समर्थकलाई रविले भने– धन्यवाद !

Spread the love

भरतपुर । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछाने र उनका सहकर्मी पत्रकार युवराज कँडेललाई हेर्नकै लागि मंगलबार हजारौँ सर्वसाधारण नारायणी नदीकिनार पुगेका छन् ।

आफ्ना समर्थकहरुलाई धन्यवाद दिनका लागि सञ्चारकर्मी लामिछानेले नारायणी नदीकिनारमा राखेको धन्यवाद सभामा चर्काे घामका बाबजुद सर्वसाधारणहरुको खचाखच उपस्थिति थियो । सभा सकिएपछि लामिछाने र कँडेललाई कार्यक्रमस्थलबाट बाहिर निकाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । समर्थकहरुलाई प्रत्यक्ष भेटेर धन्यवाद दिन र आफ्ना कुराहरु राख्नका लागि रविले मंगलबार दिउँसो २ बजे धन्यवाद सभाको आयोजना गरेका थिए । मंगलबार बिहान पत्रकार सम्मेलन गरी उनले यस विषयमा जानकारी गराएका थिए ।

मञ्चमा रविको प्रवेशसँगै खचाखच भरिएको भीडले ‘रवि दाइ, हाई हाई’ र ‘हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाए । हजारौँको संख्यामा खचाखच भएको भीडलाई व्यवस्थित र संयमित हुन आग्रह गर्दै रविले समर्थकहरुको साथ र मायालाई शिरोधार्य गर्दै सञ्चारकर्ममा नै अझ बढी क्रियाशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिकरुपमा आफ्नो प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकहरुले गरेको योगदान र खराब राजनीतिका बारेमा मात्रै बोलेका थिए । आफूले खेपेको मुद्दामा अहिले बोल्न नपाए पनि यस्तै मुद्दाका अन्य पीडितहरुको विषयमा आवाज उठाउने उनको भनाइ छ ।

निमुखाको पक्षमा बोल्छु

गरिब र बेसहारा नागरिकको पक्षमा अझ ठूलो आवाज उठाउन आफूमा शक्ति प्राप्त भएको उनले बताए । उनले मंगलबार नै घाइते समर्थकहरुलाई अस्पतालमा नै गएर भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको उपचार र पक्राउ परेका समर्थकहरुको रिहाइको माग गरिने उनले प्रतिबद्धता पनि जनाए ।

जनताको भोट खाएर गएका जनप्रतिनिधिहरु इमानदार भए अर्काे कुनै पनि व्यक्ति राजनीतिमा जानु नपर्ने भन्दै उनले आफू यही पेसामा रहेर काम गर्ने बताए । सञ्चारकर्मीले सञ्चारमाध्यमबाट नै उनीहरुलाई होसियार गराउनुपर्ने उनको तर्क थियो । ‘नीति निर्माणमा पुगेका मानिसलाई अझ बढी खबरदारी गर्दै सीधा कुराको टिमलाई अझ सशक्त बनाउँछौँ’, उनले भने ।

पत्रकार कँडेलले न्यायका लागि समर्थकहरुले गरेको खबरदारी कहिल्यै नभुल्ने बताए । अदालतले पक्कै पनि आफूहरुलाई न्याय दिने भन्दै उनले समर्थकहरुको माया र साथबाट ऊर्जा मिलेको बताए । अदालतले आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका लामिछानेलाई पाँच लाख रूपैयाँ, कँडेललाई तीन लाख रूपैयाँ धरौटी र रुकु भनिने नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा सोमबार साँझ रिहा गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा उनीहरुलाई चितवन प्रहरीले साउन ३० गते काठमाडौँबाट पक्राउ गरेर चितवन ल्याएको थियो । रवि पक्राउ परेपछि उनका समर्थकहरुले भोलिपल्टबाटै रविको रिहाइको माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका थिए ।

हिरासतमा रहँदा धेरै बुझे

रविले प्रहरी हिरासतमा रहँदा त्यहाँ थुप्रै समस्या र थुनुवाहरुको वेदना पत्ता लगाएको भन्दै त्यसलाई कार्यक्रममार्फत सार्वजनिक गरिने बताए । हिरासतको बेथितिबारे आफूले आवाज उठाउने उनले बताए ।

निषेधाज्ञा आदेश फिर्ता

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १० गते बिहान ६ बजेबाट लागू हुने गरी निषेधाज्ञा आदेश गरेकोमा भदौ १० गते मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश फिर्ता भएको जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ९ गते अदालतको आदेशको कारण रवि लामिछानेका समर्थकले शान्ति भाँड्न सक्ने भनी लगाएको निषेधाज्ञा आदेश फिर्ता लिएको बताएका हुन् ।

त्यस्तै रवि लामिछानेको समर्थनमा निकालिएको जुलुसका क्रममा हुलहुज्जत हुँदा पक्राउ परेका ४८ जना प्रदर्शनकारीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


Spread the love