ट्याटु(Tattoo) मोह

Spread the love

सहरी क्षेत्रमा ट्याटु बनाउने फेसन नै चलेको छ । पहिले प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन ट्याटु खोपाइन्थ्यो । हिटलरको शासनकालमा यहुदीहरूको पहिचानका लागि अंकको ट्याटु बनाउने चलन थियो । अहिले मानिसहरूले कला, सुन्दरता, धार्मिकता, प्रेमजस्ता भावना, रुचि आदि दर्साउन ट्याटु खोपाउने गरेका छन् । 

नेपालमै पनि नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिकै रूपमा लिइएको पाइन्छ । यी जातिले सियोको सहायताले शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । नेवार समुदायमा महिलाको खुट्टामा खोपिएको ट्याटुले शक्तिको संकेत गर्ने विश्वास छ । सानै उमेरमा ट्याटु खोप्दा रोग, दु:ख तथा शत्रुले आक्रमण गर्न नसक्ने परम्परागत मान्यता छ । थारू समुदायमा भने विवाहित महिलाले मात्र ट्याटु खोप्छन् । उनीहरू शरीरमा फूल, कोठी, घाम, जूनका साथै आफ्नो तथा श्रीमान्को नाम खोपाउँछन् । आफ्नो विवाहित जोडी मयूरको जोडीजस्तै होस् भनेर प्रेमपूर्वक चुच्चो जोडिएको मयूरको चित्र थारू महिलाले आफ्नो गोडामा खोपाउने चलन पनि पुरानै हो ।

संस्कृतिविद् ज्ञानकाजी श्रेष्ठ भन्छन्— संस्कारसँग जोडिएको प्रतीकात्मक चिह्न शरीरमा खोपाउने चलन धेरै पुरानो हो । श्रेष्ठका अनुसार कसैको आँखा नलागोस् भनेर कालो रङ प्रयोग गरिन्छ । चिउँडोमा कालो ट्याटु बनाउँदा राम्री देखिनुका साथै नराम्रो नजरबाट जोगिन सकिन्छ भन्ने धारणा थारू महिलामा रहेको श्रेष्ठ बताउँछन् ।

विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएको कुमारीपाटीस्थित संकेत ट्याटु हाउसका सविन बगालेले बताए । सविनका अनुसार इन्टरनेट र प्रविधिका कारण अहिले ग्राहकहरू गुगलमा सर्च गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन लिएर आउँछन् । बगाले भन्छन्– अचेलका युवा भगवान् शिवको चित्र छातीमा खोपाउन रुचाउँछन् ।

कतिपयले भने आमाको आकृति छाती र हातमा खोप्ने गरेका छन् । युवाहरूको ट्याटुमा आमा र ड्याडी शब्द निकै लोकप्रिय छ भने विवाहितहरूमा भने आफ्नो सन्तानको नाम खोपाउने लहर नै छ । कतिले आफ्नो जीवनको महत्वपूर्ण मिति अरु भाषामा खोपाउँछन् । अहिले सम्झनाका लागि मात्र नभै सुन्दरताका लागि ट्याटु खोप्नेहरू पनि बढ्दो छन् । पहिले केटीहरू सुन्दरताका लागि पुतली, चराको प्वाँख, फुल, नाम आदिका स–साना ट्याटु खोपाउँथे तर, अहिले महिलाहरू बिस्तारै बोल्ड हुँदै गएका छन् । परिणामस्वरूप उनीहरूको टाटुमा समेत बोल्ड आकृति तथा सिम्बोलहरू देखिन थालेको छ ।

ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, यसका पारखी सेलीबेटीहरूको संख्या पनि बाक्लै छ । बलिउड नायक अक्षयकुमारदेखि रणवीर कपुरसम्म, नायिका दीपिका पादुकोणदेखि प्रियंका चोपडासम्ममा ट्याटुमोह देखिन्छ । त्यसो त नेपालकै नायक तथा नायिकाहरूसमेत यो मामिलामा पछाडि छैनन् । नेपाली नायिकाहरूमा पनि गज्जबको ट्याटुमोह छ । उनीहरूले आफ्नो शरीरको विभिन्न अङ्गमा ट्याटु खोपाउँदै आएका छन् । आफूलाई निकै बोल्ड महिलाका रुपमा प्रस्तुत गर्दै आएकी स्मीता थापादेखि नायिकाहरू करिश्मा मानन्धर, सुष्मा कार्की, प्रियंका कार्की, वर्षा शिवाकोटी, साम्राज्ञीराज्य लक्ष्मी शाह, सिर्जना सुब्बासम्म तथा नायक राजेश हमाल, सौगात मल्ल, आर्यन सिग्देल, आयुष्मान देशराजदेखि अनमोल केसीसम्मले आफ्नो शरीरमा ट्याटु खोपाएका छन् ।

