प्रहरीले खोज्‍नुपर्ने प्रमाण खोज्‍न मृतककी आमाको दौडधुप

Spread the love

ललितपुर महानगरपालिका-१५ खुमलटारका नुभिव उप्रेतीको मोबाइलबाट वैशाख ४ गते बिहान सवा तीन बजे आमा भगवतीलाई म्यासेज आयो- ‘आइ रियल्ली वान्ट टु डिआइइवाइ …’

यो म्यासेज उनले आफू उठेपछिमात्रै देखिन्। उनको मन बिहानै चिसो भयो। 

उनले दोहोर्‍याएर पढिन्, म्यासेजमा भन्न खोजेको कुरा बुझिनन्।                            

१८ वर्षीय अघिल्लो दिन नुभिव आफैं बाइक चलाएर कलेजका लागि निस्किएका थिए।

यसरी गएको छोराको त्यस्तो म्यासेज आएको अल्लिबेरपछि उनको शव फेवातालमा भेटिएको खबर आयो।

वैशाख ४ गते बिहान ६:४५मा फेवातालमा शव भेटिएको प्रहरीले बताएको छ। नुभिवको शव फेवातालको बाराहीघाट नजिकै भेटिएको प्रहरी अधिकारीले भगवतीलाई जानकारी गराएका थिए।

नुभिवले यस्तो म्यासेज किन पठाए? यहाँ भन्न खोजिएका कुरा के हुन्?, यो म्यासेज कुन परिस्थितिमा कसले लेख्यो? यसको उत्तर खोज्‍न अचेल भगवती काठमाडौं-पोखरा धाएको धायै छिन्। तर उत्तर भेटेकी छैनन्।

नुभिवले त्यो रात भगवतीलाई अरू २ वटा म्यासेज पनि पठाएका रहेछन्। राती २ बजेर २६ मिनेटमा पठाएको पहिलो म्यासेजमा आमालाई मोबाइल बैकिङको कोड र अन्य एपको पासवर्ड पठाएका रहेछन्।

दोस्रो म्यासेजमा नुभिवले लेखेका छन्, ‘आइ एम रियल्ली सरी। आइ कान्ट टक टु यु, म पोखरामा छु।’

अहिले भने भग्वतीलाई लाग्छ, ‘यो सामान्य अवस्थामा लेखिएको म्यासेज होइन, मेरो छोराको मोबाइल खोसेर कसैले पठाएको पनि हुन सक्छ।’

त्यसपछि नुभिवले आफ्ना साथीहरूलाई पनि फोन गरेका थिए। मध्यरातमा आएको फोन उनका साथीहरूले पनि थाहा पाएनन्।

त्यही रात नुभिवले आफ्नो इन्स्टाग्राममा आफ्नो बाइक हराएकाले खोज्‍न सहयोग गर्नु भन्दै स्टोरी पोष्ट गरेका थिए। उनले लेखेका थिए, ‘हेल्प मी आउट टु गेट माइ बाइक प्लिज, आइ गट अ रोयल इन्फिल्ड आउट टु हेयर इन पोखरा।’

त्योभन्दा अघि नुभिवले आफ्ना मोबाइल र एपका पासवर्ड आमालाई कहिलै दिएका थिएनन्। भगवतीले पनि माग्ने कुरा भएन।

‘त्यो रात किन त्यस्तो म्यासेज पठायो? अहिलेसम्म थाहा नपाएर म रन्थनिएको छु,’ भगवतीले सेतोपाटीसँग भनिन्।

घटनाको रहस्य पत्ता लगाउन कास्की प्रहरीले गरेको आनाकानीले आफूलाई झन् तर्साएको उनको भनाइ छ।

वैशाख ४ गते नै बिहान प्रहरीले फेवातालमा नुभिवको शव भेटेपछि सोचविचार नै नगरी ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको थियो।

आमा भगवतीलाई त्यही जानकारी गराइदियो। उनले पत्याइनन्। फोटो पठाउन भनिन्, प्रहरीले भाइबरमार्फत् भगवतीलाई फोटो पठाइदिए।

