ड्युटी सकेर घर फर्किँदै गरेका अहेबमाथि प्रहरीद्वारा निर्घात कुटपिट

Spread the love

अस्पतालमा काम सकेर घर फर्कने क्रममा विराटनगरका एक जना स्वास्थ्यकर्मी प्रहरीद्वारा निर्घात पिटिएका छन्।

ड्युटी सकेर घर जाँदै गरेका विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत सिनियर अहेब अशोक राजवशी प्रहरीबाट निर्घात पिटिएका हुन्।

राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा खटिएका प्रहरीले कुटपिट गरेका हुन्।

‘ड्युटी सकेर घर जाँदै थिएँ, देवकोटा चौकमा पुगेपछि प्रहरीले रोक भन्नुभयो,’ उनले भने, ‘म रोकिएपछि मलाई एक्कासी हातमा र तिघ्रामा भाटाले कुट्न थाल्नुभयो।’

आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदा पनि रातको समयमा हिँड्ने भन्दै कुटपिट गरेको उनको भनाइ छ।

देवकोटा चौकमा रहेको प्रहरीको टोली कमाण्डरले नकुट भन्दा प्रहरीले कुटपिट गरेको प्रहरीको भनाइ छ। कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको दाबी गरेका छन्।

प्रहरीको पनि अनुसन्धान भइरहेको उनले बताएका छन्। ‘चेकजाँचको क्रममा मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको छ,’ डिएसपी राईले भने, ‘घटनाको विषयमा थप बुझने कामहरू भइरहेको छ।’

ड्युटी सकेर घर फर्किएका स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्। स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि बुधबार एसपी खड्कासहित कोसी अस्पतालमा बैठक बसेको थियो।

बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको दायरमा ल्याउने एसपी खड्काले बताएको कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए।

‘कुटाइ खाने स्वास्थ्यकर्मीले जाहेरी दिएपछि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्ने भनेर अहिले भर्खर सकिएको बैठकमा जानकारी गराएर जानुभएको छ,’ मेसु दासले भने, ‘स्वास्थ्यकर्मी राजवंशी पनि घाउँजाँच गरेपछि जाहेरी दिन मोरङ प्रहरी कार्यालय जानुहुनेछ।’

स्वास्थ्यकर्मीले जोखिम मोलेर काममा खटिएको अवस्थामा सुरक्षाकर्मीबाटै कुटपिट हुनु आपत्तिजनक रहेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।


Spread the love