नेपालमा कोरोना संक्रमण ओह्रालो लागेको हो?, डाक्टर सुवेदी भन्छन्- अहिले नै दंग पर्ने स्थिति छैन

Spread the love

पछिल्ला तीन दिन नेपालमा दैनिक थपिने कोरोना संक्रमितको संख्या लगातार ओह्रालो लागेपछि अब धेरैलाई अब बिस्तारै संक्रमण घट्न थालेको हो भन्ने लागेको छ।

गत शुक्रबार ८ हजार २० जनामा संक्रमण पुष्टि हुँदा हिजो आइतबार ७ हजार ३ सय ६८ जनालाई संक्रमण देखियो। जुन पछिल्लो १३ दिन यताकै कम संख्या हो।

तर यो कुरा उक्त दिनमा कति जनाको परीक्षण गरियो भन्ने कुराले पनि फरक पर्छ।

परीक्षण भने हिजो आइतबारभन्दा गत शुक्रबार बढी भएको थियो। शुक्रबार २१ हजार ४ सय ७८ जनाको परीक्षण गरिएको थियो भने हिजो १९ हजार ८ सय ८३ जनाको परीक्षण गरिएको थियो। अर्थात् शुक्रबारभन्दा आइतबार झन्डै १६ सय जना कमको परीक्षण गरिएको थियो।

संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी दुई-चार दिनको तथ्यांकको आधारमा संक्रमण घटेको भनेर अनुमान गर्नु वैज्ञानिक नहुने बताउँछन्। गत तीन दिनमा परीक्षण गरिएकामध्ये केही कमलाई संक्रमण पुष्टि भएको भन्दै यसलाई संक्रमण नै घट्न थालेको भनेर बुझ्न नहुने उनको भनाइ छ।

डाक्टर सुवेदी भन्छन्, ‘जति परीक्षण भएको हो त्यसको पोजेटिभ संख्यामात्र घटेको हो। संक्रमण घट्न थालेको भनेर अहिले नै दंग पर्ने स्थिति छैन।’

सरकारले दैनिक २० हजारभन्दा परीक्षण संख्या बढाउन नसकेको भन्दै परीक्षणलाई थप बढाउन सके संक्रमणको वास्तविक अवस्था एकिन हुने उनी बताउँछन्। सरकारले भएका प्रयोगशालामा पर्याप्त किट र जनशक्ति व्यवस्थापन गर्न सके दैनिक ५० हजार जनाको परीक्षण गर्न सकिने भन्दै अहिलेको आवश्यकता पनि जतिसक्दो धेरै परीक्षण गर्नुपर्ने रहेको उनको भनाइ छ।

डाक्टर सुवेदीले सरकारले पिसिआर परीक्षण नै गर्न नसके पनि एन्टिजेन विधिबाट पनि परीक्षणलाई बढाउन सक्ने जनाए।

‘पिसिआर नै नगरे पनि संक्रमितसँग सम्पर्कमा आएकाको पाँच दिनभित्र एन्टिजेन परीक्षण गर्न सकिन्छ। एन्टिजेनको पनि पोजेटिभिटी दर राम्रै छ,’ उनले भने।

अर्को कुरा सरकारले दैनिक जति जनालाई संक्रमण पुष्टि हुन्छ त्यो हिसाबले परीक्षणलाई नबढाएको जिकिर गर्दै सुवेदीले जति बढी संक्रमण पुष्टि भयो झन् परीक्षण गर्नुपर्ने व्यक्तिहरूको संख्या बढ्ने बताए। सरकारले परीक्षण नबढाएकाले पछिल्लो साता झन् भित्रभित्रै संक्रमित संख्या बढिरहेको पनि हुनसक्ने उनको भनाइ छ।

डाक्टर सुवेदीले अहिले संक्रमित संख्या अलिकति घटेको देखिए पनि अक्सिजन चाहिने, आइसियू चाहिने संख्या झन् बढ्ने वाला रहेको बताए।

उनले भने, ‘अहिले जो बिरामीहरू आइसियूमा हुनुहुन्छ, उहाँहरू भनेको यसअघि कम सक्रमण देखिएकामध्येबाट हो। तर पछिल्लो साता दैनिक ८ देखि ९ हजार व्यक्ति संक्रमित भइरहेका छन् र उक्त संख्याबाट आइसियू चाहिने, भेन्टिलेटर चाहिने अवस्था अबको हप्ता वा दश दिनमा देखिन सक्छ।’

पछिल्लो समयका संक्रमित संख्या हेर्यौं भने पनि दैनिक संक्रमण पुष्टि हुने संख्या ९ हजार नाघेको छैन। यसमा पनि डाक्टर सुवेदीले परीक्षण नै स्थिर भएकाले संक्रमित संख्या पनि स्थिर रहेको जनाए।

‘दैनिक २० हजारभन्दा बढी परीक्षण गर्न सक्दैनौं भने जति परीक्षण गरे पनि संक्रमित संख्या आउने त त्यति नै हो नि,’ उनले भने।

अहिलेको परीक्षण ढाँचाबाट आएको नतिजाले देशव्यापी संक्रमणको अवस्थाको चित्र नआउने सुवेदीको बुझाइ छ। उनले केही ठाउँमा मात्र परीक्षण बढी भएको भन्दै धेरै ठाउँहरूमा परीक्षण नै कम भइरहेको बताए। त्यही भएर संक्रमणको अवस्था केलाउँदा वा हामी कुन अवस्थामा छौं भनेर थाहा पाउन ठाउँ विशेष गरेर विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। उनले कुनै निश्चित ठाउँमा परीक्षण धेरै भइरहेको छ तर संक्रमण दर घट्दै जाँदैछ भने मात्र त्यो ठाउँमा संक्रमणको अवस्था विस्तारै सुधारोन्मुख भएको भन्न सकिने बताए।

अहिले सबैभन्दा धेरै परीक्षण भएको काठमाडौंमा हो। तर काठमाडौंमा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि भएको छ। काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार हरेक वडामा ६ सय जनाको परीक्षण गर्दा औसत ४ सय २० जनामा संक्रमण देखिएको छ। त्यसैले ठाउँ अनुसार परीक्षणको अवस्था र आएको नतिजाको आधारमा संक्रमणको अवस्था थाहा हुने डा. सुवेदीको भनाइ छ।

उनले संक्रमणको अवस्था थाहा हुन अझै केही साताको अवस्था पर्खिनु पर्ने बताए। केही दिन संक्रमित संख्यामा कमी देखियो भन्दैमा त्यसको आधारमा हामी संक्रमण घट्न थाल्यो भनेर थोरै पनि हेलचक्र्याइँ गर्न नहुने डाक्टर सुवेदीको सुझाव छ।


Spread the love