अष्ट्रेलियामा कसरी भयो नेपाली विद्यार्थी चढेको कार दुर्घटना ? यस्तो छ कारण..

Spread the love

साउन १६,अस्ट्रेलिया । अस्ट्रेलियामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । सिड्नीमा अध्ययनरत नेपाली विद्यार्थी स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । कारमा पाँच जना सवार थिए । स्यबाङ्जा वालिङ नगरपालिका १० की समीक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको मृत्यु भएको छ । सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो । पन्ध्र जना विद्यार्थीको समूह तीन वटा कारमा हिउँ खेल्न सिड्नीबाट स्नोइ माउन्टेन गएका थिए । बिहान दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेका थिए । सोही समूहको कार बिहान पखको तीन बजे तीस मिनेट जाँदा दुर्घटनामा परेको थियो ।

घाइते तीन जना विद्यार्थीमा अस्वीन कँडेलको हस्पिटलबाट डिस्चार्ज गरिएको छ । संगीत देवकोटा र चालक सागर भट्टराईको भने क्यानबेरा हस्पिटलमा उपचार भैरहेको छ । नेपाली राजदूतावासका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले दुवै मृतक विद्यार्थीको शव पठाउने तयारी भैरहेको बताइन् । उनले हाल दुवै विद्यार्थीको शव फोरेन्सिक जाँचका लागि हस्पिटलमै रहेको र जाँच सकिएलगत्तै आगामी शुक्रबार या शनिबार नेपाल पठाउने तयारी गरिरहेको बताइन् । समीक्षा सुवेदी सिड्नीको क्वीन्सफोर्ड कलेजमा अध्ययनरत थिइन् । भण्डारी एटीआइटीमा अध्ययन गरेको दूतावासले जनाएको छ । तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताएका छन् । उडन रिजर्भ जाँदा उनीहरुले फेसबुक लाइभ समेत गरेका थिए । समिक्षाले दुई पटक लाइभ गरेकी छिन् । घटनापछि अहिले उनको भिडियो हजारौंले हेरेका छन् ।

कसरी भयो दुर्घटना ? उक्त घटनामा घाइते भएका अश्विन कँडेलका अनुसार क्यानबेराबाट करिब २ घण्टाको बाटोमा रहेको उक्त स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेका थिए। कँडेलले दुर्घटनाको समयमा आफू निदाएकोले तत्कालै केही थाहा नपाए पनि दुर्घटनापछि सहयोगका लागि आपतकालीन सेवालाई सम्पर्क गरेको बताए। घाईते अश्विन कडेलले भनेका छन्ः- हामी बिहान साढे दुई बजेतिर उठेर हिँडेका थियौं, एक घन्टाको यात्रापछि अचानक गाडी अगाडि कंगारुजस्तो चिज देखियो, गाडी छलाउदा छलाउदै पल्ट्यो। त्यसपछि म गाडीभित्रै च्यापिएर बसेछु। ‘फोनको ब्याट्री पनि नभएकोले घाइते अन्य साथीहरुसँग मुख्य रोडमा चलिरहेको गाडी रोकेर सहयोग मागेर प्रहरीलाई जानकारी गराउन सफल भयौं’


Spread the love