दुई दिनमा ११२ केजी गाँजा बरामद

Spread the love

हेटौँडा । मकवानपुर प्रहरीले दुई दिनमा ११२ केजी गाँजा बरामद गरेको छ । बुधबार प्रहरीले लागूऔषध गाँजासहित ट्रक र दुई जनालाई पक्राउ गरेको हो भने मंगलबार बेवारिसे अवस्थामा रहेको ५३ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।

बुधबार हेटौँडा १० बसपार्कबाट लागूऔषध गाँजा ५९ किलो ५८० ग्राम, मिनीट्रकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका वडा नं ६ बस्ने २० वर्षीय भीमसेन मोक्तान र सोही स्थानका २६ वर्षीयका रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंले जानकारी दिएका छन् ।

गाँजा बोकेर निकासी गर्न लागिएको बा ५ ख १८२५ नम्बरको मिनीट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बसपार्कस्थित सडकखण्डमा पालुङतर्फबाट वीरगञ्जतर्फ जाँदै गरेको मिनीट्रकलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला पारेको हो ।

ट्रकको चालक बस्ने सिटमुनि फल्स बटम बनाएर लुकाइराखेको अवस्थामा गाँजा भेटिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार आठवटा प्लास्टिकको पोकामा ५९ किलो ५८० ग्राम गाँजा निकासी गर्न लागिएको थियो ।

यसैगरी, प्रहरीले मंगलबार हेटौँडा १९ नेवारपानी बीचटोलको धानखेतबाट गाँजा बरामद गरेको थियो । कारोबारीले ओसारपसार गर्ने क्रममा प्रहरीको शंका लागेर छोडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

धानखेतमा कालो प्लास्टिकमा प्याकिङ गरेर राखेको अवस्थामा ५३ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।


Spread the love