आम्दानीको अर्को स्रोत : पोस्टबाट पैसा

Spread the love

कलाकारहरूले काम पाइरहेका छन्, कलाकार मात्र होइन यो सोसल साइटमा राम्रो फलोअलर हुने आमसर्वसाधारणले समेत घर बसी–बसी पैसा कमाउने सक्ने प्लेटफर्मका रूपमा विकसित भैरहेको छ ।

विकास खतिवडा, प्रमुख, इनोभेटिभ इन्टरटेन्मेन्ट

अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम प्रोफाइल फलो गर्नुभएको छ ? स्वस्तिमाको भेरिफाइड इन्स्टा प्रोफाइललाई हालसम्म ७ लाखभन्दा बढीले फलो गरेका छन् । विभिन्न नेपाली चलचित्रमा विविध प्रकारका भूमिका निर्वाह गरेर दर्शकको मन जितिरहेकी अभिनेत्री खड्काले लामो समयदेखि आफ्नो इन्स्टाग्राममार्फत पनि राम्रो आम्दानी गरिरहेकी छिन् भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । वास्तविकता के छ भने अभिनेत्री खड्काले आफू आबद्ध व्यवसायिक उत्पादनलाई इन्स्टाग्राममा पोस्ट गरेबापत लाखौं रुपैयाँ पारिश्रमिक पाइरहेकी छिन् । अभिनेत्री खड्काले इन्स्टाग्रामको आफ्नो परिचय (बायो) मै आफूलाई सानिमा लाइफ, ओप्पोनेपाल, बोता म:म, पल्सोनिकनेपाल, टिभिएस तथा डिसहोमको ‘ब्रान्ड एम्बेसडर’ भएको उल्लेख गरेकी छिन् । यी सबै उत्पादनले उनलाई ब्रान्ड एम्बेसडर भएबापत राम्रो पारिश्रमिक दिएका छन् भने त्यसबापत स्वस्तिमाले आफ्नो इन्स्टाग्राममा ती उत्पादनका प्रचार सामग्री पोस्ट गरिरहेकी हुन्छिन् । 

केही साताअघि मात्र स्वस्तिमाले अभिनेता प्रदीप खड्कासँग टिभिएस स्कुटरको प्रचार–प्रसार थालेकी छिन् । त्यससँगै स्वस्तिमाले कोकाकोलाको नयाँ उत्पादन जिग्रीको तस्बिर तथा भिडियो प्रचार सामग्री पनि आफ्नो इन्स्टा प्रोफाइलमा अपलोड गरिरहेकी छिन् । ‘जिग्री यता पनि छैन, जिग्री उता पनि छैन, यो भिडियोमा कतै देख्नुभयो ? कताचाहिं छ ?’ भन्ने संवादसहितको स्वस्तिमाको उक्त टिभिसी लाखौं पटक हेरिएको छ । पछिल्लो समय उनी कोकोकोलाको जिग्री तथा टिभिएसको स्कुटरलाई इन्स्टाग्राममार्फत बजार प्रवद्र्धन गरिरहेकी छिन् । 

अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा ८ लाख ७३ हजार भन्दा बढीले फलो गरेका छन् । प्रियंका फलोअर्सका दृष्टिकोणले स्वस्तिमाभन्दा अगाडि छिन् । यद्यपि डिजिटल एडको प्रसंगमा भने उनी स्वस्तिमाभन्दा पछाडि छिन् । प्रियंकाले पनि केही अघि कोकाकोलाको जिग्रीको विज्ञापन इन्स्टाग्राममार्फत नै गरेकी थिइन् । प्रियंकाले कोकोकालाको जिग्रीको प्रवद्र्धन गरेको पोस्टले करिब २ लाखजति लाइक पाएको छ भने उक्त भिडियो लाखौं पटक हेरिएको छ । स्वस्तिमाले झैं प्रियंकाले पनि विभिन्न उत्पादनसहित होटल तथा रिसोर्टका प्रचारात्मक सामग्रीहरूसमेत फेसबुकको भेरिफाइड पेज तथा इन्स्टाग्राममा अपलोड गरिरहेकी हुन्छिन् । 

