किन बारम्बार सताउँछ सिन्धुपाल्चोकलाई पहिरोको प्रकोपले?

Spread the love

२०७२ को भुइँचालोपछि १४ जिल्लामा पहिरोको जोखिमबारे अध्ययन गरिएको थियो। उक्त अध्ययनले सिन्धुपाल्चोकमा पहिरोका कारण सबभन्दा धेरै घर असुरक्षित रहेको देखायो।

नभन्दै पछिल्लो पाँच वर्षयता सिन्धुपाल्चोकले पहिरोकै कारण अत्यधिक जनधनको क्षति बेहोर्दै आएको छ।

भुइँचालोमा ३ हजार ६ सय ७३ जनाको ज्यान गुमेको र ६३ हजार घर ध्वस्त भएको सिन्धुपाल्चोकमा त्यसयता पहिरो र बाढीका कारण झन्डै सय जनाको मृत्यु भइसकेको छ। सिँगो गाँवै पहिरोमा पुरिएका घटनासमेत छन्।

सिन्धुपाल्चोकले झेलेको प्रकृतिको कहरलाई फर्केर हेर्ने हो भने भुइँचालोलगत्तै २०७३ साउनमा भोटेकोशीमा आएको बाढीले लिपिङ र तातोपानी बजार क्षेत्रका ८१ घर बगायो। गत वर्ष २०७७ असारमा बाह्रबिसेको जम्बुमा गएको पहिरोले १८ जनाको मृत्यु भयो। लगत्तै साउनमा जुगल गाउँपालिकाको लिदीमा पहिरो जाँदा सुतिरहेकै अवस्थामा ३९ जनाले ज्यान गुमाए। सिँगो गाउँ नै पहिरोले पुरियो। त्यसको एक महिना नबित्दै भदौमा बाह्रबिसे नगरपालिकाको नागपुजेमा गएको पहिरोमा ३१ जनाको ज्यान गयो।

दु:खको सिलसिला यस वर्ष फेरि सुरू भइसकेको छ। असार १ गते मेलम्चीमा आएको भेलबाढीले ७ जनाको ज्यान लियो। मेलम्ची बजारमा तीन तलासम्मका पक्की घर पुरिए। नदी कटानले घरहरू ढल्ने क्रम जारी छ।

मेलम्चीमा असार १ गतेको बाढीले गरेको विनाश। तस्बिर : दिपिन ढुङ्गाना

पछिल्लो पाँच वर्षमा जे-जति विनाश भए, ती कुनै न कुनै रूपले भुइँचालोकै उपज हुन्। भुइँचालोले जमिनको सतह चिरा पारेर कमजोर बनाउँदा पहिरो आउने क्रम बढेको विज्ञहरू बताउँछन्।

त्यसो भन्दैमा भुइँचालोअघि सिन्धुपाल्चोकमा पहिरो नै नजाने होइन। २०७१ को जुरे पहिरोले १५६ को ज्यान लिएको थियो। त्यति बेला पहिरोले भोटेकोसी नदी थुनिँदा ४७ मिटर गहिरो र ३ किलोमिटर लामो ताल बनायो। सडक डुबायो। नदी थुनिएर बनेको ताल फुट्ने त्रासले तटीय क्षेत्रमा बसोबास गर्नेको निद हराम भएको थियो।

अब प्रश्न उठ्छ, सिन्धुपाल्चोकलाई पहिरोजन्य प्रकोपहरूले किन बारम्बार सताउँछ? यसपछाडिको भौगर्भिक कारण के हो?

यसबारे हामीले विभिन्न विशेषज्ञहरूसँग कुराकानी गर्‍यौं।

उनीहरूका अनुसार सिन्धुपाल्चोकको पहाडी भू-भाग अन्य क्षेत्रको दाँजोमा भिरालो छ। भिरालो भू-भागमा औसतभन्दा बढी पानी पर्‍यो भने सतहको माटो सजिलै बग्छ। यसले पहिरोको जोखिम बढाउँछ।

२०७२ को भुइँचालोले त झन् ठाउँ-ठाउँमा जमिनको सतह चिरा परेकाले पहिरो जोखिम अझ बढेको विज्ञहरू बताउँछन्। भुइँचालोपछि ३० डिग्रीभन्दा बढी भिरालो क्षेत्रमा पहिरोका घटना धेरै भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययनले देखाएको छ।

