूलाई अनावश्यक आरोप लगाएर ब्ल्याक मेलिङ गरी फसाउन खोजेको कारण आफूले आत्महत्या गर्नुपरेको पुडासैनीले भिडियोमा बताएका छन् । 

भिडियोका वास्तविकता के हो ? स्पष्ट नभएपनि कतिपयले रवि लामिछाने र उनको समूहको टचरले गर्दा नै पुडासैनीले आत्महत्या गरेको ठोकुवा गरेका छन् भने कतिपयले यो रवि लामिछानेलाई नै फसाउने साजिस् भएको अडकलबाजी गरिरहेका छन् । विभिन्न अडकलबाजीहरुका बीच स–साना कुराहरुलाई पनि तोडमोड, बढी चडाउ र सनसनी बनाउने पक्ष वा विपक्षीमा धुर्विकृत गर्ने काम पनि सँगसँगै भइरहेको छ । पत्रकार पुडासैनी ११ दिनअघि चितवनको एउटा होटलमा मृत फेला परेका थिए । मुग्लिङबाट नारायणगढ आउने हाइवेमै जोडिएको बसपार्कमा  रहेको होटल कङ्गारुमा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

होटल कङ्गारुमा गत हप्ता नाग पञ्चमि (साउन २० गते) कोठा नम्बर २०२ मा  गएर बसेको लामो समयसम्म पनि नस्किएपछि होटलका कर्मचारीहरुलाई शंका लागेर प्र्रहरीलाई खबर गरे पश्चात रातको १० बजे ढोका फोडेर हेर्दा  पंखामा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए उनी ।  नुवाकोट बेलकोटगढी नगरपालिका घर भएका शालिकराम पुडासैनी  माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँथे । त्यसअघि उनी न्युज २४ टिभीमा काम गर्थे( रवि लामिछानेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा चलाउँथे ।

शंकाको सुई 

रवि लामिछानेको विश्वास पात्रको रुपमा मृतक पुडासैनीले दुई महिना अघिसम्म सँगै काम गरेको कुरा कोही कससँग लुक्ने विषय होइन । लामो समय एउटै मिडियामा काम गर्नु र अर्को मिडियामा जाँदै गर्दा पक्कैपनि केही मतमतान्तर हुन सक्छन् । त्यसमाथि पनि एक लोकप्रिय भइसकेको कार्यक्रम छोडेर अर्को टेलिभिजनमा जानुलाई सामान्य ढँगबाट मात्र हेर्नु मनासिफ हुन्न   । 

पक्कैपनि धेरैजसो पार्टनरसिफहरु समूहमा कुनै कुरा नमिलेसँगै वा चित्त नबुझेसँगै फुट्ने गर्दछ । त्यसैले पुडासैनीले रवि लामिछानेको समूह छोडनु कर्मफको नियमित उपज थियो वा पाँकिरहेको अपराधको खिचडी थियो अहिले नै यसैभन्न हतारो हुन जान्छ ।  

अवश्यपनि सँगै काम गर्नेलाई नै उस्को कमजोरीको विषयमा जानकारी हुने गर्दछ,अझ सँगै सुत्दा लात्ताले लाग्नेपनि गर्दछ ।  सँगै काम गर्दा नङ र मासु जस्तै देखिनेहरु जब सम्बन्धहरुमा चिसो पन आउँछ तब एक अर्काको पोल खोतल्ने प्रकृया सुरु हुन्छ यो स्वभाविक मानवीय गुण हो अतः लामो समयसम्म काम गरेको टिमबाट रुष्ट भएर हिडेको व्यक्तिसँग उसका कमजोरीलाई समाएर टर्चर भएन होला भन्न सकिन्न । त्यो काम रुष्ट भएका पुडासैनीले पनि गरे होलान् र उनको यस अघिको समूहबाट पनि भयोकी भन्ने आशंका स्वभाविक नै हुन्छ । 

पुडासैनीले आफ्ना गल्तीलाई समेत भिडियोमा स्वीकारेका छन् । उनले बोलेका कुरा उनले अन्य व्यक्तिसँग गरेका म्यासेजहरुसँग समेत मिलेको देखिन्छ । भिडियोमा लामो समय कम पारीश्रमिक लिएर काम गर्नु परेको , अफिसमा राम्रो व्यवहार हुने नगरेको जस्ता कारणले आफू पहिल्यै देखिनै डिप्रेसनको शिकार भएको स्वंयम पुढासैनीले स्विकारेका छन् । उनले आफ्ना साथीहरुसँग पनि फेसबुकमा आफूले डिप्रेशनको औषधी खाने गरेको बताएको प्रमाण बाहिरिसकेको छ । त्यसैगरी उनले आफू अस्ष्ट्रेलिया जाने र पैसा कमाउने धुनमा एक यूवतीसँग नजिकिएको र पछिल्लो समय उनै यूवतीसँग सम्बन्ध विग्रिएको बताएका छन् । उनले भिडियोमै आफूलाई पछिल्लो समय त्यही यूवतीको प्रयोग गरी बलात्कारको आरोप लगाएर फसाउन खोजिएको समेत उल्लेख गरेका छन् । 