अभिनेत्री केकी अधिकारीलाई इन्स्टाग्राममा ४ लाख ३४ हजार भन्दा बढीले फलो गरेका छन् । स्वस्तिमा र प्रियंकापछि केकी पनि विभिन्न प्रचारात्मक सामग्री आफ्नो इन्स्टाग्राम तथा भेरिफाइड फेसबुक पेजबाट अपलोड गरिरहन्छिन् । एनआईसी एसिया बैंककी ब्रान्ड एम्बेसडर केकीले बेला–बेलामा आफ्नो फेसबुक पेजमार्फत उक्त बैंकका टिभिसीहरू अपलोड गरिरहेकी हुन्छिन् भने इन्स्टाग्राममा पनि बाथवेयर प्रोडक्ट, विस्पर अल्ट्रा जस्ता उत्पादनको प्रवद्र्धन गरिरहेकी हुन्छिन् । 

अभिनेत्री तथा भिडियो जक्की सन्ध्या केसी पनि आफ्नो इन्स्टाग्राम प्रोफाइलमार्फत विभिन्न व्यवसायिक उत्पादनहरूको बजार प्रवद्र्धन गरिरहेकी छिन् । त्यसक्रममा उनले वल्र्डलिंक, लेक्मे, दराज अनलाइन सप, भिभो मोबाइल आदिका प्रचारात्मक पोस्टहरू इन्स्टाग्राममार्फत अपलोड गरिसकेकी छिन् । एक अनौपचारिक जानकारीअनुसार सन्ध्याले इन्स्टाग्रामका पोस्टहरूबाट राम्रै पारिश्रमिक लिने गरेकी छिन् । यद्यपि, डिजिटल विज्ञापनमार्फत कलाकारले कति पारिश्रमिक पाउँछन् भन्ने कुरालाई सकेसम्म गोप्य नै राख्ने प्रयास गरिन्छ । 

स्वस्तिमा, प्रियंका तथा केकी सामाजिक सञ्जालमार्फत विभिन्न उत्पादनको बजार प्रवद्र्धन गर्ने कार्यलाई ‘साइड जब’ बनाउने नेपाली सेलिब्रेटीका प्रतिनिधि पात्र हुन् । पछिल्लो केही वर्षयता फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक आदिले सेलिब्रेटीदेखि आमसर्वसाधारणलाई आकर्षित गरिरहेका बेला विभिन्न व्यवसायिक घरानाहरूले धेरै भन्दा धेरै लाइक, कमेन्ट आउने तथा बहुसंख्यक प्रयोगकर्तासम्म पुग्न सफल सेलिब्रेटीहरूलाई आफ्ना उत्पादनको प्रचार गराउने माध्यम बनाउन थालेका छन् ।

सेलिब्रेटीहरूले समेत त्यस्ता उत्पादनको प्रवद्र्धन गरेर लाखौं रुपैयाँ पारिश्रमिकस्वरूप पाउन थालेपछि अहिले यो विश्वव्यापी ट्ेरेन्डले नेपाली बजारमा समेत राम्रो स्थान बनाउन थालेको छ । हलिउड तथा बलिउडमा ट्ेरन्डमा रहेको डिजिटल विज्ञापनको बजारले अहिले नेपालमा समेत लोकप्रियता पाएको हो । 

इनोभेटिभ इन्टरटेन्मेन्टका प्रमुख तथा ग्ल्यामर फोटोग्राफर विकास खतिवडाका अनुसार पछिल्लो समय विभिन्न उत्पादकले नेपाली सेलिब्रेटीलाई ब्रान्ड एम्बेसडरका रूपमा मनोनयन गरेर उनीहरूकै सामाजिक सञ्जालमार्फत बजार प्रवद्र्धन गर्ने प्रचलन लोकप्रिय भैरहेको छ । अभिनेत्री स्वस्तिमालाई ओप्पोले एक वर्षका लागि १५ लाखमा अनुबन्ध गरेको जानकारी दिँदै खतिवडा भन्छन्— ‘डिजिटल पोस्टका लागि कलाकारले कति पारिश्रमिक लिन्छन् भन्ने कुरा ठ्याक्कै भन्न सकिंदैन । एकपटक पोस्ट गरेको कतिदेखि एक वर्षसम्म कतिवटा पोस्ट गरेको कति रुपैयाँ भन्ने कुरा आपसी समझदारीमा भर पर्छ ।’ यद्यपि, डिजिटल विज्ञापनको प्रचलन लोकप्रिय महिला कलाकार तथा मोडलहरूका लागि मात्र होइन सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम तथा टिकटक) मा राम्रो फलोअर भएका सर्वसाधारणहरूका लागिसमेत रोजगारीको राम्रो माध्यम बनिरहेको खतिवडाको भनाइ छ । 

