इजरायल-प्यालेस्टाइनीबीच तनाव बढ्दो, रकेट हानाहान

Spread the love

इजरायलमा पछिल्ला केही दिनदेखि बढिरहेको तनाव रकेट हानहानमा पुगेको छ।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार प्यालेस्टाइनी विद्रोही समूहले जेरूसेलमनजिकै रकेट आक्रमण गरेको थियो। जवाफमा इजरायलले गरेको हवाई आक्रमण परी कम्तीमा २० जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

इजरायलको सेनाले गाजाका विद्रोही समूह, रकेट आक्रमणकारी र सैनिक पोष्टहरूमा आक्रमण गरिएको जनाएको छ। उनीहरूले ‘रेड लाइन’ पार गरेकाले आक्रमण गर्नु परेको इजरायली सेनाको भनाइ छ।

इजरायली सेनाको हवाइ आक्रमण सोमबार रातिसम्म जारी थियो। सेनाले प्यालेस्टाइनीहरूले १५० रकेट प्रहार गरेको र तीमध्ये केहीलाई आकाशमै ध्वस्त पारिएको बताएको छ।

सोमबार बिहान जेरूसेलममा रहेको अल अक्सा मस्जिदमा तनाव भएको थियो। उक्त ठाउँ इजरायली र प्यालेस्टाइनीबीचको विवादको एउटा केन्द्र हो। यहुदीले यसलाई ‘टेम्पल माउन्ट’ भन्छन् भने मुस्लिमहरू पनि धार्मिक केन्द्र ठान्छन्।

उक्त ठाउँमा भएको झडपमा ३ सय प्यालेस्टाइनी र २१ प्रहरी घाइते भएको दुबै पक्षले दाबी गरेका छन्।

सन् १९६७ मा अरब-इजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने ‘जेरूसेलम डे’को मनाउन लाग्दा पछिल्लो तनाव सुरू भएको हो।

जेरूसेलम डेमा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन्। तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो।

गाजालाई नियन्त्रणमा लिएको विद्रोही समूह हमासले सोमबार साँझ ६ बजेसम्म अल अक्सा मस्जिद र शेख जराहबाट इजरायली सैनिक फिर्ता गर्न अल्टिमेटम दिएको थियो।  उक्त अल्टिमेटम सकिएको केही मिनेटमै हमासले इजरायलमाथि रकेट हानेको हो।

शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो।


Spread the love