स्वयम्भू गोली प्रकरण : तीनवटा नाममा लुटपाट गर्थे ‘लोप्साङ’

Spread the love

आत्मसमर्पण गर्न दिएको आदेश नमान्दा गोली प्रहार : एसएसपी थापा

रामेछापको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोनमार्फत धम्की दिने मिलन तामाङ आफैँ प्रहरीको फन्दामा परेका छन् । तामाङसँगै अमृत तामाङ पनि प्रहरीको फन्दामा परेका हुन् । उनीहरुलाई स्वयम्भुस्थित झिगु क्याफेमा बसिरहेका बेला महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार सुरुमा उनीहरुलाई आत्मसमपर्ण गर्न आदेश दिइएको थियो ।

को हुन् मिलन र अमृत ?

लुटपाट तथा धम्की दिँदै रकम असुल्ने मिलन र अमृत रामेछापको लिखु गाउँपालिका–७ का स्थायी वासिन्दा हुन् । उनीहरु लामो समयदेखि लुटपाटमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

पछिल्लो समय तामाङद्धयले लिखु गाउँपालिका अध्यक्ष खड्कासँग मोटो रकम असुल गर्न खोजेका थिए । गाउँपालिका अध्यक्षसँग उनीहरुले २ करोड ‘डिमान्ड’ गरेका थिए ।

मागेजति रकम नदिए तामाङद्धयले छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिने धम्की आएपछि अध्यक्ष खड्काले आफ्नो सुरक्षाको माग गर्दै केही समयअघि महाशाखामा उजुरी दिएका थिए ।यो पनि पढ्नुहोस्


प्रहरीमा उजुरी परेपछि महाशाखाको विशेष टोलीले उनीहरुको खोजीकार्य तीव्र बनाएको थियो । सोही क्रममा शुक्रबार स्वयम्भुस्थित झिगु क्याफेमा बसिरहेको सूचना पाएलगत्तै महाशाखाको टोली त्यहाँ पुगेको थियो ।

यसरी चल्यो गोली ?

क्याफेमा बसिरहेका तामाङद्धयले सादा पोसाकमा पुगेको प्रहरी देख्नासाथ आक्रमणको प्रयास गर्दै भाग्न खोजेको एसएसपी थापाले बताए । उनीहरुलाई पक्राउ गर्न गएको प्रहरी टोलीले सुरुमा आत्मसमपर्ण गर्न आदेश समेत दिएको थियो ।

आदेश नमानेपछि उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २ राउन्ड गोली प्रहार गरेको हो ।

सोही क्रममा मिलन तामाङलाई घुँडामुनि गोली लागेलगत्तै भुँइमा ढलेको प्रहरीले जनाएको छ । यता अमृत तामाङ भने भाग्दै गर्दा प्रहरीले समात्न सफल भएको थियो ।

मिलनका तीन वटा नाम

काठमाडौं उपत्यकामा कहीँकतै नाम नसुनिएका मिलनले तीनवटा नाम भजाउँदै लुटपाट तथा धाकधम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

काठमाडौंको महानगरपालिकास्थित रानीबारी बस्दै आएका मिलनले लोप्सन लामा र बाबुराम तामाङको नामले लुटपाट समेत गर्दै आएको प्रहरीले जनाएको छ ।

मिलन र अमृतले रामेछापको लिखु हाइड्रो र रोड कन्ट्रक्सनबाट सामान तथा नगद लुटपाट गरेको प्रहरीको भनाई छ ।

गोली लागेका मिलनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  


Spread the love