अहिले सामाजिक सञ्जालमार्फत नै स्टार बन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दो छ । रेश्मा घिमिरे नर्सिङ पेसामा आबद्ध भए पनि उनी टिकटक क्विनका रूपमा लोकप्रिय छिन् । टिकटकमा राम्रा भिडियो बनाएकै आधारमा उनले लाखौं प्रशंसक कमाइसकेकी छिन् । रेश्मालाई टिकटकमा फलो गर्नेहरूको संख्या लाखौं छ । उनको त्यही लोकप्रियतालाई अहिले विभिन्न उत्पादकले सामाजिक सञ्जालमार्फत सदुपयोग गरिरहेका छन् । रेश्मा अहिले विभिन्न म्युजिक भिडियोदेखि व्यवसायिक उत्पादनका विज्ञापनहरूमा समेत सक्रिय छिन् भने निकट भविष्यमै नेपाली चलचित्रमा समेत आउने सम्भावना छ । 

टिकटकबाटै लोकप्रिय भएका जुम्ल्याहा दिदी–बहिनीहरू प्रिज्मा तथा प्रिन्सी खतिवडा पनि अचेल सामाजिक सञ्जालमार्फत नै डिजिटल विज्ञापनमा सक्रिय भैसकेका छन् । उनीहरूलाई पनि विभिन्न उत्पादकले बजार प्रवद्र्धनका लागि राम्रो पारिश्रमिक दिएर प्रस्तुत गर्न थालिसकेका छन् । त्यसबाहेक अन्तर्राष्ट्रिय मोडलका रूपमा स्थापित सबिता कार्की, आस्था पोखरेल, मुना गौचन आदि मोडलहरूसमेत डिजिटल विज्ञापनका लागि प्रख्यात छन् । 

इनोभेटिभ इन्टरटेन्मेन्टका प्रमुख खतिवडा भन्छन्— ‘रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा पनि विज्ञापन दिने उत्पादकहरूको संख्या घटेको छैन, यद्यपि अधिकांश युवा सामाजिक सञ्जालमा झुम्मिने भएकाले व्यापारिक घरानाहरूले सेलिब्रेटीमार्फत डिटिजल विज्ञापनमा लगानी गर्न थालेका हुन् । यसबाट एउटै पोस्ट छोटो समयमा लाखौं व्यक्तिसम्म पुग्ने, तुरुन्त प्रतिक्रिया आउने तथा त्यसले सर्वसाधारणलाई छिट्टै प्रभाव पार्ने भएकाले डिजिटल विज्ञापनको क्रेज बढेको हो ।’ 

खतिवडाले सेलिब्रेटीहरूले कुनै पनि उत्पादनका लागि सम्झौता गर्दा पोस्ट अनुसार कम्तीमा १ लाखदेखि १५ लाख रुपैयाँसम्म पारिश्रमिक लिइरहेको बताए । खतिवडा डिजिटल विज्ञापनको ट्ेरन्डलाई सकारात्मक रूपले लिनुपर्ने कुरा बताउँदै भन्छन्— ‘कलाकारहरूले काम पाइरहेका छन्, कलाकार मात्र होइन यो सोसल साइटमा राम्रो फलोअलर हुने आमसर्वसाधारणले समेत घर बसी–बसी पैसा कमाउने सक्ने प्लेटफर्मका रूपमा विकसित भैरहेको छ ।’ खतिवडाले हालसम्म स्वस्तिमालाई ओप्पो, प्रियंकालाई सुबिसु नेट, महालक्ष्मी केवल जस्ता उत्पादनका विज्ञापनमा काम गराइसकेका छन् । 