पछिल्लो समय मुलुकमा बलात्कारका घटना बाहिरीनेक्रम मात्र बढेको छैनै कतिपय फेग उजुरीका घटनाहरु समेत आउन थालेका देखिन्छन् । नेपालमा कसैलाई सजिलै फसाउन सकिन्छ यदि भने बलात्कार वा दुर्व्यवहारको  झुटो आरोप लगाए पुग्ने मनस्थिति पनि बड्दैछ  । आफ्ना सबै कमजोरी थाहा पाएर टिमबाट बाहिर गएको व्यक्ति पुढासैनी भएको हुँदा उनलाईतह लगाउन केटी प्रयोग गरियो र मर्न बाध्य पारियो भन्ने आशंका स्वभाविक पनि छ । अझ भिडियोमै आफूलाई केटीसँगको सम्बन्धलाई गलत अर्थ लगाएर फसाउन खोजेको आरोप स्वंयम पुडासैनीले लगाउनुले शंकालाई बल प¥याउनु स्वभाविक पनि छ । सहमति हुँदासम्म मोजमस्ती हुने तर असमझदारी बढेसँगै यौन दुर्व्यवहार र बलात्कारको आरोपहरु लाग्ने गरेका घटनाहरु धेरै छन् । कतै यही षडयन्त्रको दुस्चक्रमा पुडासैनीलाई त पु¥याइएन भन्ने शंका गर्नु स्ववाभिक पनि छ ।  

यद्यपी यही आंशका कै भरमा रवि लामिछाने लगायतले टचर दिएकै थिए भन्न चाँहि सकिन्न । किनकी, एक कुशल पत्रकारले आफूलाई कसैले अनावश्यक ब्ल्याक मेलिङ गर्छ भने उस्ले ती घटनाका अडियो भिडियो लगायत सबै प्रमाण पक्कै पनि सुरक्षित गर्न खोज्दछ । आरोपहरु लगाउनका लागि पक्कैपनि टेलिफोन,सामाजिक संजाल या व्यक्तिगत भेटभाट या कुराकानी जरुरी छ । आफूलाई झुटो ब्ल्यागबेलिङ गरेकै भएपनि पत्रकार पुडासैनीले  त्यसको राम्रोसँग चिरफार गर्ने प्रयास गर्न सक्थे । एकदिन एकजनाले अब तनाई फसाउँदैछन् भनेर  सुनाएकै भरमा एउटा चर्चित पत्रकारले आत्महत्या पक्क्ै गदैन होला । पक्कैपनि उसले आफू माथि गरिन लागेका षडयन्त्रलाई धुजाधुजा पार्ने प्रयास अवश्य पनि गर्ला । यहाँ भन्न खोजिएका के हो भने पत्रकार पुडासैनीले आफूलाई फसाउन गरिएका प्रपन्चबारे स–प्रमाण एउटा रिर्पोट मात्र प्रस्तुत गरेका भए मात्र पनि उनी जोगिन सक्थे तर उनले यसो किन गरेनन् ? अर्काको विषयमा सनसनीपूर्ण खुलासा गर्नसक्ने पत्रकार आफू माथि लागेको एक झुँट सहन नसकेर आत्महत्या गर्न बाध्य भए होला त ? प्रश्न गंभिर छ । 

के आत्महत्या नभई हत्या हो त ? 

कतिपयले यो आत्महत्या नभई हत्या भएको तर्फपनि शंका गरेका छन् । कतिपयको तर्क छ यो भिडियो पुडासैनीलाई दवावमा पारेर तयार गरियो र रवि लामिछाने विरुद्घ बोल्न लगाइयो भन्ने छ । घटनास्थल र उनको खुट्टामा देखिएको चोटलाई उनीहरुले आधार मानेको देखिन्छ । भिडियो लगाइएको लुगा र मृतअवस्थामा भेटिएको लुगा फरक हुनु, भिडियोको ८ मिनेट ४३ सेकेन्डमा कुनै अर्को व्यक्तिले बोलेजस्तै किन भन्ने आवाज सुनिुनु,कम पारिश्रमिक पाएको भन्नु तर करोडौंको सम्पती कमाएका छौ भन्नु लगायतका कुरालाई उनीहरले यो कसैको दवावमा तयार पारिएको हुनसक्ने आशंका गरेका छन् । आरोप झुटा छन् र रवी ठिक छन् भने यी लगायत यावद्घ आशंकाको निवारण गर्न आवश्यक पनि छ । 

