नेपालीहरूको महान् चार्ड बडादसैँ आज बाट, घर घरमा जमरा राखिँदै

Spread the love

१२ असोज २०७६, आइतबार, काठमाडौँ । हिन्दु नेपालीहरूको महान् चार्ड बडा दशैको पहिलो दिन आज घटस्थापना । यस दिन घर तथा मन्दिरहरूमा जमरा राख्नुको साथै कलश स्थापना गरिन्छ । आज बाट नवरात्री सुरु हुन्छ । बिहानै शरीर शुद्ध गरी नदी, खोलाको किनार बाट चोखो बालुवा वा पञ्च माटो ल्याइ घरको पूजाकोठामा वेदी बनाएर त्यसमा जौ को जमरा उमारिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ’–धर्मशास्त्रविद्हरु बताउँछन् । देवीलाई जौ(यव) को जमरा सबैभन्दा मनपर्ने वनस्पती भएको विश्वासमा दशैंमा टिकासँगै जमरा लगाइन्छ । जमरालाई शितलताको प्रतीकका रुपमा लिइन्छ । शिरमा लगाइएको जमराले मानसिक शान्ति समेत मिल्ने विश्वास छ ।

घटस्थापनाको साइत बिहान १० : ३५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य देवीदेवताहरुको पूजा गरिन्छ । घटस्थापनाको दिनदेखि नवमीसम्म नवदुर्गाको पूजा तथा साधना गरिन्छ, शङ्ख, डमरु, घण्टी आदि बजाएर दुर्गासप्तशती, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत आदि पाठ गरिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि दिनु अनिवार्य रहेको शास्त्रीय विधानमा उल्लेख गरिएको छ ।


Spread the love