महँगो शुल्क तिर्नु नपर्ने, लक्षित समूहसम्म तुरुन्तै पुग्ने अनि प्रभावकारी समेत हुने भएकाले अचेल सानादेखि ठूला व्यापारिक घरानाहरूले डिजिटल विज्ञापनमा जोड दिइरहेको केही विज्ञापन व्यवसायीको धारणा छ । 

विज्ञापन व्यवसायीहरूका अनुसार यस प्रकारको विज्ञापनलाई ‘इन्फ्लुएन्सर मार्केटिङ’ भनिन्छ । एक विज्ञापन व्यवसायीका अनुसार इन्फ्लुएन्सर मार्केटिङ विज्ञापनको सबैभन्दा पछिल्लो स्वरूप हो । यो स्वरूपमा विभिन्न व्यवसायिक उत्पादन सोझै ग्राहकसम्म पुग्न सक्छन् । यद्यपि यस्ता विज्ञापन कुनै पनि ब्रान्डको ब्रान्डिङमा मात्र सहयोगी हुन्छन् । यस्तो प्रकारको विज्ञापनमा एक प्रकारको डर समेत हुन्छ । सेलिब्रेटीहरूले गर्ने त्यस्ता पोस्टमा कहिलेकाहीं प्रतिस्पर्धी ब्रान्डहरूले समूह नै बनाएर नकारात्मक कमेन्ट गरिदिए भने त्यसले उल्टो प्रभाव पार्न सक्छ ।

विदेशमा समेत लोकप्रिय

अमेरिकी मोडल काइली जेनरले इन्स्टाग्रामका आफ्ना प्रत्येक प्रायोजित पोस्टबाट १० लाख अमेरिकी डलर कमाउँछिन् । गायिका सेलेना गोमेजले प्रत्येक पोस्टबाट ८ लाख अमेरिकी डलर कमाउँछिन् भने फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रत्येक पोस्टबाट ७ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्छन् । यी तीन जना विश्वकै सर्वाधिक उच्च पारिश्रमिक लिने सेलिब्रेटी इन्फ्लुएन्सर हुन् । एक महिनाअघि मात्र बेलायतको सामाजिक सञ्जाल म्यानेजमेन्ट कम्पनि हुपर एचक्यूले सार्वजनिक गरेको सन् २०१९ को इन्स्टाग्राम रिच लिस्टअनुसार अमेरिकी मोडल काइली जेनर पहिलो स्थानमा छिन् । यही सूचीमा भारतका विराट कोहली तथा प्रियंका चोपडासमेत छन् । अभिनेत्री प्रियंका चोपडालाई इन्स्टाग्राममा ४ करोड ४० लाख भन्दा बढीले फलो गरेका छन् । त्यसकारण प्रियंकाले इन्स्टाग्राममा पोस्ट गर्ने सामग्री ४ करोडभन्दा बढी व्यक्तिमाझ सोझै पुग्छन् । त्यसैले पनि प्रियंकाले कुनै पनि व्यापारिक उत्पादनको प्रचार गर्नुपर्‍यो भने चर्को पारिश्रमिक लिन्छिन् । हुपर एचक्यूका अनुसार प्रियंकाले एउटा इन्स्टाग्राम पोस्टको २ करोडभन्दा बढी लिन्छिन् । क्रिकेटर विराट कोहलीलाई इन्स्टाग्राममा ४ करोड ३ लाख जनाले फलो गरेका छन् । विराटले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट एउटा सामग्री पोस्ट गरेको डेढ करोड रुपैयाँसम्म लिन्छन् । हलिउड गायिका सेलेना गोमेज, मोडल किम कारदसियन, अमेरिकी खेलाडी लेब्रोन जेम्स आदि पनि इन्स्टाग्रामको एउटै पोस्टबाट करोडौं रुपैयाँ पारिश्रमिक लिने सेलिब्रेटी हुन् । 


Spread the love