फोटोमा छोरा नुभिवको शव देखेपछि आमा तत्काल पोखरा उडिन्। पोखराको बैदामस्थित प्रहरी कार्यालय पुगिन्। नुभिवको शव भने पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिसकेको थियो।

प्रहरी कार्यालय बैदामका अधिकारीले भगवतीलाई छोराले आत्महत्या गरेको जाहेरी लेख्न लगायो।

‘छोराको शव नहेरी आत्महत्याको जाहेरी लेख्नु मेरो गल्ती थियो। तर मैले केही मेसो पाएकी थिइनँ,’ उनले भनिन्,‘शव हेर्दा त कहाँको आत्महत्या हुनु?’

अस्पतालमा राखिएको शव हेर्दा नुभिवको पेटमा निलो डाम थियो। टाउकामा टुटिल्काहरू, खुट्टालगायत शरीरभरि डाम नै डाम देखिन्। पोष्टमार्टम रिपोर्टमा पनि टाउकोमा लागेको चोटका कारण मुत्यु भएको उल्लेख गरेको भगवतीले सेतोपाटीलाई बताइन्।

अस्पतालको शव हेर्दाहेर्दै भगवतीलाई छोराले आत्महत्या गर्यो भन्नेमा विश्वासै रहेन।

‘यो आत्महत्या होइन, हत्या हो,’ उनको मनले भन्यो।

मनले भनेरमात्र भएन यसअघि आफूले आत्महत्या भन्दै जाहेरी दिइसकिएको छ। त्यसलाई  फिर्ता लिनुपर्छ भनेर उठिन्।

उनी फेरी प्रहरी कार्यालय बैदाम पुगिन्। आफ्नो छोराले आत्महत्या गरेको नभई हत्या भएको हुन सक्ने भन्दै जाहेरी दिन खोजिन्।

प्रहरीले हत्या दाबी गरेको घटनाको जाहेरी नै लिन मानेन ।

प्रहरी कार्यालय बैदामकी प्रमुख डिएसपी चिनिमाया तामाङलाई पटक-पटक अनुरोध गर्दा पनि निवेदन लिन नमानेको भगवती बताउँछिन्।

‘डिएसपी चिनिमायाले राति १० बजेसम्म राखेर फेवाताल किनारको फुटेज देखाउनुभयो। त्यसमा केही नदेखिएकाले तपाईंको छोराले  आत्महत्या नै गरेको हो भनिरहनुभयो,  मेरो उजुरी लिनै मान्नुभएन,’ भगवतीले भनिन्।

प्रहरी कार्यालय बैदाम लेकसाइडमा अवस्थित छ। यही कार्यालयले पोखराका मुख्य शहरको शान्ति सुरक्षाको जिम्मा पाएको छ। राति अबेरसम्म बस्दासमेत डिएसपी तामाङले उजुरी नलिएपछि अर्को दिन उनी जिल्ला प्रहरी कार्यालय पुगिन्। कास्की जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठलाई भेटेर उजुरी दिइन्। जिल्ला कार्यालयले भने उनको उजुरी दर्ता गरिदियो, अनुसन्धान अघि बढाउन भन्यो।

सेतोपाटीसँग पनि बैदाम प्रहरी कार्यालयकी प्रमुख डिएसपी तामाङले उजुरी नलिनुको कारण बताउन चाहिनन्।

‘म धेरै बोल्न चाहन्नँ, हाम्रो जिल्लाका प्रवक्ता सुवास हमाल हुनुहुन्छ, उहाँबाट लिनुस्’ तामाङले सेतोपाटीसँग भनिन्।

उनको क्षेत्राधिकार पर्ने ठाउँमा घटना भएको र उनलाई नै पीडितले आफ्नो छोराको हत्या भएको जाहेरी दिँदासमेत नलिएको विषयमा उनी प्रवेश नै गर्न चाहिनन्।

जिल्ला प्रहरी कार्यालयले उजुरी लिएर अनुसन्धान त अघि बढायो। तर उनीहरूको अनुसन्धान पनि शंकामुक्त नरहेको भगवती बताउँछिन्।

