घरको नक्सा-डिजाइन बनाउनुअघि के-केमा ध्यान दिनुपर्छ, कति लाग्छ खर्च?

Spread the love

घर मुख्यगरी परम्परागत र आधुनिक शैलीमा निर्माण गरिन्छ। आरसिसी, प्रिफ्याब, स्टिल स्ट्रक्चर लगायत आधुनिक शैलीका घर हुन्। ढुंगामाटो, काठ प्रयोग गरी मौलिक शैलीमा बनाइने परम्परागत घर हुन्।

जुनसुकै शैलीमा बनाए पनि घरको नक्सा-डिजाइन बनाउनुपर्छ। नक्सा पास नभई नगरपालिकाले घर बनाउने इजाजत दिँदैन।

यहाँ हामीले घरको नक्सा र डिजाइनको महत्व र यसमा लाग्ने खर्चबारे चर्चा गरेका छौं। यसबारे हामीलाई मेथड कन्सल्टेन्सी, सूर्यविनायकका निर्देशक तुलसीलाल बासुकलाले जानकारी दिएका छन्।

उनका अनुसार कुनै पनि घरको नक्सा नगरपालिकाले सहजै पास गरिदिने खालको होइन, घरधनीको मनमा पास हुने खालको हुनुपर्छ। बासुकला भन्छन्, ‘नगरपालिकामा सजिलै पास गर्न नक्सा र घर बनाउने होइन। नक्साकै आधारमा सम्पूर्ण घर बन्ने हुनाले सम्झौता गर्नु हुँदैन। कहिलेकाहीँ भवन बन्न लाग्ने समयभन्दा धेरै समय डिजाइनमा दिनुपर्ने हुनसक्छ।’

घरको नक्सा बनाउनुभन्दा पहिले डिजाइन कम्पनीले जग्गा हेर्छन्। त्यसपछि कम्पनी र घरधनीबीच परिवारका सदस्य संख्या, आवश्यकता, आम्दानी स्रोत लगायतबारे छलफल गरिन्छ। बासुकलाका अनुसार घरधनीको इच्छा र आम्दानीको तालमेल मिलाउनु महत्वपूर्ण हुन्छ। 

दुवै पक्षको छलफल र घर निर्माणको शैली निधो गरेपछि कम्पनीले डिजाइनको काम सुरू गर्छ।

‘यो प्रक्रियामा घरधनी चनाखो नभए कम्पनीहरूले पुरानो कुनै डिजाइन देखाएर बदमासी पनि गर्न सक्छन्। यो कुरा ख्याल गर्नुपर्छ,’ उनले भने। 

एकपटक डिजाइन गरिसकेपछि घरधनीलाई देखाइन्छ। डिजाइन मन नपरे वा हेरफेर गर्नुपर्ने भए डिजाइनरसँग बसेर छलफल गर्नुपर्छ। बासुकलाका अनुसार डिजाइन फाइनल हुनुअघि नै आवश्यक छलफल गर्नुपर्छ। एकपटक निश्चित गरेपछि सकेसम्म हेरफेर गर्नु हुँदैन। 

नक्सा र डिजाइन राम्रो नभई घर राम्रो बनाउन नसकिने बताउँदै उनी भन्छन्, ‘कस्तो निर्माण सामग्री प्रयोग गर्ने, त्यसको खर्च कति आउँछ, बजेटमा के के समेट्न सकिन्छ, लागत घटाउन के गर्न सकिन्छ? यी सबै कुरा पहिले नै थाहा पाउन राम्रो डिजाइन गरिनुपर्छ।’

धेरैजसोलाई घर बनाउनुअघि कसलाई भेट्ने, कोसँग परामर्श गर्ने थाहा हुँदैन। धेरैजसो त भर्खरै निर्माण सम्पन्न गरेका आफन्त वा छिमेकीकहाँ पुग्छन्। छिमेकले सही सल्लाह दिए त ठिकै भयो, नत्र दुवैको उस्तै घर बन्ने पक्का छ।

घर बनाउने समग्र प्रक्रिया शरीरमा कुनै रोग लाग्नु र त्यसको निदान गरेजस्तै भएको बासुकला बताउँछन्।

जसरी अर्को व्यक्तिलाई लागेको लक्षण र रोगसँग तुलना गरेर आफू हचुवा औषधि खानु हुँदैन, त्यसरी नै अर्काको सल्लाहको भर परेर घर डिजाइन गर्नुहुँदैन।

