टी-२० सिरिजको आयोजना अधिकार पाएको जोरा इन्टरनेसनलले क्रिकेट संघलाई दिएको चेक ‘बाउन्स’

Spread the love

गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक टी-२० सिरिज आयोजना अधिकार जोरा इन्टरनेसनललाई दिइएको थियो। 

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिमा विवादका बीच जोरालाई १५ लाख रुपैयाँ लिएर प्रयोगिता आयोजना गर्न दिइएको थियो।

आयोजनाको व्यवस्थापनको जिम्मा पाएको जोराले प्रायोजन तथा टिकट बिक्रिबाट उठ्ने सबै रकम पाउने उल्लेख थियो।

प्रतियोगिता सकिएको दुई महिना भइसक्दा पनि क्यानले १५ लाख रुपैयाँ अझै पाएको छैन। 

गत वैशाख ४ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा भएको थियो। सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। 

सिरिजका सुरुवाती खेलमा मैदानमा दर्शकलाई प्रवेश दिइएको थियो। त्यसबापत जोराले लाखौं रकम उठाएको थियो। विभिन्न प्रयोजक खोजेको जोराले मैदान वरिपरि प्रायोजकका ब्यारनले भरेको थियो। सुरुवाती दिनमा क्यानको लोगोसमेत मैदानमा थिएन।  

सिरिज आयोजना गरेबापत जोराले क्यानलाई १५ लाख रुपैयाँको चेक दिएको थियो। जोराले १५ दिनपछिको मिति राखेर क्यानलाई चेक दिएको थियो।

तर लामो समयसम्म चेक बैंकमा जम्मा नभएपछि क्यानको केन्द्रीय समितिमा चर्को विरोध भएको थियो। केही साताअघि जोराले दिएको उक्त चेक क्यानको नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा जम्मा गरिएपछि सो चेकमा पैसा नभएको खुलेको हो। 

‘जोराले हामीलाई १५ दिन पछिको मिति राखेर दुई महिनाअघि चेक दिएको थियो। तर अहिले आएर जम्मा गर्दा त्यसमा पैसा देखिएन। हामीले एकपटक चेक बाउन्स गरेर जोरालाई जानकारी गराएका छौं,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सेतोपाटीसँग भने, ‘त्यो कसैको व्यक्तिगत पैसा होइन, संस्थालाई आउनु पर्ने रकम सम्झौता अनुसार पाउनु पर्छ।’

जोराले प्रतियोगिता आयोजना गर्दा आफूलाई घाटा भएको भन्दै रकम दिन आनाकानी गरेर मेल पठाएको क्यान स्रोतको भनाइ छ। 

‘प्रतियोगिता सुरु भएको तीन/चार दिनमा पैसा दिने शर्त थियो। सुरुवाती खेलपछि दर्शकलाई प्रतिबन्ध लगाइयो,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘मेरो जानकारीमा आएअनुसार क्यानले पाउनु पर्ने रकम अझै पाएको छैन।’ 

जोरासँग सम्झौता क्यानका जनरल म्यानेजर रौनक मल्लले गरेका थिए। रकम जम्मा नभएको विषय र सम्झौताको बारेमा प्रश्न गर्दा मल्लले स्पष्ट कुरा गर्न चाहेनन्।

‘यस विषयमा धेरै बोल्न चाहान्न। तपाईँ यति बुझ्नुहोस् यो विषय राम्रो दिशातिर गइरहेको छ,’ उनले भने।

रकम भुक्तानी गर्न ढिलाइ गरे चेक बाउन्सको कानुनी प्रक्रियामा जान सकिने व्यवस्था छ। चेक बाउन्सको मुद्दामा कानुनी प्रक्रियामा जान तीनपटक बैंकले अस्वीकार गरेको हुनुपर्छ। 

यसअघि आयोजना अधिकार जोरालाई दिएको विषयमा क्यानमा विरोध भएको थियो। क्यान बैठकअघि नै जोरालाई आयोजना अधिकार दिएको विषयमा केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए।

सिरिज क्यानले नै व्यवस्थापन गरेर त्यसबाट नाफा कमाउन सकिने कतिपय केन्द्रीय सदस्यले बताएका थिए।

लामो समयसम्म प्राप्त चेक जम्मा नहुनु क्यानको प्रस्तावित आर्थिक नियमावलीविपरीत देखिएको छ। जसअनुसार रकम जम्मा नगर्ने व्यक्तिलाई कारबाही हुनु पर्ने उल्लेख छ।

प्रस्तावित नियमावलीअनुसार क्यानलाई प्राप्त हुने आम्दानी प्राप्त भएको बढीमा सात दिनभित्र जिम्मेवार व्यक्तिले मुल कोषमा दाखिला गरी श्रेस्ता खडा गर्नुपर्ने उल्लेख छ। 

यसरी म्यादभित्र नगद दाखिला गर्न नसकेको कारण कोषाध्यक्षलाई मनासिव लागेमा १० दिनभित्र जम्मा गर्न स्वीकृति दिन सकिने पनि व्यवस्था छ।

यति हुँदा पनि जम्मा नगरेमा कोषाध्यक्षले पटकैपिच्छे बिगोको दश प्रतिशत जरिवाना गर्न वा कसुरको मात्राअनुसार सजाय गर्न सक्नेछन् र नेपालको प्रचलित कानुनअनुसार कारबाही गर्ने अधिकार क्यानको आर्थिक समितिलाई हुनेछ।

क्यानको आर्थिक नियमावली


Spread the love