चट्याङबाट सात वर्षमा ८४१ को मृत्यु, दुई हजार घाइते
भरतपुर । नेपालमा २०६८ सालदेखि २०७५ सालसम्ममा चट्याङबाट ८४१ जनाले ज्यान गुमाएका छन् । दुई हजार ९५ जना घाइते भएका छन् ।
चट्याङ विज्ञ प्राडा श्रीराम शर्माका अनुसार गृह मन्त्रालयको तथ्याङ्कले औसतमा वार्षिक ११० जनाको मृत्यु हुने गरेको बताएको छ । नेपालमा सबैभन्दा धेरै २०६९ सालमा चट्याङ लागेर ज्यान गुमाएका छन् । उक्त वर्ष १३१ जनाले चट्याङबाट ज्यान गुमाएका छन् । २०७५ सालमा भने सबैभन्दा कम क्षति भएको छ । उक्त वर्ष ६८ जनाले ज्यान गुमाएका थिए । ‘तर, औसतमा नेपालमा वार्षिक ११० जनाले चट्याङबाट ज्यान गुमाएको देखिन्छ’, उनले भने ।
नेपालमा सबैभन्दा बढी चट्याङ झापामा लागे पनि मानवीय क्षति भने मकवानपुर जिल्लामा धेरै रहेको उनले बताए । गृह मन्त्रालयले तथ्याङ्क राखेकै वर्षदेखि २०७५ सालसम्मको तथ्याङ्क हेर्दा मकवानपुरमा मात्रै ७० जनाले चट्याङ लागेर ज्यान गुमाएका छन् । मकवानपुर चुरे क्षेत्रकै सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ पनि हो । चितवनमा भने सोही अवधिमा १२ जनाले ज्यान गुमाएका छन् भने ३२ जना घाइते भएका उनले बताए ।
‘धेरैजसो चट्याङ बादलभित्रै पर्छ’, उनले भने, ‘तर जमिनमा पर्ने चट्याङको अवस्था हेर्ने हो भने पनि विकसित मुलुकहरुको तुलनामा नेपाल बढी नै जोखिममा छ ।’
विकसित मुलुकहरुमा वार्षिक औसतमा करिब ३० जनाको हाराहारीमा मात्र पर्ने गरेको उनले बताए । उनका अनुसार चट्याङले सजिलो बाटो खोज्छ । जमिनमा हुने सबै वस्तुले चट्याङ पर्दा प्रतिक्रिया दिन सक्छन् । ‘त्यस्तो अवस्थामा मान्छेलाई लाग्दा मृत्यु हुने या घाइते हुने गर्दछ’, उनले भने, ‘घाइते हुनेमा पनि कतिपय चर्को आवाजले गर्दा कानको सुन्ने क्षमता नै गुमाएका छन् ।’
चट्याङ पर्ने प्रक्रिया
जमिनको सतहबाट वाष्पीकरण भएर उडेको कण बादलसम्म पुग्दा सुख्खा बरफ बन्छ । तर, आकासबाट भने हल्का पानी भएको कण झरिरहेको हुन्छ । अन्ततः जमिनबाट गएको कण र आकासबाट झर्दै गरेको कण बादलसम्म पुगेर ठोक्किँदा चार्ज उत्पन्न हुन्छ । चट्याङ विज्ञ प्राडा शर्माका अनुसार दुवै कण ठोक्किएपछि एक किसिमको विद्युतीय शक्ति उत्पादन हुन्छ, त्यही चार्जका कारण चट्याङ पर्छ ।
‘त्यसरी उत्पादन भएका धेरैजसो विद्युतीय शक्ति बादलभित्रै हराउँछ भने कतिपय जमिनसम्म आइपुग्छ र त्यस्तो खालको शक्ति जुनसुकै ठाउँमा पनि बज्रन सक्छ’, उनले भने, ‘यस्तो खालको घटना प्रायः गर्मी मौसममा बढी हुने गर्दछ, किनकि गर्मीमा बढी तापक्रम हुने हुँदा यसले छिटो चार्ज गर्न सक्छ ।’
उनका अनुसार चट्याङबाट निस्कने झिल्कामा करेन्टको मात्रा औसतमा २० किलो एम्पायर हुन्छ । चट्याङबाट निस्कने करेन्ट कम्तीमा तीन हजार एम्पायरदेखि तीन लाख एम्पायरसम्म हुने गर्दछ । ‘चट्याङ पर्दा हावाको तापक्रम ३० हजार डिग्री सेल्सियससम्म पुग्छ, यो भनेको सूर्यको भन्दा पाँच गुना बढी तातो हो’, उनले भने, ‘यतिखेर पानी पर्दा पानीलाई नै विस्फोट बनाइदिन्छ, त्यसैले पनि पानी पर्दा अझ बढी आवाज आउँछ ।’
चट्याङबाट जोगिन के गर्ने ?
चट्याङलाई रोक्न र छेक्न सकिँदैन, तैपनि यसबाट जोगिनका लागि भने पूर्वतयारी अपनाउन सकिन्छ । चट्याङ विज्ञ शर्माका अनुसार आफू बस्ने घरमा समेत चट्याङ प्रतिरक्षी सामग्री जडान गरे यसबाट जोगिन सकिन्छ । ‘घरको सबैभन्दा अग्लो भागमा तामा, आल्मुनियम या फलामको त्रिशूल राख्ने पुरानो चलन छ’, उनले भने, ‘त्यसले पनि चट्याङ रोक्न सकिन्छ । तर, तामा वा आल्मुनियमको तारको माध्यमबाट जमिनसम्म ल्याएर माटोमुनि गाड्दा त्यसले चट्याङ लाग्नबाट जोगाउँछ ।’
कालो बादल लागेर हावाहुरीको संकेत गरेपछि चट्याङ लाग्न सक्ने भएकोले त्यस्तो समयमा सुरक्षित स्थानमा बस्ने गरेमा चट्याङबाट जोगिन सकिने उनले बताए । र, त्यस्तो बेला अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न पनि विज्ञहरुको सुझाव छ । प्रायःजसो जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा विशेषरुपमा सजग रहनुपर्ने उनले बताए ।
विद्यालयमा चट्याङ प्रतिरक्षी सामग्री
हरियो वन र लार्क नामक संस्थाको संयुक्त पहलमा देशभरका विभिन्न विद्यालयमा चट्याङ प्रतिरक्षी सामग्री जडान गर्ने काम भइरहेको समेत उनले बताए । पर्वत, तनहुँ, चितवनलगायत यसवर्षभित्र ७ वटा विद्यालयमा यस्ता सामग्री जडान गर्ने योजना रहेको उनको भनाइ छ । ‘चितवनको इच्छाकामना गाउँपालिकाको एउटा विद्यालयमा सामग्री जडान गर्ने योजना छ, तर गाउँपालिकाले विद्यालयको नाम सिफारिस गर्न नसक्दा काम अड्किएको छ’, उनले भने ।
यही विषयमा भरतपुरमा दुईदिने कार्यशाला भइरहेको छ । हरियो वन कार्यक्रम र भरतपुर महानगरपालिकाको आयोजनामा भएको उक्त कार्यशालामा स्थानीय तहमा कार्यरत प्राविधिकसहितका कर्मचारीहरु सहभागी छन् । गोष्ठी आज बिहीबार सकिँदैछ ।