घटनाको वास्तविकताका विषयमा प्रहरीको छानबिन नआई अहिल्यै नै यसै भन्न त सकिन्न । तर प्रहरीले भिडियोको आधिकारिताको विषयमा भने विधि विज्ञान प्रयोगशालाबाट परीक्षण गरी भिडियोमा बोलेको बोली पुडासैनीकै  भएको जिकिर गरिएको समाचार आएको छ । अझ मृतक पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिदा खुट्टाले सोफा टेकेको देखिनुलाई शंकास्पद मान्न सकिन्छ । 

नेपाल प्रहरीले मृतक पुडासैनीको घटनाबारे थप छानबिन गरिरहेको अवस्थामा यसै हो भनेर बोल्नु गलत हुन जान्छ आशा गरौं यर्थाता बाहिर पक्कै आउँला ।

पत्रकारिताको यक्ष सवाल  

पुडासैनीको मृत्यू प्रकरणसँगै नेपाली पत्रकारीताको केही अदृश्य वास्तविकताको भने राम्रैसँग उदागिंएको छ । पत्रकारहरुले कति थोरै पारिश्रमिकमा काम गर्छन्, पत्रकारिताका पेशाका आँडमा के कस्ता धन्दाहरु पनि हुनसक्छन् भन्ने तर्फ यो घटनाले सबैको ध्यान आकृषण गरेको देखिन्छ । पत्रकारितामा देखाउन दाँत र चपाउँने दाँत फरक हुन्छ भन्ने आम आशंकालाई घटानले झन् बल प्रदान गरेको छ । 

भिडियोमा रवि लामिछानेसँग लामो समय काम गरेका पुडासैनीले आफ्नो अन्तिम भिडियोमा रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमको आँडमा  व्यापारीहरुसँग  अवैध रकम अशुली गरिरहेको आरोप लगाएका छन् । उनले रवि लामिछानेलाई उक्त सम्पतीले पोल्ने समेत बताएका छन् । पक्कै पनि भिडियोमा भनिएका कतिपय कुराहरुको यर्थाता खोतल्नु आजको आवश्यकता हो । रवी लामिछानेले कति कमाउँछन् त्यो न्यूज २४बाट पाउने तलब र अन्य केही व्यवसायहरु विज्ञापन ऐजेन्सी लगाएतबाट कति त्यसको विवरण सार्वजनिक गरिनुपर्छ । उनको सम्पतीको वास्तविकता मात्र पनि बाहिर आउन सके धेरै कुराको चिरफार हुने देखिन्छ । उनको सम्पती अस्वभाविक रुपमा बढेको छ या उस्तै छ भन्ने कुराले पनि शंकाको निवारण गर्न मद्दत गर्ला ।यत्तिबेला समाजिक संजालमा घटनालाई अतिरन्जित बनाउने र आआफ्नै तर्क र डम्फु बजाउनेहरुको होडबाजी चलेको छ । 

आशंका माथि आशंका थप्नेका तर्कहरु भन्दा उब्जिएका सवालमा तथ्य र प्रमाण सहितको उत्तर नै आजको खोजी हो । तर्क र कुरा गरेर विषयलाई जतिपनि तन्काउन सकिन्छ तर उठेका सवालका हरेक उत्तर दिंदै घटनाको वास्तविकता पत्ता लगाउनु आजको आवश्यकता हो । 

पत्रकारिता पेशामा आवद्घ  दुई पत्रकारहरु जोडिएको यो घटनाको वास्तविकता छिट्टो भन्दा छिटो आउन जरुरी छ । अपराधका विभिन्न स्वरुपहरु हुनसक्छन्, प्रमाण र तथ्यहरुले अपराधी हो या  निर्दोष पत्ता लाग्ने नै छ । अनुसन्धान र छानबिनलाई नै प्रभावित पार्नेगरी कोकोहोलो मचाउनु, कसैलाई सिधै तत्काल दोष दिनु वा बचाउन खोज्नु चाँहि अर्को अपराध हुन जान्छ । कसैको पक्षमा गरिने अन्धो सर्मर्थन वा विरोध सत्य पत्ता लगाउन बाधक हुन सक्छन् । शंका गरौं तर शंकाकै भरमा मात्र पनि नपरौं । 

दिनेश घिमिरे


Spread the love