जन्म चिह्नको ट्याटु

नायिका वर्षा शिवाकोटीले केही समयअघि दायाँ खुट्टाको पिँडुलामा भेडाको टाउकोसहितको महिलाको आकृति खोपाएकी थिइन् । उनले ट्याटुको रहर भन्दा पनि जन्मदाको बर्थ साइन आफ्नो शरीरमा अंकित गर्ने रहर पूरा गरेकी हुन् । के बनाउने भन्ने सोच्दासोच्दै आफ्नै राशिको चिह्न खोपाउने चाहना भयो— वर्षा भन्छिन् । वर्षाको राशि कन्या हो । त्यसैले उनले आफ्नो शरीरमा कन्या राशिको आकृतिलाई मोडिफाइ गरेर प्रस्तुत गरेकी छिन् । कन्या राशिको आकृति उनको पिँडुलाको ट्याटुसँग मेल खान्छ । यो ट्याटुले गर्दा आफ्नो खुट्टा अझ आकर्षक देखिएको उनको अनुभव छ । यो ट्याटुमा जस्तो पनि पहिरन सजिलै लगाउन मिल्ने उनले बताइन् । वर्षाका अनुसार एक वर्षअघि खोपाइएको कन्या राशिको ट्याटुले उनमा आत्मविश्वास थपेको छ ।

बाघ र महिलाको ट्याटु

रंगकर्मी सिर्जना सुब्बाले आफ्नो दायाँ खुटाको तिघ्रामा ठूलो ट्याटु खोपाएकी छिन् । त्यहाँ उनले महिलाको कम्मरमाथिको नांगो शरीर बनाएकी छिन् । हुन त उनलाई त्यहाँ भृकुटीको आकृति खोपाउन मन थियो तर तिघ्रामा भृकुटी बनाउन असहज लाग्यो । उक्त ट्याटुले दुईवटा अर्थ राख्ने सुब्बा बताउँछिन् । पहिलो महिला भन्नासाथ समर्पित हुने स्वभावलाई चित्रित गर्छ भने हातको पोजिसनले समर्पित हुँदाहुँदै अति भयो भने महिलाहरू हतियार उठाउन वा लड्न पनि तयार हुने संकेत उक्त ट्याटुले दिन्छ । एक वर्षअघि तिघ्रामा ट्याटु खोपाएकी सिर्जनाको उक्त ट्याटु तयार हुन छ–सात घण्टा लाग्यो । धेरैले देखिने पार्टमा ट्याटु खोपे पनि उनले सकभर कम देखिने शरीरको भाग रोजिन्, तिघ्रामै ट्याटु खोप्नुको रहस्य खोल्दै सुब्बाले भनिन्, म थिएटरमा काम गर्ने भएकाले विभिन्न चरित्रमा अभिनय गर्नुपर्छ जसले गर्दा ट्याटु उति सान्दर्भिक हुँदैन । त्यसैले तिघ्रालाई छानें । कहिलेकाहीं हाफ पाइन्ट वा स्कर्ट लगाउँदा आफ्नो ट्याटुका कारण फरक महसुस गर्छिन् उनी । यसले सिर्जनालाई आफू बोल्ड र स्पेसल छु जस्तो अनुभूति दिन्छ । हुन त उनको घाँटीमुनि बाघको ट्याटु पनि छ । यो ट्याटु खोप्नुमा भने उनको आफ्नै स्वार्थ छ । उनको त्यो पार्टमा मासु भुक्क उठेजस्तो देखिन्थ्यो । ब्लाउज लगाउँदा सबैले के भएको भनेर हैरान बनाएपछि सिर्जनाले उक्त ठाउँमा ट्याटु खोपाएकी हुन् जसले गर्दा मासु उठेको भाग मात्र छोपिएको छैन, सबैले प्रश्न गर्नुको साटो आहा † कस्तो राम्रो ट्याटु भनेर प्रशंसा गर्छन् ।