उनलाई घटनामा प्रहरीकै मिलेमतो पो छ कि भनेर शंका लाग्न थालेको छ। आफूले आधारविहीन शंका नगरेको उनी बताउँछिन्।

‘यो घटना सामान्य व्यक्तिले घटाएको होइन, ठूलो व्यक्ति संलग्न हुनुपर्छ’, उनले दाबी गरिन्,‘मेरो छोराको हत्यामा घटना छोप्न प्रहरीको पनि संलग्नता छ जस्तो लाग्न थाल्यो।’

छोरा नुभिवको मृत्युको रहस्य खोतल्न पटक-पटक पोखरा आएकी भगवतीले त्यस रात लेकसाइडमा खटिएका प्रहरीलाई पनि भेटेको बताउँछिन्। प्रहरी कार्यालय बैदामकै सई केपी ढकालले ड्युटीकै क्रममा नुभिवसँग भेट भएको आफूलाई भनेको उनले बताएकी छन्।

‘कस्तो पोलाइटली बोलेको, मैले होटल देखिनँ, मलाई कुट्यो अंकल भन्यो,’ प्रहरी सई ढकालको भनाई उद्धृत गर्दै भगवतीले भनिन्।

यस्तै, घटनाको छानबिन गर्न आग्रह गर्दा प्रहरी इन्सपेक्टर श्याम थापाले तपाईं कुनै चिन्ता लिनु पर्दैन हामी अनुसन्धान गर्छौं भनेको पनि भगवती बताउँछिन्। अहिले आएर सई ढकालले बोली फेरेको र अनुसन्धान गर्छु भनेका इन्स्पेक्टर बिदामा बसेको भगवतीले बताइन्।

छोराको हत्या भएको हुन सक्ने भन्दै खोज्दै जाँदा उनी आफैंले पनि केही सिसिटिभी फुटेज भेटेकी छिन्। प्रहरीले खोज्‍नुपर्ने कतिपय प्रमाण उनी आफैंले प्रहरीलाई बुझाएकी छिन्। उनले भेटेको सिसिटिभी फुटेजमा नभिवलाई ३ जना केटाहरूले आक्रमण गरेका छन् भने उनले आफ्नो प्रतिरक्षा गरेका छन्।

भगवतीले छोराको मोबाइलबाट पाएको नबुझिने अन्तिम म्यासेजको ७ मिनेटपछिको नै नुभिवमाथि कुटपिट भएको उनले निष्कर्ष निकालेकी छिन्। उनले पाएको सिसिटिभी फुटेज, स्थानीय प्रत्यक्षदर्शीलगायतका आधारमा उनले यस्तो निष्कर्ष निकालेकी हुन्।

प्रहरीको भर परेर भगवतीले अनुसन्धान अघि बढाउन छोराले मध्यरातमा पठाएको म्यासेज दिइन्। नुभिवले इन्स्टाग्राममा राखेको स्टोरी, आफूले संकलन गरेको प्रत्यक्षदर्शीको भनाइ र सिसिटिभी फुटेज दिइन्। मोबाइल नेटवर्कका आधारमा नुभिव गएका ठाउँहरूको ट्रयाक गर्न र कल डिटेल निकाल्न सजिलो होस् भनेर भगवतीले नुभिवको मोबाइल सिमकार्ड र ल्यापटप पनि प्रहरीलाई दिइन्।

उनले जाहेरीमा नुभिव गएको लेकसाइडस्थित ट्रेजर लाउञ्ज बार र किङ्स लाउञ्ज बारको सिसिटिभी फुटेज मगाउन, त्यसका सञ्चालक र त्यहाँ कार्यरत कर्मचारीसँग पनि प्रमाणका लागि बयान लिन भनेकी थिइन्। तर प्रहरीले यतातर्फ अनुसन्धान नै अघि नबढाएको भगवतीको आरोप छ।

ट्रेजर लाउञ्ज बारले नुभिव आफ्नो बारमा नआएको बताएको छ। तर त्यही बारका एक जना स्टाफले आफूसँग आफ्नो बारबाट केटाहरूले नुभिवलाई कुट्दै तालतिर लखेटेको बताएको भगवती बताउँछिन्।

