तीन दिन समय पाएको एमाले कार्यदलको बैठक पहिलो दिन बस्न सकेन, दोस्रो दिन पनि टुंगो छैन

Spread the love

नेकपा एमालेभित्र उत्कर्षमा पुगेको विवाद मिलाउने सहमतिको विन्दु खोज्न तीन दिन समय दिएर बनाइएको कार्यदलको बैठक अझै बस्न सकेको छैन।

आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदल बनाएका थिए।

कार्यदलमा दुबैतर्फका ५-५ जना नेता छन्।

प्रधानमन्त्री ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन्। त्यस्तै नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे कार्यदलमा छन्।

कार्यदलले तीन दिनको समय पाएको थियो। सोमबार कार्यदलको बैठक बस्न सकेन। मंगलबार पनि बैठक बस्ने\नबस्ने टुंगो नभएको कार्यदलका सदस्य रघुजी पन्तले बताए।

‘अहिलेसम्म कुनै टुंगो छैन। बस्न पनि सक्छ, नबस्न पनि सक्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीका तर्फबाट कार्यदलमा रहेका परराष्ट्र मन्त्री ज्ञवालीले आज बैठक बस्न सक्ने बताए।

‘अहिसम्म त टुंगो लागिसकेको छैन। तर बैठक बस्छ होला,’ उनले भने,’कार्यदललाई तीन दिनको समय दिइएको भए पनि यसले केही समय लिन्छ होला। किनकी हामीले छलफल गर्नुपर्ने विषय धेरै छन्।’

आइतबार गठन भएको कार्यदललाई एमालेलाई २०७५ जेठ २ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ।


Spread the love