‘पहिले बेलायती सिकार खेल्न आउँथे, म जीवनभर यहीँ बसेर संरक्षण गर्न चाहन्छु’
ब्रिटिश गोर्खा रेजिमेन्टका तत्कालीन कर्णेल एड्रिन ग्रिफितलाई नेपालीसँगको संगतले नेपाल डोर्यायो।
कहिले घुम्न त कहिले कामैले उनी नेपाल आइरहन्थे। यहाँ आउँदा परिवारका कोही न कोही सदस्यलाई पनि साथमै ल्याउँथे। नेपाली अनि प्रकृतिसँग साक्षात्कार गर्थे।
सन् १९९९ मा लामो समयका लागि नेपाल बस्नुपर्ने भएपछि उनको परिवार नै यहाँ आयो। छोरी फोइबे पनि पहिलो पटक नेपाल आइपुगिन्। त्यतिखेर फोइबे ६ वर्षकी थिइन्। उनीहरू केही दिन चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको होटल टाइगर टप्समा बसे।
बेलायती नागरिकले खोलेको यो होटल त्यतिखेर विदेशी पर्यटकको मुख्य रोजाइमा पर्दथ्यो। निकुञ्जको घना जंगलभित्र रहेको यो होटलमा पुग्न वन्यजन्तुको अवलोकन गर्न खोज्ने पर्यटक मरिहत्ते गर्थे। (जैविक विविधतामा असर परेको भन्दै दस वर्षअघि यो सहित निकुञ्जभित्र रहेका ७ वटा होटल बन्द भएका थिए।)
विश्वभर परिचय बनाएको नेपालको वन र वन्यजन्तु देखाउने उद्देश्यले एड्रिनले फोइबेलाई टाइगर टप्स पुर्याएका थिए। यहाँ रहँदा फोइबेले पानीमा खेलिरहेको ठूलो र लामो माछा देखिन्। त्यसले उनलाई तत्कालै मोहनी लगायो। त्यो घडियाल गोही थियो।
उनी नजिकै गएर घडियालको गतिविधि हेर्न थालिन्, फोटो खिचिन्। विल्कुलै नौलो र आकर्षक लागेको गोही उनको मनमा बसिरह्यो।
पहिलो पटक नेपाल आउँदा फोइबे चार वर्ष काठमाडौं बसिन्। उनी बेलायती दूतावासमार्फत सञ्चालित अंग्रेजी स्कुलमा पढ्थिन्।
दस वर्षको हुँदा बेलायत फर्किएकी फोइबेले १५ वर्ष आफ्नै देशको औपचारिक शिक्षा लिइन्। तर उनलाई बेलायतले बाँधेर राख्न सकेन। सानो उमेरमा देखेको त्यो सुन्दर घडियालले उनलाई चितवन निकुञ्ज सम्झाइरह्यो।
अन्ततः उनले नेपालमै बसेर घडियाल गोहीको संरक्षणका विषयमा अनुसन्धान गर्ने सोच बनाइन्। अक्सफोर्ड युनिभर्सिटीकी विद्यार्थी उनी पिएचडीका लागि यही विषय रोजेर सन् २०१८ नेपाल आइपुगिन्।
त्यसो त उनी सन् २०१६ मा पनि नेपाल आएकी थिइन्। त्यतिखेर उनले घडियालका विज्ञहरूलाई भेटेर यसको विषयमा धेरै जानकारी संकलन गरेकी थिइन्। लामो समयदेखि घडियाल प्रजनन् केन्द्रमा काम गरेका बेदबहादुर खड्कालाई भेटेर उनले यसको विषयमा धेरै कुरा बुझिन्।
चितवन निकुञ्ज स्थापनामा महत्वपूर्ण भूमिका भएका संरक्षणकर्मी डा. तीर्थमान मास्केको विषयमा अध्ययन गरिन्। मास्केले घडियाल गोहीको संरक्षणका लागि गरेका प्रयासहरूलाई बुझिन्। त्यसपछि नै उनले यस विषयमा लामो समय नेपालमै बसेर अनुसन्धान गर्ने निर्णय गरेकी थिइन्।