‘आर्किटेक्ट र सिभिल इञ्जिनियरको सुविधा एउटै ठाउँमा पाइने कन्सल्टेन्सी रोज्नुपर्छ। यी दुवै पक्षले नक्सा र डिजाइनमा काम गर्दा घरको अनुमानित लागत निस्किन्छ,’ उनले भने, ‘सकेसम्म इन्टेरियर थ्रिडी डिजाइन गर्दा राम्रो हुन्छ।’ 

इन्टेरियर थ्रिडी डिजाइनले बन्न लागेको घरको चार कुना, भित्र–बाहिर, भान्सा, शौचालय, बेडरूम, बैठक कोठा लगायतको बन्दोबस्त देखाइदिन्छ। फर्निचर र रङ संयोजनसमेत समावेश हुने भएकाले भोलिका दिनमा थप दुबिधा हुँदैन।

आफ्नो घर यस्तो बन्दैछ है भन्ने थाहा पाएपछि बनाउन पनि रमाइलो लाग्छ। के–के बन्यो, के–के बनेन आफैंले हेर्न सकिन्छ। साथी वा आफन्तलाई देखाउन पनि पाइयो।

बाहिरी मुलुकमा धेरै पहिलेदेखि प्रयोगमा आइरहेको डिजाइन, थ्रिडी डिजाइन, इन्टेरियर थ्रिडी डिजाइन हामीकहाँ भर्खर-भर्खर मात्र अभ्यास हुँदैछ। यसमा कति खर्च लाग्छ वा कसले काम गरिदिन्छ भन्ने अन्यौल कायम छ।

निर्माण कम्पनीहरूका अनुसार ग्राहकले बनाउन चाहेको घरको किसिममा यसको लागत निर्धारण हुन्छ।

सामान्य परिवारका लागि चार–पाँच आनामा बनाइने घरको डिजाइन बढीमा दुई लाख रूपैयाँसम्ममा सकिने बासुकलाले जानकारी दिए।

कम्पनीहरूले इन्टेरियर–एक्सटेरियर (बाहिरी-भित्री) डिजाइनसहितको थ्रिडी निर्माणमा थप प्रतिवर्गफुट सय रूपैयाँसम्म शुल्क लिने गरेका छन्। यस हिसाबले चार आना जग्गामा बन्ने साढे दुई तले घरका लागि करिब तीन लाख रूपैयाँ डिजाइनमा छुट्याउनुपर्ने उनी बताउँछन्।

नक्सा वा डिजाइन राम्रो नभए के हुन्छ? 

नक्सा-डिजाइन राम्रो नभए भर्‍याङ, शौचालय, भित्री कोठा अँध्यारो हुने, हावा आउने दिशातिर झ्याल नहुनेजस्ता समस्या देखिने बासुकला बताउँछन्।

उनका अनुसार कतिपय अवस्थामा सडकभन्दा होचो स्थानमा घर बन्ने पनि हुनसक्छ। यसो हुन नदिन डिजाइन कम्पनीले जग्गा अवलोकन गरेको र घरधनीसँग राम्ररी परामर्श गरेको हुनुपर्छ। 

‘कतिपयलाई आफ्नो घर अरूकोभन्दा अलग होस् भन्ने चाहना हुन्छ। तर सधैं यो सम्भव हुँदैन। उदाहरणका लागि, भक्तपुरजस्तो पुरानो सहरको मुख्य भागमा अलग देखाउने घर बनाउन सकिँदैन,’ उनले भने, ‘भक्तपुरको नियमअनुसार समुदायमा आफ्नो दायित्व सम्झेर मिल्दोजुल्दो डिजाइनकै घर बनाउनुपर्ने हुन्छ। यो कुरा डिजाइन गरिदिने र घरधनी दुवैले बुझ्नुपर्छ।’ 

एकपटक नक्सा र डिजाइन फाइनल गरेपछि फेरि–फेरि त्यसमा काम गर्नु हुँदैन। यसो गर्दा झन् धेरै अलमल हुन सक्छ। राम्रो घर बनोस् भन्ने हो भने सुरूमै सबै छलफल गरेर नक्सा-डिजाइन निधो गर्नुपर्ने बासुकला बताउँछन्।


Spread the love