खनाल-नेपाल पक्षीय सांसदको भेला सुरू

Spread the love

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसदको भेला सुरू भएको छ। सिंहदरबारस्थित लेखा समितिको हलमा शुक्रबार अपरान्ह सांसदहरू भेला भएका हुन्।

भेलामा राष्ट्रपति विद्या भण्डारीले सरकार बनाउन दिएको समय सीमाबारे छलफल हुने बताइएको छ। माधव नेपालसहित २० जनाभन्दा बढी सांसद सिंहदरबार पुगेका छन्।

राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन्।

यस्तै आजै सिंहदरबारमा बसेको जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफूहरु नयाँ सरकार गठनको दौडमा नलाग्ने बताइसकेका छन्।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आफु पक्षिय सांसदहरुको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष महन्थ ठाकुरले आफूहरू विगतदेखि तटस्थ बस्दै आएको र अहिलेको अवस्था पनि त्यही रहेको बताएका हुन्। ‘हामी त शुरु देखिनै तटस्थ बस्दैँ आएका छौँ । अहिले पनि हाम्रो अवस्था त्यही छ । तर हामी उनको विरोधमा छैनौं । हाम्रो फ्रेन्ड्ली सम्बन्ध सबै पार्टीसँग छ । प्रधानमन्त्री सँग पनि छ । प्रधानमन्त्रीको सरकारप्रति पनि त्यही हो,’ ठाकुरले भने।

त्यसअघि आजै बिहान देउवा निवास बुढानिलकण्ठमा भएको नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको असंवैधानिक कदमलाई परास्त गर्न अगाडि बढ्ने निष्कर्ष निकालेको थियो।

बैठकले पछिल्लो पटक पनि प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि घोर जालसाझी गर्ने काम भएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध एकजुट भएर प्रतिकार गर्ने निर्णय गरेको हो। बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमाथि जालसाझी गर्ने काम भएको निष्कर्षका साथ त्यस विरुद्ध एकजुट हुने निर्णय भएको बताएका थिए।

आजै केही बेरमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको भट्टराई-यादव पक्ष र एमालेको खनाल-नेपाल समूहको संयुक्त बैठक बस्दैछ। 


Spread the love