झापा संघर्षका तीन एमाले नेता गणतन्त्रको विरुद्धमा थिए : गौतम

Spread the love

नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको खुलासा गरेका छन्। 

गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै गौतमले पार्टी केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्ने भनी आफूले लिखित प्रस्ताव गरेको बताउँदै तीन नेता गणतन्त्र विरोधी रहेको बताएका हुन्।

‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ उनले भनेका छन्।

उनले गणतन्त्र स्थापनामा मुख्य भूमिका तीन नेताको रहेकोसमेत दाबी गरेका छन्। ‘वि.सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेको भन्दै उनले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


Spread the love