तर दुर्लभ प्राणीको अनुसन्धान गर्नु र यसको वास्तविकता बाहिर ल्याउनु सहज थिएन। यसका लागि बजेटको आवश्यकता थियो। उनले बेलायत फर्किएर केही महिना ‘फन्ट राइजिङ’को काम गरिन्। यो काममा उनलाई आमाले साथ दिइन्। बाबुसँग आइरहने भएकाले उनकी आमालाई नेपालको विषयमा धेरै कुरा जानकारी थियो।
फोइबे जियोलोजिकल सोसाइटी लण्डन र हिमालयन नेचरको सहयोगमा सन् २०१८ को नभेम्बरदेखि नेपालमा बसेर घडियाल गोहीको संरक्षणको विषयमा अनुसन्धान गर्दैछिन्।
अचेल घडियाल गोहीको प्रमुख बासस्थान नारायणी र राप्ती नदी क्षेत्रमा बित्छ उनको दैनिकी। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषसमेतको सहकार्यमा चलिरहेको घडियाल ट्रयाकिङ प्रोजेक्टमा फोइबे कम्बर कसेर लागेकी छन्।
घडियालको विषयमा अनुसन्धान गर्न क्यामरा ट्रयापिङ विधि यसअघि पनि नअपनाइएका होइनन्। तर विगतमा गरिएका प्रयासहरूले खसै सफलता पाउन सकेका थिएनन्। यो प्रोजेक्ट सञ्चालनमा आएपछि भने घडियाल गोहीको वास्तविक अवस्था पत्ता लगाउन सजिलो भएको संरक्षणकर्मीहरू बताउँछन्।
फोइबे झोलामा विभिन्न उपकरण, क्यामरा र हातमा गोहीको लोकेसन पत्ता लगाउने एन्टेना बोकेर खोलाको किनारतिर डुलिरहन्छिन्। गोहीको सुरक्षाको स्थिति, ऊ रहने खोलाको अवस्था, उसले पारेका अण्डा, अण्डा रहेको स्थान, अण्डाबाट कोरलिएका बच्चाहरूको अवस्था उनको चिन्ताको विषय हुन्छन्।
यो प्रोजेक्टले सुरूमा नदीहरूमा रहेका २० वटा गोहीलाई समातेर जिपिएस र भिएचएफ जोडेर छोडेको थियो। पछि घडियाल गोही प्रजनन् केन्द्रमा रहेका थप २५ वटा गोहीमा पनि त्यो जोडियो। त्यसले अनुसन्धानकर्तालाई गोही कहाँ बसिरहेको छ भन्ने जानकारी दिन्छ। त्यो पत्ता लगाउन एन्टेनाको प्रयोग गरिन्छ। यसले निश्चित दूरीमा रहेका गोहीको अवस्था पत्ता लगाउन मद्दत गर्छ। जिपिएस र भिएचएफ लगाएर छाडिएकामध्ये अहिले सात वटा मात्रै सम्पर्कमा छन्। अन्य यो प्रविधिको सम्पर्क भन्दाबाहिर छन्।
फोइबेकाअनुसार नेपालमा जन्मेका, हुर्केका प्रायः गोहीहरु नदीको बहावसँगै भारत पुग्ने गर्छन्। ती गोही फर्किएर नेपाल आउने क्रम भने असाध्यै कम हुन्छ। प्रजनन् केन्द्रबाट राप्तीमा छाडिएका तीन वटा गोहीहरू गत वर्ष बगेर भारत पुगे। तीमध्ये १ दशमलव ५ मिटर लम्बाई भएको एउटा ७ वर्षीय गोही गत फेब्रुअरीमा नेपाल फर्कियो। ‘प्रविधिको प्रयोगगरी अनुसन्धान गर्दा यस्ता कुराहरू पत्ता लगाउन सकिन्छ, जसले गर्दा घडियाल गोहीको संरक्षणमा सहज हुन्छ,’ उनी भन्छिन्, ‘हामी अहिले यही काममा लाग्दै आएका छौं।’
गोही लामो यात्रा गर्ने सरीसृप प्राणी हो। नेपालमै पनि पश्चिम चितवनको धम्पुसमा रहेको गोही नवलपरासीको त्रिवेणी पुगेर अण्डा पारी फर्किएर कसरा आइपुग्ने गरेको उनी बताउँछिन्।
उनको अनुसन्धानले भन्छ – नेपालमा जन्मिएको गोहीहरूमध्ये १५ देखि २५ प्रतिशत भारत पुग्छन्। ३० देखि ४० प्रतिशत विभिन्न कारणले मर्छन्। करिब ३५ प्रतिशतमात्रै बाँच्ने गरेका छन्।
