कोरोनाभाइरस कहाँबाट फैलियो पत्ता लगाउन बाइडेनले दिए गुप्तचरहरूलाई निर्देशन

Spread the love

अमेरिकी राष्ट्रपति जो बाइडेनले १७ महिनादेखि संसारमा महामारी फैलाइरहेको कोरोनाभाइरसको उद्‍गम थलो पत्ता लगाउन गुप्तचर संस्थाहरूलाई निर्देशन दिएका छन्।

द न्युयोर्क टाइम्सका अनुसार केही हप्ताअघि विभिन्न गुप्तचर संस्थाहरूले बुझाएका प्रतिवेदनमा भाइरसको उत्पत्तिबारे एकमत नभएपछि राष्ट्रपति बाइडेनले बुधबार फेरि अनुसन्धान गर्न निर्देशन दिएका हुन्। अमेरिका कोरोनाले सबैभन्दा बढी नागरिकले ज्यान गुमाएको मुलुक हो। त्यहाँ अहिलेसम्म ६ लाख बढी मानिसको मृत्यु भइसकेको छ।  

बाइडेनले अनुसन्धानको रिपोर्ट ९० दिनभित्र आफूलाई बुझाउन पनि भनेका छन्।

‘मैले गुप्तचर संस्थाहरूलाई ठोस निष्कर्षमा पुग्नका लागि सूचनाको संकलन र विश्लेषणमा अहिलेको प्रयासलाई दोब्बर पार्न भनेको छु,’ बाइडेनले भने।  

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिबारे अहिलेसम्म दुई धारणा छन्। पहिलो, यो वुहानको एउटा प्रयोगशालाबाट लिक भएर मानिसमा सरेको हो। दोस्रो, वुहानस्थित जनावरको बिक्री हुने बजारबाट सरेकाले यो जंगली जनावरबाट मानिसमा सरेको हो।

यसअघि विश्व स्वास्थ्य संगठन  (डब्लुएचओ) ले अनुसन्धान गरेर वुहानको प्रयोगशालाबाट भाइरस लिक भएको कुरामा सत्यता नरहेको बताएको थियो। तर चिनियाँ वैज्ञानिकहरूसँग मिलेर गरिएको भएइकाले डब्लुएचओको उक्त अनुसन्धानलाई धेरैले शंकाको घेरामा राखेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार कोरोनाभाइरस चीनको प्रयोगशालाबाट बाहिरिएको दाबी गर्ने गरेका थिए।  


Spread the love