डेनिस केबल प्रयोग गरी आफूहरूमाथि जासुसी गरेको विषयमा युरोपेली नेताले मागे अमेरिकासँग जवाफ

Spread the love

फ्रान्स, जर्मनीलगायत युरोपेली मुलुकले डेनमार्कको केबल प्रयोग गर्दै आफूहरूमाथि जासुसी गरेको विषयमा अमेरिकासँग जवाफ मागेका छन्।

केही दिनअघि  डेनमार्कको रेडियोले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले डेनमार्कले पानीमूनि बिछ्याएको केबलमार्फत् सन् २०१२ देखि फ्रान्स, जर्मनी, नर्वे र स्विडेनका राजनीतिक उच्च अधिकारीमाथि जासुसी गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

उक्त रिपोर्टमा अमेरिकी सुरक्षा एजेन्सीले ती नेताहरूले इन्टरनेटमा गरेका सर्च, पठाएका सन्देश र टेलिफोनमा गरेका कुराकानीको विवरण लिएको उल्लेख गरिएको छ।

उक्त जासुसीबारे डेनमार्क सरकारलाई थाहा थियो कि थिएन भन्ने प्रश्न कायम रहेका बेला सोमबार विभिन्न देशहरूले अमेरिकासँग जवाफ मागेका हुन्।

जर्मन चान्सलर एंगेला मर्केल र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोंले यो विषयमा सोमबार भिडिओमार्फत् कुराकानी गरेका थिए। उक्त कुराकानीपछि उनीहरूले वासिङट्न र कोपनहेगनले यसबारे प्रष्ट पार्नु पर्ने बताएका छन्।

‘मित्रहरूबीच यस्तो जासुसी हुनु अस्वीकार्य छ,’ म्याक्रोंले  भनेका छन्,‘अमेरिकन र युरोपियनबीचको सम्बन्धमा कुनै पनि शंकालाई ठाउँ हुनु हुँदैन।’

उनले आफूहरू यो विषयमा अमेरिका र डेनमार्कबाट प्रष्ट जवाफको प्रतीक्षामा रहेको बताए।

डेनमार्कका छिमेकीहरूले पनि यो विषयमा प्रष्ट पार्नु पर्ने माग गरेका छन्।

‘सहकार्य गरिरहेका मित्र मुलुकले एक-अर्कालाई जासुसी गर्नुपर्छ भन्ने ठान्छन् भने त्यो अस्वीकार्य छ,’ नर्वेजियन प्रधानमन्त्री एर्ना सल्बर्गले भनेकी छन्।

नर्वेले डेनमार्कलाई उनीहरूसँग भएको सबै सूचना दिन भनेको पनि उनले बताइन्।

स्विडेनका रक्षा मन्त्रीले पनि डेनिस समकक्षीसँग स्विडिस राजनीतिज्ञको जासुसी गर्न डेनिस प्लेटफर्म प्रयोग भएको हुन सक्ने विषयमा कुराकानी भइरहेको बताएका छन्।

डेनमार्कको रेडियोले त्यहाँको सेनाको इन्टेलिजेन्स युनिटसँग मिलेर अमेरिकाले सूचना लिएको बताएको छ। तर यो जासुसीबारे डेनमार्क सरकारलाई त्यतिबेला थाहा थियो कि थिएन भन्ने खुलाएको छैन।

यसबारेमा डेनमार्कको मिलिटरी युनिट, अमेरिकाको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा एजेन्सीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

अमेरिकाले युरोपेली नेताहरूलाई जासुसी गरेको यो पहिलो घटना भने होइन। सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाले धेरै युरोपेली नेतालाई जासुसी गरेको सन् २०१३ मा खुलासा भएको थियो।


Spread the love