मेलम्चीमा असार १ गतेको बाढीले गरेको विनाश।

‘वैशाख १२ को भुइँचालोको केन्द्रविन्दु गोरखा भए पनि त्यसको १७ दिनपछि सिन्धुपाल्चोक र दोलखाको सीमानामा ६.९ म्याग्निच्युडको परकम्प गयो। त्यो परकम्पले सिन्धुपाल्चोकलाई जर्जर बनायो,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘परकम्पको केन्द्रविन्दु पहिरोको केन्द्रविन्दु बन्न पुग्यो।’

उनका अनुसार यसपालि मेलम्चीमा बाढी आउनुको कारण हेलम्बुको भ्रेमाथाङ पहिरो थियो। यो ठाउँलाई भुइँचालोपछि जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो। प्राधिकरणलाई प्राप्त स्याटलाइट तस्बिरहरूको अध्ययनबाट त्यस क्षेत्रमा थप पहिरोको जोखिम देखिएको उनले बताए।

‘भुइँचालोले जर्जर भइसकेको यो भूभागमा पहिले पनि पहिरो आइसकेको थियो,’ उनले भने, ‘यस वर्ष अत्यधिक वर्षाले विनाश गरायो।’

मेलम्ची बाढीको तीन दिनअघि जेठ २९ गते हेलम्बुको शेर्माथाङमा ११० मिलिमिटर पानी परेको रेकर्ड छ। त्यो असार १ गतेसम्मै जारी थियो। त्यही वर्षाका कारण ३५ सय मिटर उचाइमा पहिरो गएर नदी थुनिएको र नदी विस्तारै खुल्दै जाँदा बाढीको रूप लिएको काठमाडौं विश्वविद्यालयका प्राध्यापक रेजिनभक्त कायस्थ बताउँछन्। उनका अनुसार ११० मिलिमिटर पानी विपत ल्याउन पर्याप्त हुन्छ।

उनको यो भनाइलाई गृह मन्त्रालयको रिपोर्टले पुष्टि गर्छ।

गृहले मेलम्ची बाढीको कारण पहिरोका कारण नदी थुनिनु र पछि त्यही थुनिएको भाग विष्फोट हुनुलाई मानेको छ।

नाकोटेस्थित मेलम्ची नदीको बहाव मापन केन्द्रले दिउँसो १२ बजेर ५५ मिनेटबाट साढे १ बजेसम्म मेलम्ची नदीको बहाव स्वाट्टै घटेको तथ्यांक देखाएको थियो। यसले पहिरोका कारण नदी थुनिएको देखिन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मेलम्चीमा पानीको सतह वैशाख-जेठमा सामान्यतया १.१७ मिटर हुन्छ। २०४७ सालमा सबभन्दा धेरै ३.०१ मिटरसम्म पुगेको रेकर्ड छ। यसपटकको बाढी कति ठूलो थियो भने, त्यसले ६ मिटर उचाइमा रहेको नाकोटेको स्टेसन नै बगाएको थियो।

हेलम्बुमाथिको जर्जर भ्रेमाथाङ क्षेत्र। तस्बिर स्रोत: सतिशमान पति

स्टेसन बगाउनुअघि नाकोटेमा मेलम्ची खोलाले खतराको तह पार गरेको थिएन। जेठ २८ गते ११० मिलिमिटर वर्षा हुँदा पनि मेलम्ची खोलामा पानीको सतह ४ मिटर आसपास मात्र पुगेको थियो।

विभागका अनुसार सामान्यतया खोलाको सतह नाप्ने स्टेसन ‘रिभर बेल्ट’ भन्दा दुई मिटरमाथि राखिन्छ। तर, स्टेसन नै बगेपछि मेलम्चीको भेलबाढी कत्रो थियो भन्नेमा विभाग आफैं अलमलमा छ।

विभागको तथ्यांक शाखाका इञ्जिनियर सञ्जय साह मेलम्ची विनाशका लागि आधा घन्टा पानी थुनिनु नै पर्याप्त हुने बताउँछन्।आधा घन्टा पानी थुनिँदा १ लाख २३ हजार ६६० क्युबिकमिटर प्रतिसेकेन्डका दरले पानी जम्मा भएको विभागको हिसाब छ।

