नेपाललाई ५६ अर्ब सहयोग गर्ने चीनको घोषणा

Spread the love

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गरेका छन्। नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन्।

राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफूलाई गरिएको स्वागतको खुलेर प्रशंसा गरे। आफू र चीनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफू प्रभावित भएको बताए। ‘आफूलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उनले भने। नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गर्ने विश्वास लिएको बताउँदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे।

मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उनले सन् २०२० देखि २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गरे। नेपालले एक चीन नीतिप्रति देखाएको अडान प्रसंशायोग्य रहेको राष्ट्रपति सीले बताए।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपालले सदैव एक चीन नीति लिएको स्पष्ट पारिन्। उनले चीनले नेपालको आर्थिक र समाजिक विकासमा अहिलेसम्म पुर्याएको सहयोगप्रति चिनियाँ सरकार र चिनियाँ जनतालाई धन्यवाद समेत दिइन्। चिनियाँ प्रतिनिधिमण्डल सहभागी रहेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षका बारेमा पनि जानकारी गराएकी थिइन्।

उनले दुई देशबीच व्यापार बढ्दै गएकोमा प्रशंसा गरे पनि ब्यापार घाटा बढ्दै गएकाले नेपाली सामान चीन निर्यातका लागि सरल र सहज वातावरण बनाइदिन आग्रह गरिन्। नेपालमा उत्पादकत्व र रोजगारी बढाउने क्षेत्रमा चिनियाँ क्षेत्रले लगानी गर्नुपर्नेमा जोड दिइन्।


Spread the love