चलेका नेपाली एप

Spread the love

source: saptahik dainik

विभिन्न मुलुकमा बनेका मोबाइल एपहरूले संसारभरि राम्रो स्थान बनाइरहेका बेला नेपालमै बनेका केही एपहरूले पनि लोकप्रियता पाएका छन्, जुन धेरैजसो नेपालीले आफ्नो स्मार्टफोनमा राख्ने गर्छन् । 

आजभोलि कमैले मात्र पुराना मोडलका मोबाइल चलाउँछन् । धेरैका हातमा स्मार्टफोन छन् । र, ती स्मार्टफोनको माध्यमबाट मानवीय आवश्यकता पूर्ति गर्न तथा फोनलाई नै उपयोगी साधन बनाउन पछिल्लो समय विभिन्न एपको निर्माण हुन थालेको छ । टेक्नोलोजीको विकासका रूपमा यसरी बनेका विभिन्न एपले अहिले मानिसका दैनिक क्रियाकलापलाई सरल बनाइरहेका छन् । सन् २००४ मा मार्क जुकरबर्गले बनाएको फेसबुक एप आज विश्वभरि छाएको छ भने सन् २००५ मा निर्माण गरिएको युट्युब, भिडियो हेर्दै समय बिताउने उपयुक्त माध्यम बनेको छ । विभिन्न मुलुकमा बनेका मोबाइल एपहरूले संसारभरि राम्रो स्थान बनाइरहेका बेला नेपालमै बनेका केही एप लोकप्रिय छन्, जुन धेरैजसो नेपालीले आफ्नो स्मार्टफोनमा यी एप्लिकेसनहरू राखेका छन् । यस्ता एपले मानिसलाई शैक्षिक ज्ञान हासिल गर्न, मनोरन्जन लिन, नयाँ फेसनका बारेमा थाहा पाउन, गेम खेल्न, चलचित्र, बिजुली र इन्टरनेटको बिल तिर्न, किनमेल गर्न, कुनै पनि आधिकारिक साइटबारे थाहा पाउन तथा समाचारहरू पढ्नका लागि सहयोग पुर्‍याइरहेका छन् । नेपालमा बनेका तथा लोकप्रियता कमाएका केही एप यी हुन:

हाम्रो पात्रो

हाम्रो पात्रो एक अनलाइन क्यालेन्डर हो । यो एपको माध्यमबाट मिति तथा समय हेर्न सकिन्छ । यसका साथै यो एपबाट नयाँ समाचार, राशिफलका बारेमा जानकारी लिन, विदेशी विनिमय दरहरू थाहा पाउन, रेडियो सुन्न, सुन, चाँदी तथा तरकारीको मूल्यका बारेमा जानकारी लिन, मिति परिवर्तन गर्न तथा पोडकास्टहरू सुन्न सकिनेछ । हाम्रो पात्रोलाई सन् २०१० मा शंकरराज उप्रेतीले निर्माण गरेका थिए तर सन् २०१२ मा मात्र यो एपलाई गुगल प्ले स्टोरमा रिलिज गरिएको थियो । हाल यसको प्रयोगकर्ता ५० लाखभन्दा बढी रहेका छन् । यो नेपालमा सबैभन्दा धेरै पटक डाउनलोड गरिएको नेपाली एप हो । 

ई–सेवा

यो एप मोबाइलमा डिजिटल वालेट भएको एप हो । यो एपबाट प्रयोगकर्ताहरूले आफ्नो मोबाइल फोन र इन्टरनेटको सहायताबाट तत्काल घरमा बसीबसी रकम भुक्तानी गर्न, पठाउन तथा प्राप्त गर्न सक्छन् । ई–सेवाबाट प्रयोगकर्ताहरूले मोबाइलको रिचार्ज, टपअप गर्न, टेलिफोन, बिजुली, खानेपानी तथा इन्टरनेटको बिल भुक्तानी गर्न, डिसहोमको रिचार्ज गर्न र हवाईजहाज तथा बसको टिकट काट्न सकिन्छ । यो एप नेपालको पहिलो अनलाइनबाट रकम भुक्तानी गर्न मिल्ने एप हो । सन् २००९ मा एफ–१ सफ्ट इन्टरनेसनल कम्पनीले अनलाइन माध्यमबाट रकम लेनदेन गर्नका लागि यसको स्थापना गरेको थियो । अहिले यो एपका प्रयोगकर्ता १० लाख छन् ।

खल्ती

यो एप पनि माथि चर्चा गरिएजस्तै प्रकारको नेपाली एप हो । खल्ती एप दु्रत, सुरक्षित तथा झन्झटरहित अनलाइनबाटै रकम भुक्तानी गर्न मिल्ने डिजिटल वालेट हो । यसले विभिन्न बिल भुक्तानी, मोबाइल रिचार्ज, डीटीएच भुक्तानी, मनी ट्रान्सफर तथा डोमेस्टिक रेमिट्यान्सको काम गर्छ । यो एप पैसा पठाउन तथा तुरुन्त भुक्तानी गर्नका लागि सजिलो तरिका बनेको छ । हाल नेपालभर यसका प्रयोगकर्ता ५ लाख छन् ।

हाम्रो नेपाली किबोर्ड

यो एप नेपाली भाषाप्रति रुचि हुनेहरूका लागि निर्माण गरिएको एप हो । हाम्रो नेपाली किबोर्डको प्रयोगबाट नेपालीमा लेख्न सकिन्छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिमहरू पनि छान्न सकिनेछ । त्यस्तै एपमा डार्क र लाइट गरी दुईवटा डिजाइनमा किबोर्डको थिम उपलब्ध गरिएको छ । यसको माध्यमबाट नेपाली टाइप गर्न सकिन्छ । त्यस्तै यसमा युनिकोड ट्रान्सलिटेरेसन, परम्परागत लेआउट, न्युमेरिकल किपेड तथा इमोजीहरूका फिचर्सहरू रहेका छन् । देशैभर अहिले यो एप प्रयोग गर्नेको संख्या ५० लाखभन्दा बढी पुगेको छ ।