मेलम्ची बजार क्षेत्रमा तबाही मच्चाउन इन्द्रावती नदीले समेत साथ दिएको छ। अघिल्ला दिनहरूको वर्षाका कारण इन्द्रावती नदीको बहाव बढेको थियो। मेलम्ची बजार क्षेत्रमै इन्द्रावती र मेलम्ची एकअर्कामा मिसिन्छन्। मेलम्ची खोलाले बगाएर ल्याएको गेग्रान इन्द्रावती नदीको पिँधमा पुगेपछि खोलाको उचाइ बढेको विज्ञहरूको भनाइ छ। यसले खोलासँगै बगेर आएको लेदोले मेलम्ची बजार पुरेको देखिन्छ। 

पहिलोपटक मेलम्चीको फोटो र भिडिओ देखेका कतिपयलाई मेलम्ची बजार खोला मिचेर बसेको त थिएन भन्ने लागेको थियो। मेलम्चीमा चन्द्रशमशेर राणाको पालादेखि खोलाछेवै बसेको बजारले अहिलेसम्म यति ठूलो बाढी सामना गर्नुपरेको थिएन। यसपटकको भेलबाढीले भने पुरानो बजारभन्दा माथिल्लो क्षेत्रसम्म पुरेको छ।

इसिमोडमा कार्यरत इञ्जिनियर एवं विपद् विज्ञ मन्दिरा श्रेष्ठ वर्षाले मात्र मेलम्चीको हालत खराब पार्न नसक्ने बताउँछिन्। मेलम्ची खानेपानी आयोजना निर्माणअघि माथि मुहानसम्मको भाग निरीक्षण गरेकी उनी भन्छिन्, ‘मेलम्चीको फोटो र भिडिओ हेर्दा वर्षाले मात्र यस्तो भयो भनी यकिन गर्न मुश्किल थियो। पछि पहिरोका फोटोहरू देखेपछि माथिल्लो भागमा नदी थुनिएर यस्तो विपद् आएको बुझिन्छ।’

वर्षाका कारण पहिले पहिरो जानु र त्यसले नदी थुनिँदा बहुप्रकोप निम्त्याएको उनको तर्क छ। यस्तो समस्या तामाकोसीमा पनि रहेको उनले बताइन्।

तस्बिर सौजन्य : अजिता ढकाल।

मेलम्चीको यो बाढीलाई बुझ्न हामीले मेलम्ची बजार बसेको ठाउँ कसरी बन्यो भन्ने पनि बुझ्नुपर्छ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ दसौं हजार वर्षअघि हिमनदीहरूले बगाएर ल्याएको थेग्रिनी जम्मा हुँदै मेलम्चीजस्तो ठाउँ निर्माण भएको बताउँछन्। यसरी थेग्रिनी बगाएर ल्याउने क्रम आज पनि जारी छ।

मेलम्ची खोलाको बहाव ५ हजार ५ सय मिटरबाट सुरू हुन्छ। अहिले पहिरो गएको ठाउँ भ्रेमाथाङ ३ हजार ५ सय मिटर उचाइमा छ। माथिल्लो क्षेत्रमा मेलम्ची ठाडै बग्ने भए पनि चनौटे हुँदै मेलम्चीसम्म आइपुग्दा नदी समथर रूपमा अघि बढ्छ। यसपालि भ्रेमाथाङ पहिरोले खोला थुनिएको र त्यहाँ जम्मा भएको थेग्रिनी ३ हजार ५ सय मिटर उचाइबाट चनौटे, तालामाराङ हुँदै मेलम्चीसम्म भरिन आइपुगेको देखिन्छ।

यसबारे त्रिभुवन विश्वविद्यालयका अध्यापक तथा पहिरोविद् सुबोध ढकाल सिन्धुपाल्चोकको माथिल्लो क्षेत्रमा पुराना पहिरोहरू रहेको र तिनै पहिरो थुप्रिएर मेलम्चीमा लेदो बढेको तर्क गर्छन्।

‘पानीको बहाव तीव्र भएपछि एउटा ढुंगा अर्कोमा ठोक्किँदा स्पिड बढ्छ। यसले किनारका खेत, बोटबिरूवा पनि आफूसँगै बगाएर लैजान्छ। यसरी लेदोका रूपमा बगेको पानी मेलम्ची बजार छिर्दा त्यति ठूलो विनाश भएको हो,’ उनले भने, ‘बस्ती छेउछाउ मात्र नदीको तट बाँधेर बाढीबाट जोगिन सकिँदैन। जोखिम न्यूनीकरण गर्न हामीले माथिल्लो तटदेखि तल्लो तटसम्मकै योजना बनाउनुपर्छ।’

