गाई मार्नेलाई कारबाही गर्न माग

Spread the love

भरतपुर । नेपालगञ्जबाट दैलेख लगेको गाईलाई सुर्खेतमा भीरबाट खसालेर मारेको भन्दै विश्व हिन्दु महासंघ नेपालले दोषीको पहिचान गरी तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयलाई ज्ञापन पत्रसमेत बुझाइएको छ । नेपालको राष्ट्रिय जनावरमाथि आक्रमण भएको भन्दै गाईको हत्या गर्ने र गराउनेलाई तत्काल कानुनी कठघरामा उभ्याएर कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

‘सुखी तथा निरोगी भएर बाँच्नका लागि गौ संरक्षण गर्नु आवश्यक छ’, विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य टंकनाथ पौडेलले भने, ‘तर, सुर्खेतमा गौमाताको हत्या गर्ने काम भयो, यो घटनाले हिन्दुधर्ममाथि प्रहार भएको हामीले महसुस गरेका छौँ ।’ सरकारले दोषी पत्ता लगाएर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

‘यदि सरकारले कारबाही गर्न सक्दैन भने हामी देशभरका हिन्दु धर्मावलम्बी आन्दोलनमा उत्रन बाध्य हुनेछौँ’, उनले भने, ‘किनकि ०६२÷६३ को आन्दोलनपछि हिन्दुधर्मप्रति पटकपटक प्रहार भइरहेको छ’, उनले थपे, ‘अब हामी सहेर बस्नेवाला छैनौँ ।’ उनले तत्काल कारबाही नगरेको खण्डमा विश्व हिन्दु महासंघ नेपालले भदौ २७ गते बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय भइसकेको समेत चेतावनी दिए ।

गाईको सेवा गरेमा मात्रै पनि धर्म प्राप्त गर्न सकिन्छ भन्ने हिन्दुधर्मप्रति आस्था राख्नेहरुको बुझाइ छ । ‘त्यसैले गाईलाई मार्नु भनेको महापाप हो’, वागेश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमका सचिव यदुनाथ पोखरेलले भने, ‘त्यसैले गाई मार्नेलाई छूट दिँदै गयो भने भोलि एकदिन नेपालबाट हिन्दुधर्म नै विलय भएर जान सक्छ, यस विषयमा सरकारले ध्यान पु¥याउन जरूरी छ ।’

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनुपूर्व वागेश्वरी आध्यात्मिक परिषद्, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, श्रीराम वैदिक संस्कृत गुरूकुलम जयमंगला, वैदिक सनातन समिति, ब्राह्मण समाज, बृहत् आध्यात्मिक परिषद् मृगस्थलीलगायतका विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा विरोध ¥यालीसमेत निकालिएको थियो ।

भरतपुरको चौबीसकोठीबाट निस्केको ¥याली जिल्ला प्रहरी कार्यालय, मालपोतचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि टुंगिएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले भने उक्त घटनाप्रति सरकारले ध्यानाकर्षण जनाइसकेको भन्दै कारबाही हुने आश्वासन दिए । ‘गृह मन्त्रालयमार्फत उक्त घटनाबारे छानबिन समितिसमेत गठन भइसकेकोले सरकार यस विषयमा गम्भीर भएको छ’, उनले भने ।

यही भदौ १३ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट आठवटा ट्रकमा हालेर दैलेखको श्रीस्थान मन्दिरतर्फ लैँजाँदै गरेका करिब ३०० गाईगोरूलाई बीच बाटोमै सुर्खेतमा भीरबाट खसालिएपछि २३ वटा गाईगोरू मरेका थिए भने कयौँ घाइते भएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै दैलेखबाट माग आएपछि उतै पठाएको बताएको छ । तर, दैलेखस्थित श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने आफूहरुले गाईगोरू नमगाएको दाबी गरेको छ । यस विषयमा गृह मन्त्रालयले छानबिन समितिसमेत गठन गरिसकेको जनाएको छ ।

फोटो क्याप्सन ः प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै ।


Spread the love