चाडपर्व लक्षित अनुगमन : कम गुणस्तरको खाद्य पदार्थ नष्ट

Spread the love

भरतपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय, चितवनले आइतबार हाकिमचोकका होटल, रेस्टुरेन्ट तथा किराना पसलमा संयुक्त अनुगमन गरी कम गुणस्तरका खाद्य पदार्थहरु नष्ट गरेको छ । चाडपर्व लक्षित गरिएको अनुगमनका क्रममा होटल, रेस्टुरेन्टहरुले फोहोर एवम् न्यून गुणस्तरका खानेकुरा बिक्री गरेको र भान्छाकोठा दुर्गन्धित राखेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

हाकिमचोकस्थित पुरानो राजेश होटलमा भान्छाकोठा अत्यधिक फोहोर भेटिएपछि तत्काल सुधार गर्ने गरी हाललाई बन्द गर्न निर्देशन दिइएको छ । पकाउन तयार पारिएको ल्वाङ मिठाईमा कपाल भेटिएकाले नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए ।

यस होटलमा हात धुने धारा र पकाउने चुल्हो एकै ठाउँमा रहेको, भान्छा अव्यवस्थित र फोहोर भएको, प्याकेजिङ नभएको खाद्य पदार्थ र अखाद्य वस्तु एउटै भाँडामा राखिएको, पकाइएका खानेकुराहरु खुला छाडिएको र सुत्ने तथा भण्डारण कक्ष एउटै रहेकाले भान्छा बन्द गर्न भनिएको उनले वताए । एक हप्ताभित्रमा भान्छा र भण्डारण कक्ष व्यवस्थित गर्ने होटल सञ्चालक टीकाप्रसाद आचार्यले बताए ।

राजेश होटलसँगै जोडिएको मंगलम स्विट्स एण्ड भेज रेस्टुरेन्टमा पनि न्यून गुणस्तरको खुवा र समोसाभित्र पोको पारिने आलुको मसला नष्ट गरिएको छ । त्यस्तै, पटकपटक खानेकुरा तारेर राखिएको अखाद्य तेल पनि नष्ट गरिएको काफ्लेले बताए ।

‘दर्जनौँपटक तारिएको तेल स्वास्थ्यका लागि खतरनाक मानिन्छ’, उनले भने, ‘यस्तो तेलको परीक्षण गर्ने पोलारमिटर नहुँदा अनुगमन प्रभावकारी हुन सकेको छैन, खाद्य विभागसँग पनि माग गरेका छौँ तर विभागसँग नै दुई/तीनवटामात्रै छ ।’

थकाली होटल, चाँदनी रेस्टुरेन्ट र श्रेष्ठ खाजाघरलाई भान्छाबाट निस्कने फोहोर व्यवस्थित गरी सफासुग्घर राख्न निर्देशन दिइएको छ । प्रकाश किराना पसलमा बिक्रीका लागि राखिएको म्याद गुज्रिएका २.२५ लिटरका नौवटा बोतल र १.५ लिटरका तीनवटा बोतल हल्का पेय पदार्थ नष्ट गरिएको उनको भनाइ छ ।

निजेश प्रोडक्ट प्रालि वीरगञ्जले वर्षौंदेखि उत्पादित वस्तुको मूल्य उल्लेख नगरी काजुलगायतका उत्पादनहरु बजारमा पठाउँदै आएको छ । यसबारे गत वर्ष नै वाणिज्य विभागका प्रतिनिधिहरुलाई जानकारी गराए पनि अझै सुधार नआएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भूषालले बताए । काजुमा मूल्यसूची नभएकोबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने जिल्ला प्रशासन कार्यालय चितवन प्रशासन शाखाका नासु उमेशचन्द्र पन्थीले बताए ।

मासुका प्राविधिक छैनन्

मासुको गुणस्तर हेर्ने प्राविधिक नहुँदा मासु पसलहरुको प्रभावकारी अनुगमन भएको छैन । कुन जनावरको मासु काटेको र खानयोग्य वा अयोग्य भन्ने यकिन गर्न पशु प्राविधिकको आवश्यकता पर्छ । मासु पसलको अनुगमन गर्न गएको टोलीले पसलको सरसफाइ हेरेरमात्रै फर्किनुपर्ने अवस्था छ । ‘चाडपर्वमा मासुको माग बढ्छ, तर मासुको अनुगमन गर्न हामीसँग प्राविधिक छैनन्, प्राविधिक नहुँदा मासुको गुणस्तर हेर्न पाइएको छैन’, खाद्य निरीक्षक काफ्लेले भने ।

भरतपुर महानगरपालिकाको पशु शाखामा कार्यरत पशु प्राविधिक सन्तोष घिमिरे दुई महिनाअगाडि नै सरूवा भएर गएका छन् । महानगरमा मासुको अनुगमन गर्न दक्ष प्राविधिक नरहेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वीकार गरे । घिमिरेका ठाउँमा अर्का पशु प्राविधिक आइपुगेका छैनन् ।


Spread the love