नेपाली डिक्सनेरी

यो एप अंग्रेजीबाट नेपाली र नेपालीबाट अंग्रेजीमा उल्था गर्ने दुईपक्षीय नेपाली शब्दकोश हो, जसमा ३० हजार नेपाली तथा २२ हजारभन्दा बढी अंग्रेजी शब्द छन् । यो एपले प्रयोगकर्तालाई अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने, त्यसको अडियो उच्चारणका लागि स्पिच गाईडको व्यवस्था गरेको छ । त्यस्तै नेपाली डिक्सनेरीमा सजिलो किसिमको अफलाईन अंग्रेजीको समेत व्यवस्था गरिएको छ । एपमा प्रयोगकर्ताहरूलाई भाषा सिक्ने अवसर मिलोस् तथा भाषामा सुधार गर्न मद्दत होस् भनेर अंग्रेजी गेम पनि समावेश गरिएको छ । सन् २०१६ मा सार्वजनिक गरिएको यो एपका प्रयोगकर्ता हाल १० लाखभन्दा बढी छन् ।

टुटल

यो एप राइडिङ सेयरिङ सुविधा भएको एप हो । यो काठमाडौं उपत्यकाभित्र दुई जना व्यक्तिबीच राइडिङ एग्रिमेन्ट गरेर सवारी गर्न मिल्ने एप हो । यसले असुविधाजनक सार्वजनिक यातायात, अधिक मूल्य निर्धारण गर्ने ट्याक्सी सेवाहरूको विकल्पमा सवारी सेवाको सुविधा दिने काम गर्छ । टुटलले उपत्यकाभित्र मानिसलाई सबैभन्दा सजिलो र चाँडो सवारी बुक गर्न मद्दत पुर्‍याउँछ । मोबाइलमा टुटल एप्स भएमा आफू कहाँदेखि कहाँसम्म पुग्नुपर्ने हो, त्यसको जानकारी दिएपछि यो सेवा लिन सकिन्छ । अहिले नेपालमा यसका प्रयोगकर्ता १ लाखभन्दा बढी छन् । 

हाम्रो लुडो

यो एप खेलसँग सम्बन्धित एप हो । हाम्रो लुडो एक शास्त्रीय र लोकप्रिय खेल हो, जहाँ सबै उमेर समूहका व्यक्तिहरूले यो खेल खेल्न सक्छन् । यो गेममा पासा घुमाउन र प्रत्येक खेलाडीलाई तोकिएका टोकनहरू सार्नका लागि लुडो बोर्डको प्रयोग गरिन्छ, जसमा पहेंलो, हरियो, रातो र नीलो रंगका लुडो बोर्डका क्षेत्रहरू हुन्छन् । यो गेम एकपटकमा चार जनासम्मले खेल्न सक्छन् । यो एप १ लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ । 

नेट टिभी

नेट टिभी नेपालमा स्ट्रमिङ र ट्रिपल प्ले मल्टिस्क्रिन उपकरण वितरण समाधान गर्ने खुला बजार भएको प्लेटफर्म भएको एप हो, जहाँ जो–कोहीले पनि आफ्नो सामग्री बेच्न र व्यापार गर्नका लागि नेट टिभीसँग साझेदारी गर्न सक्नेछन् । यो एप स्ट्रमिङ प्लेटफर्मको सरलता, मनोरञ्जनका विभिन्न विकल्पको विविधता तथा न्यून मूल्यका लागि प्रख्यात छ । यो एपको माध्यमबाट लाइभ टिभी, लोकप्रिय टिभी कार्यक्रम, चलचित्र, भिडियो तथा अडियो सामग्रीहरू सजिलैसँग हेर्न सकिनेछ । 

नेपाली पात्रो

यो एप हाम्रो पात्रोजस्तै विशेषताले भरिपूर्ण भएको नेपाली एप हो । यसको स्थापना सन् २०११ मा भित्ते पात्रोको सट्टामा गरिएको थियो । नेपाली पात्रो मोबाइल एपबाट नेपाली समय, तिथिमिति, महत्त्वपूर्ण चाडपर्वहरू तथा शुभसाइत तथा मुहूर्तहरूको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ । यसका साथै मिति रुपान्तरण, राशिफल, विदेशी विनिमयको फिचर्स पनि यसमा रहेको छ । हाल नेपालभर यसका प्रयोगकर्ता १० लाखभन्दा बढी छन् ।

रिचार्ज कार्ड स्क्यानर

यो एप पनि नेपालमा धेरै रुचाइएका एपहरूमध्ये एक हो । यो एपको माध्यमबाट नेपाल टेलिकम तथा एनसेलद्वारा प्रदान गरिने सेवाहरूको प्रयोग गर्न मद्दत मिल्छ । रिचार्ज कार्ड स्क्यानर एपमार्फत मोबाइल फोनको क्यामेरा प्रयोग गरेर रिचार्ज कार्डहरू स्क्यान गर्न सकिनेछ । यसले युएसएसडी कोड टाइप नगरी तुरुन्त ब्यालेन्स रिचार्ज गर्न सहयोग गर्छ । नेपालभर १० लाख पटकभन्दा बढी यो एप डाउनलोड गरिएको छ ।


Spread the love