जनकपुर विमानस्थल प्रकरण : समयमा नउड्ने बुद्ध एयरलाई छुट !

Spread the love

२९ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहले सोमबार जनकपुर विमानस्थलभित्र उद्दण्डता प्रदर्शन गरे । उडान ढिलाइको भएकोमा आक्रोशित बनेका उनले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरे । र, उनी अहिले प्रहरी हिरासतमा छन् ।

सर्लाही १ बाट निर्वाचित सांसद साह काठमाडौं आउन बुद्ध एयरको जहाजको पर्खाइमा थिए । ११ बजेको टिकट भए पनि विमान समयमा आएन । विमान पर्खिरहेका एक मृगौला रोगीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनले धनुषाका प्रमुख जिल्ला अधिकारी र विमानस्थल प्रमुखलाई गुनासो गरेका थिए । तर सुनुवाई नभइको भन्दै आफैं काउन्टरमा पुगे र तोडफोड गरे ।

२७ भदौमा नेपालगन्ज विमानस्थलमा बुद्ध एयरकै जहाज उड्न ढिलाइ हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई हुलहुज्जतमा परेका थिए । केही यात्रुले उनलाई विमानभित्रै घेरेर गालीगलौज गरेका थिए ।जनकपुरको घटनामा पहिलो गल्ती सेवा प्रदायक हो । तर हामी कहाँ सेवा प्रदायकले जति गल्ती गरेपनि क्षम्य छ-उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ

दुई घटनामा तोडफोड र उद्दण्डताले बुद्ध एयरको कमजोरी भने ढाकछोप गरिदियो । जबकी यो दुई घटनामा मात्र होइन, अरु बेला पनि निर्धारित समयमा उडान नगर्ने बुद्ध एयरको पुरानै रोग भएको त्यसमा यात्रा गरेकाहरुको अनुभव छ ।

यसको अर्थ सांसदले तोडफोड गर्नु जायज भन्ने हुँदै होइन । उनले पदीय मर्यादा विपरित गरेका गरेका छन् र उनलाई पक्राउ गर्दा कानूनी राज्यको आभास त भयो, तर घण्टौंसम्म उडान ढिलाई गर्ने बुद्ध एयरलाई कारबाही हुँदैन ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विष्णु रिजालले बुद्ध एयर विरलै समयमा उडेको अनुभव रहेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै सोधेका छन्, ‘एयरलाइन्सलाई जति समय पनि ढिलो गर्न छुट हुन्छ र ?’

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ पनि जनकपुरको घटनामा पहिलो गल्ती/कमजोरी सेवाप्रदायक (बुद्ध एयर)को भएको मान्छन् । ‘पहिलो गल्ती सेवा प्रदायक हो । तर हामी कहाँ सेवा प्रदायकले जति गल्ती गरेपनि क्षम्य छ । किनकी न सर्वोच्चको आदेश कार्यान्वयन भएको छ न हवाई सुरक्षासम्बन्धी ऐन छ’ उनले भने ।

विमान ढिलो उडेको विषयलाई लिएर उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट घमराज लुईंटेलले दायर गरेको एउटा रिटमा सर्वोच्चले ३१ भदौ २०७२ मा सर्वोच्चले एउटा फैसला गरेको थियो, जसमा हवाई सेवा प्रदायकले तोकिएको समयमा उडान गर्नुपर्ने उनीहरुको प्राथमिक दायित्व भएको उल्लेख छ ।

तोकिएको समयमा मनासिब कारणविना नै उडान रद्द गरिनु, उडान रद्द गरिएको पूर्वसूचना उपभोक्तालाई यथासमयमा नदिइनु जस्ता कुरा पनि हवाई यातायातको गुणस्तरभित्र पर्ने भन्दै फैसलामा भनिएको छ, ‘सेवाको मूल्य चुक्ता गरेका उपभोक्तालाई गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक र कानूनी हक पनि हो । त्यस्तो गुणस्तरीय सेवा प्रदान नगरी लापरवाही गरी उपभोक्तालाई क्षति पुग्न गएको अवस्थामा हवाई यातायात सेवा प्रदायक संस्थाले त्यस्तो क्षतिपूर्तिको दायित्वसमेत वहन गर्नुपर्ने व्यवस्था गरी त्यस्ता सेवा प्रदायक संस्थालाई जिम्मेवार बनाउनु आजको आवश्यकता रहेको छ ।’

तर यस्तो क्षतिपूर्तिको रकमको निर्धारणको मापदण्ड निर्माण गरिएको भन्दे सर्वोच्चले उपभोक्ता संरक्षण ऐन, नियम समेतको आधारमा आवश्यक मापदण्ड निर्धारण गरी लागू गर्नु नागरिक उड्डयन मन्त्रालयलाई र उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ११ को प्रयोजनका लागि हवाई यातायातको गुणस्तर निर्धारण गर्नु भनी सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो ।

त्यो फैसलापछि पटकपटक सर्वोच्चको फैसला स्मरण गराउँदै कानून बनाउन आग्रह गरे पनि सुनुवाई नभएको उपभोक्ता अधिकारकर्मी बानियाँ बताउँछन् ।

तर हवाई सेवा प्रदायकहरु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमितता र बढ्दो हवाई ट्राफिक चापलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्ने गर्छन् । जनकपुर घटनामा पनि बुद्ध एयरले यही तर्क गरेको छ ।

बुद्ध एयरका निर्देशक (मार्केटिङ, सेल्स तथा ग्राउण्ड ह्याडलिङ डिपार्टमेन्ट) रुपेश जोशी भन्छन्, ‘हिजो हामीले एउटा जहाजबाट दैनिक ७ उडानसम्म गर्दा पनि जहाजहरु समयमै विमानस्थलमा पुग्ने गरेका थिए । आज हामी एउटा जहाजबाट दैनिक औसत ४ उडान गर्छौं, तर पनि ढिला हुन्छ । यसको मतलव जहाज कि आकाशमा होल्ड भइरहेको छ कि ग्राउण्डको जाममा परेको छ ।’

४० वर्ष अगाडिको हवाई ट्राफिकलाई ध्यान दिएर बनाइएको विमानस्थल र बढ्दो हवाईजहाज र यात्रुको चापबीच तालमेल नमिल्दा यस्तो भएको उनले बताए ।

उनको भनाइमा त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीसमेत सहमत छन् । ‘जहाज किन ढिला पुगिरहेका छन् भन्ने प्रश्न अब महत्वपूर्ण रहेन’, केसीले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विमानस्थल बोटल नेक भइसक्यो । विकल्पमा नयाँ विमानस्थलहरु बनिरहेका छन्, त्यतिन्जेल यस्तै हो ।’


Spread the love