गुलाफको ट्याटु

अभिनेत्री करिश्मा मानन्धरले दुई दशकअघि नै छातीको बायाँ भागमा गुलावको फूलको रंगिन आकृति खोपाएकी हुन् । त्यति बेला उनको ट्याटुलाई लिएर कतिपयले कुरा पनि काटेका थिए । यद्यपि धेरैजसोले छातीको उक्त ट्याटुले उनको सौन्दर्य थप वृद्धि गरेको समेत बताएका थिए । करिश्मा विभिन्न पार्टी तथा कार्यक्रमहरूमा स्तननजिकको उक्त ट्याटु हल्का देखिने पहिरनमा पुगिरहेकी हुन्छिन् । करिश्माको ट्याटु ग्ल्यामरस त देखियोस् तर भल्गर नहोस् भन्ने चाहनाअनुरूप खोपाइएको छ । यो ट्याटु मेरो सुन्दरता र आकर्षणमा प्लस प्वाइन्ट भएको महसुस हुन्छ– करिश्मा भन्छिन् । ट्याटु खोपेपछि आफूमा आत्मविश्वास वृद्धि भएको उनको अनुभव छ ।

जीवनका महत्वपूर्ण चार ट्याटु

अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको शरिरमा जम्मा चारवटा ट्याटु छन् । उनी सानैदेखि ट्याटु मन पराउँथिन् । त्यही भएर प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् । ती सबै ट्याटुको फरक–फरक अर्थ भएको उनले बताइन् । प्रियंकाले भनिन्— मेरो जीवनसँग जोडिएका यी ट्याटुले मेरो जीवनमा विशेष अर्थ तथा महत्व राख्छन् । प्रियंकाका ती चारवटै ट्याटु विदेशमा खोपाइएका हुन् । ती ट्याटुमा प्रियंकाले आफूलाई मन पर्ने रंगहरू प्रयोग गरेकी छिन् । उनको पहिलो ट्याटु अमेरिकामा हुँदा १३ वर्षअघि खोपाइएको थियो । दाहिने हातको पाखुरामा भएको उक्त ट्याटुमा मर्मेडको आकृति अंकित छ । उक्त मर्मेडको हात आकाशतिर फैलिएको छ । यो ट्याटुले मर्मेड पानीसँगै आकाशतिर पनि फैलन सक्छ भन्ने अर्थ राख्छ । प्रियंकाका अनुसार यो ट्याटुले असम्भव भन्ने केही पनि छैन भन्ने सन्देश दिन्छ ।

उनको दोस्रो ट्याटु कोखा र छातीको बीचमा छ, जसमा डिज्नीको एउटा भनाइ कुँदिएको छ । प्रियंकालाई आफू पनि डिज्नीको क्यारेक्टरजस्तै हन्छु भन्ने लाग्थ्यो । उनलाई डिज्नीले धेरै हदसम्म काल्पनिक पनि बनायो । उक्त ट्याटुमा लेखिएको छ— ‘अ ड्रिम इज अ विस युर हार्ट मेक ।’ कार्कीको अर्काे ट्याटु दाहिने खुट्टामा छ । प्रियंकाले अमेरिका बसाइमा बेली डान्स सिकेकी थिइन् । बेली डान्स सिकेपछिको आफ्नो पहिलो प्रस्तुति नै उनको उक्त ट्याटुमा अंकित छ । उनको चौथो ट्याटुचाहिं गर्धनमा छ । जुन आयुषमान देशराजसँग उनको इन्गेजमेन्ट भएपछि खोपाइएको हो र त्यसमा आयुषमान र प्रियंका नाम जोडेर ‘आयंका’ लेखिएको छन् । प्रियंकालाई यो ट्याटुले आफ्नो प्रेम दर्साउँछ भन्ने लाग्छ । प्रियंका यस्ती युवती हुन्, जसलाई आफूलाई मनमा लागेको कुरा गरिहाल्नुपर्छ भन्ने लाग्छ । त्यसैले पनि उनी मन परेको र विशेष कुरालाई शरिरमा चिह्नका रुपमा राख्न अघि सरिहाल्छिन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह

