काठमाडौं महानगरपालिकाको बजेट पारित

Spread the love

आर्थिक वर्ष २०७८/७९ को काठमाडौं महानगरको बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पारित भएको भएको छ। नगरसभाको नवौँ अधिवेशनको छैटौँ बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पारित गरेको हो। 

असार १० गते बसेको नगरसभाको नवौँ अधिवेशनको चौथो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका आर्थिक विधेयक, २०७८ पेस गरेका थिए। सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट पेस गरेकी थिइन्। 

उनले कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन्। कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर–मैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धनजस्ता उद्देश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सर्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिए। 

कुल बजेट मध्ये सामाजिक सुरक्षाभत्ता, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु र आयोजनाको खर्च वापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ। १६ अर्ब ८ करोड ७० लाख १२ हजार काठमाडौँ महानगरपालिकाको संचितकोष मार्फत हुने खर्च हो।  महानगरपालिकाले नै दिएको जानकारी अनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त शसर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि आदि) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ। निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ।
  
आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ। ‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले भने, ‘अन्य व्यवसायहरुलाई २० प्रतिशत र शैलुन, व्युटिपार्रलर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ।’ 

आजको बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ।  बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय जस्ता विषय समावेश गरिएको छ।


त्यसैगरी प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरू, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण जस्ता विषय पनि समावेश गरिएको छ। त्यस्तै मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन,उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ।


Spread the love