छानबिन समितिले अस्पतालको फूटेज प्रहरीलाई बुझायो

Spread the love

भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई बिगतको जस्तै उच्च मनोबलका साथ काममा खटिन आग्रह गरिएको छ। 

अस्पताल विकास समिति, स्थानीय प्रहरी प्रशासनलगायत सरोकारवालाले अस्पतालमा सुरक्षाको भरपर्दो ब्यवस्थापन मिलाइएको हुँदा निर्भिकताका साथ पहिलेजस्तै उच्च मनोबलका साथ काममा खटिन आग्रह गरेका छन्। 

अस्पताल विकाश समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले दाङबाट लुम्बिनी प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुक आफैं पुगेर अस्पातलको सुुरक्षा बारेमा चिन्ता नगर्न र काममा फर्कन आग्रह गरेको बताए।

घटनामा सम्लग्न मध्येका प्रमुख तीन जना पक्राउ परिसकेको, उनीहरू बिरूद्ध मुद्दासमेत चलाइसकेको र त्यसमा सम्लग्न अन्यको खोजी तीब्र पारिएकालेअहिलेको विशष परिस्थितिलाई ध्यानमा राखेर काममा फर्किन प्रहरी प्रशासन लगायत सबैले गरेको आग्रह स्वास्थ्यकर्मीले स्वीकार गरेको श्रेष्ठले जानकारी दिए। 

‘अस्पताल विकास समिति, स्थानीय सरकारका प्रतिनिधि, प्रहरी प्रशासनका प्रमुख, चिकित्सक तथा स्वास्थ्यकर्मी बीच भएको छलफल पछि सबै चिकित्सक तथा कर्मचारी पहिलेजस्तै काममा फर्किनु भएको छ,’ श्रेष्ठले भने। 

त्यस्तै घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टको नेतृत्वमा सात सदस्यीय कार्यसमितिले घटनाका प्रत्यक्षदर्सी, आक्रमण  तथा कुटपिट खेपेका चिकित्सक र नर्सहरु संगपनि शुक्रबार नै घटनाबारे जानकारी लिएको छ । 

‘हामीले आज घटनाका प्रत्यक्षदर्शी वार्डमा कार्यरत अन्य कर्मचारी, पीडित चिकित्सक र नर्सहरुसंग पनि घटनाबारे जानकारीहरु संकलन गरेका छौं,’ श्रेष्ठले भने ‘अस्पतालको सिसी टिभी फूटेज पनि हामीले निकालेर अध्यनका लागि प्रहरी प्रशासनलाई बुझाएका छौं।’

शुक्रबार नै ४० प्रतिशत अनुसन्धानको काम सकिएको बताएका अस्पताल विकास समितिका सदस्य श्रेष्ठले शनिबार चिकित्सक र नर्समाथि कुटपिट गर्ने पक्राउ परेका तीन ब्यक्तिसँग पनि भेटेर कुराकानी गर्ने निर्णय भएको जानकारी दिए। 

‘घटनाका बारेमा हामी उहाँहरूसँग पनि कुराकानी गर्ने छौं,’ श्रेष्ठले भने, ‘हामी नागरिक समाज, अधिकारकर्मीलगायत अन्य ब्यक्तिसँग पनि छलफल गरि रिपोर्ट बुझाउनेछौं।’

चौतर्फी घटनाको बिरोध भएको र दोषीमाथि कारबाही गर्न सबैले माग गरेको हुँदा दोषीलाई कारबाही हुने विश्वासका साथ चिकित्सक तथा स्वास्थ्यकर्मी काममा फर्किन राजी भएको श्रेष्ठले बताए। 

तपाँईहरूलाई कतैबाट दबाब त आएको छैन? भन्ने प्रश्न गर्दा– श्रेष्ठले त्यो नकार्न सकेनन्। ‘ कतिपय मित्रहरुले घटनाका आरोपित ब्यक्तिहरु राजनीतिक पहुँचमा रहेको हुँदा मिलाएर काम गर्नुपर्छ भन्ने राय पनि राख्नु भएको छ,’ श्रेष्ठले भने ‘ब्यक्तिगत रुपमा मलाई भने कतैबाट त्यति ठूलो दबाब आएको छैन।’

गए राति दाङका एक जना कोरोना संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टर र नर्सलाई आक्रमण गरेको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

सबै स्वास्थ्यकर्मीले काम छाडेर दोषीमाथि तत्काल कारवाही हुनुपर्ने माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। उनीहरुको प्रदर्शनका कारण अस्पतालको कोभिड वार्डको उपचार प्रभावित भएको थियो।  

विरामीको मृत्युपछि उनका कुरुवा र आफन्तले आइसियु कक्षमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको भेरी अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीले शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन्।

आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले पहिलो तलाबाट हाम फालेर भागेका थिए । अस्पतालका स्वास्थ्यकर्मीहरुले यस्तो घटना घट्न नदिन दोषीलाई कडा कारवाही गर्नुपर्ने बताएका छन्।


Spread the love