कमिसनको लोभ : डाक्टरको अनावश्यक प्रेस्क्रिप्सनले प्रत्येक घर औषधिको डम्पिङ बन्दै
‘क्याल्सियम’ जस्तो ‘वजनदार’ शब्द सुनेपछि आफ्नो शरीरमा ठूलै समस्या भएको रहेछ भनेर नियमित औषधि खाइन् । फेरि समस्या आएको खण्डमा उनी अस्पताल अनिवार्य आउनुपर्ने भनियो ।
चिकित्सकले क्याल्सियम पाइने खानेकुरा र कम हुने व्यायामका बारेमा जानकारी गराएनन्, जुन कुराको जानकारी उनलाई बाँचुन्जेल आवश्यक पर्छ । हाम्रो हड्डीलाई सबैभन्दा दरो पार्ने एक महत्त्वपूर्ण उपायए भनेको नियमित व्यायाम र स्वस्थ खानेकुरा हो । न त यो कुराको बारेमा दुर्गालाई चिकित्सकले भने न त सागपात, ब्राउन राइस, चोकरसहितको आँटा, कोदो, फापर, मकै, बोक्रासहितका गेडागुडी, दाल, तिल, फलफूल, सलाद, तरकारीहरुबाट पनि प्रशस्त क्याल्सियम प्राप्त हुन्छ नै भने । मात्रै दैनिक औषधि खानुस् भने ।
दुर्गा एक उदाहरण मात्रै हुन् ।
यसरी औषधि खानु नै नपर्ने र घरायसी सन्तुलित भोजनबाट पनि निको हुन सक्ने रोगका बारेमा चिकित्सकले नागरिकलाई जानकारी गराउनुपर्ने हो तर यस्ता कुरा भन्ने गरेको हामीले निकै कम पाउँछौँ । प्रोटिन कम भएका बिरामीलाई प्रोटिन पाइने खानेकुराको बारेमा जानकारी दिनुको सट्टा प्रोटिन पाउडर दिने काम भइरहेको छ ।
कतिलाई आवश्यक नै परेर प्रेस्क्रिप्सन गरे पनि कतिपयलाई भने चिकित्सक र औषधि व्यवसायी बीच कमिसनको लेनदेनमा यस्तो भएको पाइएको छ । यसरी कमिसन पाउने लोभमा नागरिकलाई अनावश्यक औषधि प्रस्क्रिप्सन गर्दा नागरिकको खर्चसँगै, सबै रोगको उपचार औषधि नै रहेछ भन्ने भ्रम समाजमा पर्ने देखिन्छ ।
‘औषधि कम्पनीले डाक्टर र व्यवसायीलाई कमिसन दिएर धेरै औषधि विकाउने काम नेपाल र भारतमा भएको देखिन्छ । डाक्टरले बिरामी जाँच्ने र फार्मेसी पसल नै तोकेर औषधि लिन पठाउने गर्छन् । यसो गरेबापत डाक्टरले कमिसन पाउँछन्,’ एक औषधि व्यवसायी भन्छन् । जसले गर्दा डाक्टरले बिरामीलाई लेख्नु नै नपर्ने लेखिरहेका हुन्छन् । जस्तै; त्यो औषधिको सट्टामा घरमा नै खानेकुरालाई ख्याल गर्ने हो भने औषधि नै खानुपर्दैन । तर खानै नपर्ने त्यस्ता अनावश्यक औषधि त्यसमा पनि धेरै मात्रामा भिटामिन प्रेस्क्रिप्सन लेख्दै आइरहेको उनी बताउँछन् ।
औषधिको डम्पिङ साइट घर
कमिसनको नाममा अनावश्यक औषधि प्रेस्क्रिप्सन गर्दा घर औषधिको डम्पिङ साइट बनेको देखिन्छ । कुनै पनि घरमा हामी जाँदा औषधि यत्रतत्र छरिएका देख्छौँ । औषधि नभएका घर पाउनलाई नै गाह्रो भइसकेको अवस्था छ ।
खानु नै नपर्ने औषधि नागरिकलाई पनि डाक्टरले प्रेस्क्रिप्सन गर्ने गरेको देखिन्छ । ‘हामीले यो औषधि खान आवश्यक छैन भन्दा कतिले राम्रो कुरा गर्नुभयो भन्ने गरे पनि धेरैले डाक्टरले लेखेको कुरा दिनुस् न तपाईंको किन जान्ने बन्नुहुन्छ ?,’ भन्ने प्रतिक्रिया आउने गरेको फार्मेसी सङ्घका महासचिव युवराज भुसाल बताउँछन् । यता, चिकित्सकले दिएको सबै औषधि बिरामीले नखाँदा घर औषधि फाल्ने ठाउँ जस्तै बन्न थालेको छ ।
डाक्टरको प्रेस्क्रिप्सनलाई कतिको विश्वास गर्ने ?
