निधिले भेटे पौडेललाई, के भयो कुराकानी?

Spread the love

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग कुराकानी गरेका छन्।

पार्टी सभापतिमा उठिसकेका नेताहरूसँग भेटघाट गर्ने निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सहमति भएको भोलिपल्ट उपसभापति निधि वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटारस्थित निवास पुगेका हुन्।

सिंह निवास चाक्सीबारीमा मंगलबार निधि, कोइराला र सिंहबीच पार्टी सभापतिमा यसअघि उठिसकेका नेताहरूसँग छलफल गर्ने सहमति भएको थियो।

साथै उनीहरूले शुक्रबार महामन्त्री कोइराला निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल पनि गर्ने सहमति गरेका थिए।

निधि सभापतिमा उठ्ने तयारी गरिरहेका छन्। उनले पौडेललाई भेटेर आज यसबारे कुराकानी गरेका थिए। आफू सभापतिमा उठ्न लागेकोले सहयोग गर्न निधिको आग्रह थियो।

तर पौडेलले महाधिवेशनका लागि तयारी गर्न समय रहेकोले पहिले समायोजनका कामहरू र क्रियाशील सदस्यतामा देखिएका विवादबारे हल गर्न सहयोगी भूमिका खेल्न निधिलाई आग्रह गरेका थिए।

निधि पार्टी उपसभापति भएकोले समायोजनमा देखिएका विवाद हल गर्ने भूमिका अहिले महत्वपूर्ण रहेको पौडेलको भनाइ थियो।

पौडेल र निधिबीच समायोजन विवाद सुझ्याउनेलगायत विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए। 

समायोजनलगायत विवाद देखिँदा सिन्धुपाल्चोक, बारा, सप्तरीलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण र वितरण भइसकेका क्षेत्रमा पनि विवाद देखिएका छन्।

पौडेलले निधिलाई पहिले समायोजनलगायत विवाद हल गर्न र महाधिवेशनका लागि त्यसपछि पनि छलफल गर्न सकिनेबारे कुरा राखेका थिए।


Spread the love