अस्कर जितेका दुई राम्रा इरानी फिल्म, युट्युबमा
फुर्सदमा सिनेमा
‘अ सेपरेसन’ र ‘द सेल्सम्यान’ मार्फत् दुईपटक ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’ विधामा अस्कर अवार्ड जित्न सफल असगर फरहादी पछिल्लो समयका सर्वाधिक चर्चित इरानी निर्देशक हुन्।
मध्यमवर्गीय जोडीको सम्बन्धमा आउने उतारचढाव निर्देशक फरहादीका फिल्ममा दोहोरिने विषय हुन्। यस्ता कथालाई रहस्यमयी बनाउँदै पात्रका नैतिक र मानसिक अन्तर्द्वन्द्व चित्रण गर्न उनी सिपालु छन्। यहाँ चर्चा गरिएका दुवै फिल्ममा लेखक तथा निर्देशकका रूपमा उनले आफ्नो यो खुबी सशक्त रूपमा देखाएका छन्।
पारिवारिक-सामाजिक ड्रामालाई रोचक प्रस्तुतिका साथ देखाउन माहिर उनका ‘द पास्ट’, ‘अबाउट एली’, ‘एभ्रिबडी नोज’ पनि उत्तिकै लोकप्रिय छन्।
द सेल्सम्यान (सन् २०१६)
‘द सेल्सम्यान’ थिएटर कलाकार इमाद र रानाको कथा हो। इमान अभिनयसँगै स्कुलमा साहित्य पढाउँछन्।
कथाको सुरूमा यो दम्पत्ती बसेको घर भत्कन लागेको हुन्छ। उनीहरू नयाँ ठाउँमा बसाइँ सर्छन्। एक कलाकार साथीका माध्यमबाट उनीहरूले नयाँ फ्ल्याट त फेला पार्छन्, तर त्यहाँ एउटा झमेला हुन्छ।
उनीहरूभन्दा पहिले त्यस फ्ल्याटमा एउटी महिला बसेकी हुन्छिन्। ती महिलाका सामानले फ्ल्याटको एउटा कोठा ओगटेको हुन्छ। पटक-पटक फोन गर्दा पनि अर्को कोठा नभेटेको भन्दै ती महिला सामान लिन आउँदिनन्।
अन्तत: ती महिलाको सामान अन्तै सार्न लगाएर इमाद र राना त्यो कोठा पनि खाली गराउन सफल हुन्छन्।
एकदिन नाटक मञ्चनपछि राना चाँडै घर फर्कन्छिन्। उनी इमादलाई खानेकुरा किनेर ल्याउनू भन्छिन्।
राना घरको सरसफाइ सकेर नुहाउन बाथरुम पसेका बेला कलबेल बज्छ। उनी आफ्ना श्रीमान इमाद नै आएका होलान् भन्ठान्छिन्। ढोका खोलेर बाहिर हेर्दै नहेरी फेरि बाथरुम छिर्छिन्। तर, कलबेल बजाउने मान्छे इमाद नभएर अरू नै कोही हुन्छ।
यही गल्तीका कारण राना गम्भीर घाइते हुन्छिन्।
यो घटनापछि इमादसँगै दर्शक सोच्न थाल्छन्- रानामाथि आक्रमण गर्ने को होला?
