जोर्डनसँग हार्‍यो नेपाल

Spread the love

२९ असोज, काठमाडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ ।

नेपाली टिमले जोर्डनसँग पहिलो हाफमा बहादुरीपूर्ण प्रदर्शन गर्दै पहिलो हाफ गोलरहित बराबरीमा रोक्न सफल भयो । तर दोस्रो हाफमा भने त्यही प्रदर्शनलाई नेपालले यथावत राख्न सकेन ।

खेलको ५६औं मिनेटमा नेपालले गोल खायो । फिरास शालबयाले पेनाल्टीबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । खेलको ७८औं मिनेटमा अहमद इर्सानले गोल गरेपछि जोर्डन २-० गोलले अघि रहृयो । दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३-० गोलको जित दिलाए ।

यो हारसँगै नेपालले चार खेलबाट तीन खेलमा हार र एक खेलमा जित हात पार्दै तीन अंक बनाएर समूह ‘बी’ को चौथो स्थानमा छ । विजेता जोर्डनको भने तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरीसहित सात अंक भएको छ ।

त्यस्तै, मंगलबार राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले चाइनिज ताइपेईलाई ७-१ गोलअन्तरले पराजित गरेको छ ।

अनलाइनखबर


Spread the love