तिब्बतीलाई छोरी बनाएर नागरिकता दुई युवतीसहित ८ जना पक्राउ

Spread the love

कास्की — झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो ।

थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए ।
सरु थापामगर र तासी आङ्मो थापामगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका हुन् । सरुका नाममा ४६–०१–०७६–२०३९ र तासी आङ्मोको नाममा ४६–०१–०७६–०१६३३ नम्बरको नागरिकता जारी भएको छ । सुरुको उमेर २७ वर्ष र तासीको २६ वर्ष भनिएको छ । दिदीबहिनीको उमेरको फरक ७ महिना मात्रै छ ।
छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई दिदीबहिनी पनि छन् । तिब्बतीलाई नागरिकता दिएको विषय गाइँगुइँ चलेपछि प्रशासनले दुवै नागरिकता नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानपछि ८ जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । थापाले दुवै आफ्नो छोरी भएको भने पनि अनुसन्धानमा छोरी नभएको प्रमाण भेटिएको प्रशासनले जनाएको छ ।
वडामा पहिले बाबुको नाम र पछि हजुरबुबा लेखबहादुर थापाको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ । थापाको एक छोरी तिब्बतीयन नागरिकसँग विवाह गरेको र उनीहरूका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिन लगाउन उनले झूटो विवरण पेस गरेको खुलेको बुढाले बताए । उनका अनुसार विद्यालयको अभिलेखमा समेत उनीहरूको वास्तविक बाबुको नाम उल्लेख छ । ‘अनुसन्धानपछि तिनीहरू उनको छोरी नभएको खुलेपछि पक्राउ गरिएको हो,’ उनले भने ।
नागरिकता दिने काममा संलग्न नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, खरिदार परशुराम पौडेल, खरिदार रामचन्द्र थापा, नासु डाँसीराम लामिछानेलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । आचार्यले दुवै नागरिकता जारी गरेका थिए भने पौडेल र थापाले सनाखत र लामिछानेले पेस गरेका थिए ।
यसैगरी पोखरा–१८ वडा कार्यालयका २ जनालाई पनि विभागीय कारबाही सिफारिस प्रक्रिया अघि बढाइएको छ । प्रजिअ बुढाका अनुसार सोमबारसम्म वडा कार्यालयका कर्मचारीको नाम थाहा हुनेछ । ‘वडा कार्यालयका कर्मचारीले २ पटक जन्मदर्ता गरेका छन्, दुई पटकमा फरक–फरक बाबुको नाम छ, एक पटक वास्तविक बाबु र अर्को पटक हजुरबुबा लेखबहादुरको नाम छ,’ बुढाले भने ।
विद्यालयमा भर्ना हुने क्रममा एउटा र नागरिकता लिने क्रममा अर्को बाबुको नाम राखिएको अनुसन्धानमा खुलेको छ । वडाध्यक्ष रणबहादुर थापाले यस विषयमा आफूलाई केही थाहा नभएको भन्दै बोल्न मानेनन् । नागरिकताका लागि उनले पनि सिफारिस गरेका थिए । तिब्बतीले नागरिकता लिएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले अख्तियार, जिल्ला प्रशासनलगायत सरोकारवाला निकायमा उजुरी दिएको थियो ।
नागरिकता ऐन ०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूटो विवरण दिएर नेपाली नागरिकता लिएमा १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । त्यस्तो नागरिकता रद्द हुन्छ । यस्तो नागरिकता दिलाउन सनाखत, सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने ऐनमा छ । कर्मचारीको हकमा भने विभागीय कारबाहीको व्यवस्था छ ।प्रकाशित : श्रावण २७, २०७६ ०७:१५


Spread the love