निवर्तमान अस्ट्रेलीयाकी राजदूत श्रीमती लक्की शेर्पाले लण्डन पुगेर यस्तो भनिन्

Spread the love

अस्ट्रेलियाका लागि नेपालकी निवर्तमान राजदूत श्रीमती लक्की शेर्पाले आफु अस्ट्रेलिया रहँदाका तीतामीठा अनुभवहरु पहिलो पटक सार्बजनिक गरेकी छन् । आफु ओहदामा रहँदा कुटनैतिक मर्यादाका कारण मनमा लागेका कुराहरु स्पष्ट रुपमा व्यक्त गर्न नसकेको भन्दै उनी वर्तमान शासक वर्गको सामन्ती सोच र जनजाति भएर जनजातिलाई नै खुइल्याउनेहरुप्रति अलि बढी आलोचक पनि बनिन् ।

नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) द्धारा गत शनीबार अल्डर्शटमा आयोजित २५औं विश्व आदिवासी दिवस समारोहमा शेर्पा बिशेष अतिथिको रुपमा शुभकामना ब्यक्त गर्दै उनले भनिन् – “नेपालका आदिवासीहरुले वास्तवमै अधिकार प्राप्त गरेका छन् कि छैनन् त्यो समिक्षा गर्ने बेला भएको छ ।”

“३७.८ प्रतिशतको बहुसंख्यामा रहेका आदिवासीहरु जसले हिजो जनयुद्दमा त्यो भन्दा बढी अनुपातमा शहादत प्राप्त गरे, तर आज फाइदा लिने बेलामा खै त जनजातिहरु ?” – उनको प्रश्न वर्तमान शासक वर्गप्रति लक्षित थियो ।

उनलाई आफु नेपालकी छोरी मात्र नभएर आदिवासीहरुको चेली पनि भएकोमा गर्व लागेको तर अस्ट्रेलिया पुगेर राजदूतको ओहदाको प्रमाणपत्र बुझाउँदै गर्दा आफुले जन्मेदेखि लगाउँदै आएको बक्खुप्रति उठेका प्रश्नहरुप्रति उनले प्रतिप्रश्न गरिन् – “आज आदिवासी चेली भएर भन्नुपर्दा आज मैले यो जुन पोशाक [बक्खु] लगाइरहेकी छु यसलाई हेर्ने चिन्तन आजको दिनसम्म पनि उही छ । केही सिमित शासक वर्गलाई लाग्छ कि यो राष्ट्रिय पोशाक नै होइन । समस्या र बिभेद भनेको यही नै हो ।”

उनले नेपालका आदिवासीहरुलाई नेपाल र तिनका मौलिक भेष–भुषा र भाषा–संस्कृतिहरुलाई जबसम्म शासक वर्गले नेपाली ठान्दैन तबसम्म आदिवासी जनजातिहरुलाई राज्यले सम्मान र समाबेश गरेको मान्न नसकिने जिकिर गरिन् । त्यसका लागि शासक वर्गको परम्परागत सामन्ति सोचमा परिवर्तन ल्याउन जरुरी भएको बिचार ब्यक्त गरिन् ।

त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीको कमजोर प्रशासन संयन्त्रको कारण सूचनाहरु लुकाउने, बङग्याउने र बेच्ने प्रवृत्ति हावी भएको र आफु त्यस्को शिकार हुन परेको तीतो अनुभव पनि शेयर गरिन् । राज्यले एउटा राजदूतलाई साँच्चीकै राजदूतको हैसियत दिन नसकेको प्रतिकुल अवस्थामा पनि आफु नेपालकी छोरी र आदिवासी चेलीको रुपमा अस्ट्रेलिया पुगेर आफ्नो देशको कुटनैतिक छबीलाई उकास्न आफुले गरेका कार्यहरुको वास्तविक साक्षी अस्ट्रेलियाली सरकार र त्यहाँका जनता भएको दावी गरिन् ।

मन्तब्यको क्रममा उनी आफ्नै आदिवासी समुदायका खुट्टा तान्नेहरुप्रति पनि सतर्क रहन आग्रह गरिन् ।

“चाहे जुनसुकै राजनैतिक पार्टी वा माध्यमबाट आदिवासीहरु निश्चित ओहदामा पुगुन् त्यो ठाउँसम्म पुग्नको लागि उसले कति मिहेनत गर्नुपर्यो होला ? चाहे आदिवासी भएर होस् वा कुनै मुदुदामा बोलेर यदि कुनै आदिवासीको सन्तान कुनै ओहदामा पुगेको छ भने उसको रीस अर्को आदिवासीले गर्नु हुँदैन भन्ने मलाई लाग्छ । उसलाई इस्यू सम्झाउने कर्तब्य हाम्रो हो । तर नेपालमा के यस्तो परम्परा बसेको छ कि कसैले केही गर्न खोज्यो भने उसलाई खुइल्याइदिने उसको खुट्टा तान्ने” – उनले यो प्रवृत्ति आदिवासीहरुको हितमा नरहेका बिचार पोखिन् ।I

यो समाचार हामीले खुसीलीम्बु डट कमबाट साभार गरेका हौ।


Spread the love