कानुनी झमेला र सामाजिक प्रतिष्ठाका कारण राना प्रहरीमा जान चाहँदिनन्। तर, त्यस दिनको घटना सम्झेर भय र तनावले उनलाई पछ्याइरहन्छ। घरमा इमादसँग हुने कुराकानीदेखि थिएटरको काममा समेत नकारात्मक असर पर्छ।
इमादमा त झन् त्यो आक्रमण गर्ने व्यक्ति पत्ता लगाएर बदला लिने तीव्र छटपटी हुन्छ। उनको बोली र व्यवहारमा यसको प्रत्यक्ष असर देखिन थाल्छ। यसअघि घर, कक्षाकोठा र थिएटरमा शान्त देखिने इमाद अब सबैतिर झर्कोफर्को गर्न थाल्छन्।
उनको एक मात्र ध्येय जसरी पनि त्यस दिन आफ्नो घरमा आउने र आक्रमण गर्ने व्यक्ति पत्ता लगाउनु हुन्छ। उनी विस्तारै संदिग्ध मान्छेलाई पछ्याउन थाल्छन्।
कुनै सस्पेन्स कथाझैं अघि बढ्ने यो फिल्म यस्तो मोडमा आएर सकिन्छ, जसले दर्शकलाई थप प्रश्न थोपरेर जान्छ।
कथालाई एकतर्फी ढंगले नभनेर एकभन्दा बढी दृष्टिबाट हेर्नु र त्यसको अन्तमा जवाफको साटो प्रश्न छाड्नु निर्देशक फरहादीको विशेषता हो। उनले आफ्ना अघिल्ला फिल्ममा जस्तै यसमा पनि उक्त शैली कायम राखेका छन्।
अमेरिकी लेखक अर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’ लाई समेत आधार बनाइएको यो फिल्ममा फरहादीले पात्रको जीवनमा भएका घटनाक्रम र थिएटरभित्रका क्रियाकलापको गज्जब संयोजन गरेका छन्।
तेहरान सहरमा छायांकन भएको फिल्मको पटकथा र अभिनय जबर्जस्त छ। फिल्ममा इमाद बनेका अभिनेता शहाब होसैनीले कान फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। अभिनेत्री तारेनेह अलइदोस्ती धेरै दृश्यमा कम बोलेर वा मौन बसेरै आफ्नो तनावग्रस्त मनोदशा देखाउन सफल छिन्।
‘कान फिल्म फेस्टिभल’ मा तीन अवार्ड जितेको ‘द सेल्सम्यान’ सन् २०१७ मा निर्देशक फरहादीलाई दोस्रोपटक अस्कर अवार्ड दिलाएर थप चर्चामा ल्याउने फिल्म हो।https://www.youtube.com/embed/3DKWbLKGvt0
अ सेपरेसन (सन् २०११)
‘अ सेपरेसन’ को केन्द्रमा उच्च-मध्यमवर्गीय इरानी दम्पती छन्। यसमा श्रीमती सिमिन र श्रीमान् नादेरका दुई फरक प्राथमिकता छन्। फरक प्राथमिकताले उनीहरूलाई सँगै बाँच्नुभन्दा अलग बस्नु समाधान हो भन्ने विन्दुमा पुर्याउँछ।
सिमिन छोरीको पढाइ र अरू अवसरका लागि विदेश जान चाहन्छिन् भने नादेर अल्जाइमर भएका बुबाको स्याहार गर्नुपर्ने दायित्वले इरानमै बस्न बाध्य छन्। फिल्मको नामले भनेझैं यसको समाधानका लागि उनीहरू तलाक गर्ने मनस्थितिमा पुग्छन्। तलाक पाउने ठोस कारण नभएपछि सिमिन माइत बस्न थाल्छिन्।
श्रीमती हिँडेपछि नादेरले बुबाको स्याहारका लागि काम गर्ने महिला राख्छन्। ती महिलाको काम नादेरलाई चित्त बुझ्दैन। एक दिन झोंक्किएर धक्का दिँदा कामदार महिलाको गर्भ तुहिन्छ। त्यसपछि फिल्म जटिल मोडमा पुग्छ।
यसका प्रमुख पात्रहरू एकअर्काको विपक्षमा भए पनि उनीहरूमध्ये कसैलाई दोषी भन्न सकिने अवस्था छैन।
निर्देशक फरहादीका अरू फिल्मजस्तै यसमा पनि रहस्य र त्यसका पछाडि विविध सम्भावना छन्। यो फिल्ममा उनले मतभेदको कथामार्फत् व्यक्तिगत फाटोसँगै इरानी समाजको सामाजिक, लैंगिक र पुस्तान्तरसम्मका फाटो जोडेका छन्।