शालिकरामको भिडियो खिच्ने व्यक्ति को थियो ?

Spread the love

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले गरेको अन्तरिम फैसलाले केही गम्भीर प्रश्न पनि उठाएको छ । त्यस्तै एक गम्भीर प्रश्न हो- शालिकरामको बहुचर्चित भिडियो खिच्दा कोही अन्य व्यक्तिको पनि उपस्थिति रहेको प्रश्न ।

फैसलामा स्पष्टसँग लेखिएको छ- ‘सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गरेको देखिन्छ ।’

आखिर को थियो त त्यो व्यक्ति ? जसले शालिकरामको भिडियो खिच्यो । प्रहरीले त्यस कोणबाट अनुसन्धान नगरेकोमा बेञ्चले आफ्नो चासो प्रकट गरेको छ ।

‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रमाण, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन,’ आदेशमा छ।

यसैगरी भिडियो रेकर्ड गरेको अवस्थामा लगाएको पहिरन र शव वरामद हुँदा लगाइएको पहिरन फरक रहेको बताउँदै फैसलमा भिडियो रेकर्ड र आत्महत्याोक समय फरक रहेको पनि बताइएको छ । बेञ्चले आत्महत्याको घोषणा गर्दा शालिकरामको स्टेट अफ माइन्ड र आत्महत्या गरेको बेलाको स्टेट अफ माइन्डको निरन्तरता थियो भन्ने के आधारको खोजी पनि गरेको छ ।

‘घटनास्थलमा मृतकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आत्महत्या गर्नबाट रोक्न, बचाउन, हारगुहार गर्नसक्ने तत्कालीन विद्यमान अवस्थामा सो भएको नदेखिनुले भिडियो रेकर्डको लगत्तै निजले आत्महत्या गरेको नभई सो भिडियो रेकर्ड गर्दाको निजको मनस्थिति र निजले आत्महत्या गर्दाको परिस्थितिको निरन्तरता थियो भन्ने कुरामा भिडियो रेकर्ड गर्दाको अवस्थामा निज भित्री वस्त्रमा देखिएको अवस्थामा र आत्महत्या गर्दा निजको झुन्डिएको लासमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितिको बदलाको अवस्थापछिको मृत्युकालीन घोषणालाई…. निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अवस्थामा…. ,’  आदेशमा भनिएको छ।

मुद्दाको सुनुवाइको क्रममा शालिकराम पक्षधर वकिलहरूले यो कोणबाट पनि तयारी गर्नुपर्ने भएको छ । आखिर को थियो त्यो जसले शालिकरामको आत्महत्या घोषणाको भिडियो खिच्यो ? यो मुदद्दाकै सबैभन्दा पेचिदो प्रश्नका रूपमा अगाडि आएको छ ।


Spread the love