माथिल्लो क्षेत्रमा पहिरो किन गयो भन्नेमा अध्ययन हुनुपर्ने उनको भनाइ छ।

हिमतालबारे अध्ययन गरेका भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदी मेलम्चीको बाढीमा पहिरो कारकका रूपमा देखिए पनि हिमताल पग्लिनुले पनि यो विनाश ल्याएको हुनसक्ने बताउँछन्। 

उनका अनुसार मेलम्चीमा देखिएको ग्रेगर सामान्य पहिरोले ल्याउनेजस्तो छैन। हिमताल पग्लिएर आउने बाढीको जस्तै अवस्था मेलम्चीमा देखिएको उनको भनाइ छ। ‘मेलम्चीमा देखिएको ग्रेगरबाट पानी निस्किएपछि सिमेन्टजस्तै कडा हुन्छ भनेर स्थानीयले भनेका छन्,’ द्विवेदी भन्छन्, ‘यो सामान्य बाढीको भन्दा फरक देखिन्छ।’

उनले अगाडि भने, ‘सिन्धुपाल्चोकको जुरेको पहिरो जाँदा पानी खुलाउन विष्फोट गर्नुपरेको थियो। त्यति बेला सुनकोसी थुनिएको थियो। अहिले मेलम्ची खोला आधा वा एक घन्टा थुनिँदा यत्रो धेरै गेग्रिनी बगाएर आउने सम्भावना रहन्न।’

मेलम्चीमा देखिएको सेडिमेन्ट सेती बाढीको जस्तै भएको उनले बताए। सन् २०१२ मा हिमताल पग्लिएर सेतीमा बाढी आएको थियो। उक्त बाढीको अध्ययन गरेका द्विवेदीले भने, ‘मेलम्चीमा आएको भेलबाढी पनि त्यस्तै हुनसक्छ।’

शेर्माथाङभन्दा माथिको क्षेत्रमा पानी परे-नपरेको नाप्ने मेसिन सरकारले नराखेका कारण अहिले देखिएको समस्या वर्षाकै कारण हो भनेर यकिन गर्न नसकिने द्विवेदीको भनाइ छ। ‘हिमाली क्षेत्रमा नयाँ खालको प्रकोप देखिन थालेको छ। भारतको उत्तराखण्डमा पनि पानी परेको देखिन्न, तर बाढी कसरी आयो भन्ने धेरैलाई लागेको छ,’ उनले भने।

‘हेलम्बु माथिको पहाडमा ग्लेसियरबाट बन्नेजस्तै साना पोखरी देखिएका छन्,’ उनले भने, ‘ती पोखरी अहिले मेलम्ची क्षेत्रको जस्तो विपद् ल्याउन सक्ने हैसियतको भने छैन।’ 

सेती बाढीमा ग्लेसियरबाट बगेर आएको सेडिमेन्ट। 

काठमाडौं विश्वविद्यालयका प्राध्यापक कायस्थ भने मेलम्चीको सिरानमा हिमताल नभएको बताउँछन्। हिमताल पग्लिएर यो स्थिति आएको हो कि होइन भन्नेबारे अध्ययन नगरी टिप्पणी गर्न नसकिने उनको तर्क छ। 

मेलम्चीको जलाधारबारे पिएचडी गरेका रविन निरौला अधिक वर्षाका कारण भ्रेमाथाङमा गएको ठूलो पहिरो नै मेलम्चीमा विपद् ल्याउन पर्याप्त देख्छन्। अधिक वर्षाका कारण मेलम्चीले धेरै चिज बगाएको र किनारहरू खोतलेको उनको भनाइ छ।

‘पानी परेपछि हेलम्बु क्षेत्रको भ्रेमाथाङमा ठूलो पहिरो गएको छ। त्यहाँ ठूलो मैदानी भू-भाग थियो,’ निरौलाले भने, ‘यसले मेलम्चीको भेलबाढीमा ढुंगामाटो मिसिएको छ।’ 

मेलम्चीजस्तै समस्या धेरै ठाउँमा आउन सक्ने विपद् व्यवस्थापन प्राधिकरणको आकलन छ। प्राधिकरणले मेलम्ची बाढीको वास्तविक कारण पत्ता लगाउन पानीविज्ञ, भूकम्पविज्ञ, पहिरोविज्ञ सहितका टोलीमार्फत् अध्ययन गराउने तयारी गरिरहेको पोखरेलले जानकारी दिए।

अध्ययनपछि कस्तो ठाउँमा बस्ती राख्न हुने भन्ने टुंगो गर्न सकिने उनी बताउँछन्।


Spread the love