पछिल्लो समय निकै चर्चामा रहँदै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो स्तनको तल्लो भागमा ट्याटु खोपाएकी छिन् । साम्राज्ञीको उक्त ट्याटु सार्वजनिक भएपछि ठूलै चर्चा र विवाद चलेको थियो । विदेश भ्रमणका क्रममा खोपाइएको उक्त ट्याटु शरीरको संवेदनशील भागमा भए पनि ट्याटु आर्टिस्टको असावधानीका कारण सार्वजनिक हुन पुगेको थियो र त्यसैलाई लिएर केही समय मिडियामा रडाको मच्चियो ।

अष्टमंगलको आकृति

ट्याटु खोप्ने र मन पराउनेहरूको यो सूचीमा अभिनेत्री अशिष्मा नकर्मी पनि छिन् । आशिष्माले आफ्नो ढाडको गर्धनभन्दा तल मण्डलाको ट्याटु खोपाएकी छिन् । उनको उक्त ट्याटुमा शिव र पार्वतीको प्रेम देखिन्छ । नेपालभाषाका चलचित्रमा समेत अभिनय गरेकी अशिष्मालाई ट्याटु खोपाउने रहर त थियो तर, उक्त ट्याटुको अर्थ राम्रो होस् भन्ने पनि थियो । सबैले देख्ने पार्टमा ट्याटु खोपाए पनि उनले भने शरीरको पछाडिको भागमा अष्टमंगल खोपाएकी छिन् । उक्त ट्याटुका कारण ब्याक ओपन ड्रेसमा आफ्नो सुन्दरतामा थप निखार आउने नकर्मी बताउँछिन् ।

छातीमा नेपालको झन्डा

अभिनेत्री शुभेच्छा थापाले आफ्नो छातीमा नेपालको दुईवटा झन्डाको क्रस खोपाएकी छिन् । आफूलाई हट एन्ड सेक्सी देखाउन छातीमा ट्याटु खोपाउने चलन छ । यद्यपि शुभेच्छा मातृभूमिप्रतिको माया र आस्थाका कारणले राष्ट्रिय झन्डाको ट्याटु खोपाएको बताउँछिन् ।

बोल्ड महिला

आफूलाई निकै बोल्ड महिलाका रूपमा प्रस्तुत गर्दै आएकी स्मीता थापाले आफ्नो बायाँ खुट्टाको तल्लो भागमा नग्न युवतीले हातमा चूरोट र वाइन लिएको आकृति खोपाएकी छिन् । महिला स्वतन्त्रतालाई लिएर उक्त ट्याटु बनाइएको भने पनि उनले आफ्नै सोचलाई ट्याटुको रूप दिएकी हुन् । पुरुषले नग्न बस्नु हुन्छ भने महिलाले किन नहुने, पुरुषले चुरोट–रक्सी पिउनुहुन्छ भने महिलाले किन नहुने देखि लिएर काम र व्यवहारमा महिला र पुरुषबीच हुने भेदभावविरुद्ध जस्तो असहमति र विद्रोहको स्वर नै आफ्नो ट्याटुले अभिव्यक्त गर्छ भन्ने दाबी थापाको छ ।

फूलको ट्याटुमा

चलचित्र ‘प्रेमगीत–२’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी नायिका अश्लेषासिंह ठकुरीले आफ्नो दाहिने तिघ्रामा ट्याटु खोपाएकी छिन् । चलचित्र प्रदर्शनपछि ट्याटु खोपाएकी अश्लेषाले दाहिले तिघ्रामा ठूलो फूलको रंगीन आकृति कुँदाएकी छिन् । अश्लेषाले जस्तोसुकै परिस्थिति आइपरे पनि नआत्तिई फूलजस्तै कोमल र सुन्दर भैरहने सन्देशका साथ उक्त ट्याटु खोपाएकी हुन् । तिघ्रामै किन भन्ने प्रश्नमा ठकुरी भन्छिन्— ट्याटु सधैं देखाइरहँदा पनि रमाइलो हुँदैन । समय–परिस्थितिअनुसार छोटा पहिरन लगाउँदा मात्र उक्त ट्याटु सार्वजनिक हुन्छ र त्यतिबेला त्यसको महत्व पनि बढी हुने उनको तर्क छ । अश्लेषालाई फूल सार्‍है मन पर्ने भएकाले पनि उनले ट्याटुमा कलरफुल फूल रोजेकी हुन् ।

http://bit.ly/2o27Gry

Spread the love