यसरी अनावश्यक औषधि प्रेस्क्रिप्सन गर्दा नागरिकले डाक्टरलाई गरेको विश्वासलाई भने डाक्टर आफैले गलत प्रयोग गरेको पाइन्छ । जुन कुराले गर्दा औषधि उत्पादक कम्पनी, व्यवसायी र चिकित्सकभन्दा पनि बिरामी नै मारमा परेको देखिन्छ । आवश्यकता नभएको औषधि किन्दा नागरिकलाई आर्थिक र शारीरिक दुवै कुरामा घाटा लाग्छ । महासचिव भुसाल भन्छन्, ‘एउटा बिरामीलाई डाक्टरले प्रोटिन पाउडरको प्रेस्क्रिप्सन गर्छ तर फलफूलको मात्रा बढाउनु अथवा दिनमा एक गिलास दूध खानु भन्ने चलन छैन । यसरी भन्ने हो भने बाहिरको प्रोटिन सप्लिमेन्ट खान आवश्यक छैन । तर यस्ता स–साना कुरामा पनि चिकित्सकले ध्यान नदिँदा नागरिकको पैसा खेर गएको देखिन्छ ।’
‘एक बट्टा प्रोटिन पाउडर खानु भनेर बिरामीलाई भनिन्छ तर यो किन्ने बेलामा चाख्न पाइन्न । त्यो बिरामीलाई प्रोटिन पाउडरको गन्ध नै मन परेन भने एक हजार पर्ने प्रोटिन पाउडर र पैसा दुवै खेर जाने देखिन्छ,’ एक फार्मेसी सञ्चालकले सोचमग्न हुँदै भने । रगतमा आइरन र हेमोग्लोबिन बढाउन अनार, नरिवल, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी खाँदा हुन्छ । यस्ता खानेकुरालाई प्रोत्साहन गर्नुको सट्टा सधँै आइरन चक्की किन बेचिराख्ने भन्ने प्रश्न पनि उब्जिएको छ ।
तौल घटाउने औषधि दिने कि तौल घटाउन एक्सरसाइज गर्नुस् भन्ने जस्ता कुरामा पनि चिकित्सकको ठूलो भूमिका हुन्छ ।
अहिलेको स्वास्थ्य सेवामा नागरिकलाई मार्न सिकाउनेभन्दा पनि माछा मारेर दिने अर्थात् औषधिको बारेमा जानकारी गराउनेभन्दा पनि औषधि मात्रै दिने काम धेरै भइरहेको देखिन्छ । कुराकानीका क्रममा एक फार्मेसी सञ्चालकले नागरिकले डाक्टरले भनेको कुरा आँखा चिम्लेर विश्वास गर्ने गरेको बताए ।
फार्मेसी सङ्घका केन्द्र्रीय महासचिव युवराज भुसाल भन्छन्, ‘ढाड दुखेको छ भने कुनै डाक्टरले तपाईंले यो कम्पनीको कुर्सी, सवारी साधान प्रयोग गर्नु भन्ने हो भने पनि नागरिकले मान्ने अवस्थामा आइसकेको छ । ‘मार्केटिङ यसरी हाबी हुन थाल्यो कि डाक्टरहरुलाई विभिन्न कम्पनीले गलत प्रयोग गर्न खोजेको जस्तो पनि देखिन्छ,’ उनको भनाई छ ।
उपचारभन्दा पनि चिकित्सक कमिसनमा जान थालेको खण्डमा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा प्रश्न उठ्न सक्ने देखिन्छ । फार्मेसी सङ्घका केन्द्र्रीय महासचिव युवराज भुसाल यसरी हरेक क्षेत्रलाई गलत तरिकाले प्रयोग गर्दा समाज गलतमा बाटोमा जाने सङ्केत देखिएको बताउँछन् । यस्ता कुराले भोलि समाजमा ठूलो दुर्घटना हुनेहुँदा समयमा सचेत हुनुपर्ने देखिन्छ । यता स्वास्थ्य विज्ञहरुले भने चिकित्सक नितान्त सेवामा लाग्नुपर्ने र नागरिकलाई कमिसनको लोभमा अनावश्यक औषधि दिन नहुने बताउँदै आइरहेका छन् ।
यस्ता कुराको नियन्त्रण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट नै गर्नुपर्नै देखिन्छ ।