‘तियारी जालको प्रयोग बन्द भयो, नदीबाट गिटी, ढुंगा, बालुवाको उत्खनन गर्नेक्रम रोकियो, बाँध बाँध्ने क्रममा ध्यान दिइयो, मानव चहलपहल कम भयो र फोहोर कम भयो भने गोहीको बासस्थान सुरक्षित हुन्छ,’ उनी भन्छिन्, ‘यसले अबको दस वर्षमा नेपालको प्राकृतिक बासस्थानमा दुई हजार भन्दाबढी गोहीको संख्या पुग्न सक्छ। यो संरक्षण चाहनेका लागि राम्रो कुरा हुनसक्छ।’
विगतमा पाकिस्तान, बंगलादेश, भुटानमासमेत भेटिने घडियाल गोही अचेल नेपाल र भारतमा मात्र भेटिन थालेकाले संरक्षण भएन भने यो प्रजाति संसारबाट लोप हुनसक्ने बताउँछिन् उनी।
‘त्यसैले मलाई यसको संरक्षणमा लाग्न मन लाग्यो,’ उनले भनिन्, ‘म जीवनभर गोहीको संरक्षण अभियानमा लाग्नेछु।’
नेपालका घडियाल गोहीपछि उनलाई इन्डोनेशिया, मलेसियामा पाइने ‘टोमिस्टोमा’ नामको गोहीको संरक्षणमा पनि काम गर्ने मन छ। त्यहाँ रहेका गोहीहरुको पनि संरक्षण हुन नसकेको उनले बुझेकी छन्।
बेलायत जन्मभूमि भए पनि उनका लागि त्यो देशभन्दा नेपाल प्यारो छ। ‘मलाई नेपाल मनपर्छ, यहाँको मौसम, खाना, यहाँका जनावर, यहाँका मान्छे मनपर्छ,’ उनी भन्छिन्, ‘बेलायतमा जंगलै छैन। मलाई मनपर्ने घडियाल पनि छैन।’ उनी नेपालमै बसेर संरक्षणमा लाग्ने र यसमा लाग्नेलाई सघाउने इच्छा भएको बताउँछिन्।
हालको चितवन राष्ट्रिय निकुञ्ज त्यही जंगल हो जहाँ राजा, महाराजा, राणाहरूदेखि नेपालको निमन्त्रणमा आएका विभिन्न देशका शासकहरू सिकार खेल्न पुग्ने गर्थे। सिकार खेल्न यहाँ आउनेमा बेलायती राजपरिवारका सदस्यहरू पनि रहने गरेको इतिहास पाइन्छ। सौराहा नजिकै रहेको थारु सांस्कृतिक संग्रहालय बछौलीमा चितवनको वन क्षेत्रमा देशी, विदेशी शासकहरूले सिकार खेल्दै गरेका फोटोहरू सुरक्षित छन्।
‘धेरै मान्छेहरू आएर यहाँ सिकार खेल्थे, गोही पनि मार्थे भन्ने सुनेको छु, फोटो पनि देखेको छु। मेरा देशका मान्छे पनि यहाँ आएर सिकार खेले भन्ने सुन्दा असाध्यै नरमाइलो लाग्यो,’ उनले भनिन्, ‘पहिले बेलायती आएर सिकार खेल्थे, म जीवनभर यहीँ बसेर वन्यजन्तुको संरक्षणका लागि काम गर्न चाहन्छु।’
सेनाको जागिरे रहेका फोइबेका बाबु बिते। उनकी दिदी हाथिई पनि बेलायती सेनामै कार्यरत छिन्। बाबुसँग नेपाल आउँदा हाथिईले केही महिना होटल टाइगर टप्समा गेस्ट रिलेसन अफिसर भएर कामसमेत गरेकी थिइन्। नेपालबाट फर्किएपछि उनले बाबुले आँगालेकै पेशा रोजिन्। फोइबेलाई पनि त्यो अवसर थियो तर उनले त्यसलाई लत्याइन्।
‘मलाई निर्देशन दिने, लड्ने, अर्डरअनुसारको काम गर्ने कुरा मन पर्दैन त्यसैले म त्यता जान चाहिनँ,’ उनले भनिन्, ‘मलाई प्रकृति मन पर्छ। यसैमा जीवन बिताउँछु।’
Source : setopati.com