प्रहरीले भने ती स्टाफसँग बयान नै लिएन, बयान नलिएपछि अदालतमा पेश गरेको मुद्दामा उल्लेख हुने कुरा पनि भएन।

भगवती र प्रहरीसामू ट्रेजर लाउञ्ज बारले नुभिव आफ्नो रेष्टुरेन्टमै नआएको जिकिर गरे पनि भगवतीले पैसा तिरेको स्टेटमेन्ट निकालेकी छिन्। नुभिवले इसेवाबाट पहिलो पटक साढे १० बजे ट्रेजर लाउञ्ज बारमा पैसा तिरेका छन्। यसपछि पनि उनले पटक- पटक इसेवामार्फत् नै ट्रेजर लाउञ्ज बारमा पैसा तिरेको स्टेटमेन्ट निकालेकी छिन्।

ट्रेजर लाउञ्जबारमा पटक-पटक पैसा तिरेको स्टेटमेन्ट देखाउँदासमेत उक्त बारले नुभिव आफ्नो रेष्टुरेन्ट आउँदै नआएको बताइरहेको भन्दै उनी दिग्दार छन्।

‘प्रहरीले पनि पैसा तिरेको प्रमाणलाई भन्दा उक्त रेष्टुरेन्टमा नुभिव आउँदै नआएको भनाइ पत्याएको छ। प्रहरीले अपराध अनुसन्धानमा यसरी प्रमाण अनदेखा गरेको छ,’ उनले भनिन्।

ट्रेजर लाउञ्ज बारले उक्त घटना भएको रातको सिसिटिभी फुटेज पनि लुकाएको भगवतीले बताएकी छिन्।

‘पैसा तिरेको प्रमाण छ, आएको छैन भन्छ, प्रहरी त्यही पत्याउँछ,’ उनले भनिन्, ‘सिसिटिभी फुटेज किन गायब पारेको? आउँदै नआएको मान्छेले कसरी पैसा तिर्छ प्रहरीले यता ध्यान नै दिएन।’

ट्रेजर लाउञ्ज बारका सञ्चालक महेन्द्र गुरुङको राजनीतिक तथा आर्थिक पहुँचकै कारण प्रहरीले नुभिव प्रकरणमा उक्त बारका सञ्चालक र अन्य कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको कतिपयको आशंका छ।

गुरूङ एमालेको भातृ संगठन युवा संघका सचिव हुन्।  सिसिटिभी बारे सोध्न उनी र उनको बारका स्टाफलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन नसकेको प्रहरीकै एक अधिकारी बताउँछन्।

‘होइन भने पैसा तिरेको स्टेटमेन्ट देखाउँदासमेत आएकै छैन भनेर कसले पत्याउँछ’, ती अधिकारी भन्छन्, ‘सिसिटिभी फुटेज किन नमागेको? अपराध अनुसन्धानमा बाधा हाल्न मिल्छ?’

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले शंकास्पद सबैलाई बोलाएर बयान लिएको बताएका छन्। ट्रेजर लाउञ्ज बारका प्रतिनिधि र अरू सबैलाई बोलाएर बयान लिएको भन्दै उनले अपराध अनुसन्धानमा दबाब र प्रभाव नहेरेको बताए।

‘नुभिवका आमा भगवतीजीलाई मैले बोलाएर सबै देखाएको छु, ट्रेजर लाउञ्ज बारका मान्छेले पनि कागज गरेका छन्’, डिएसपी हमालले भने, ‘अपराध अनुसन्धानमा हामीले कुनै दबाब र प्रभाव हेरेका छैनौं।’

ट्रेजर लाउञ्ज बार गएकोबारे सुरूवातमा जानकारी नभएको र बिल तिरेको इसेवा स्टेटमेन्ट आएपछि बयानमा बोलाएको डिएसपी हमालले बताए। तर उक्त बारले त्यो रातको सिसिटिभी फुटेज नदिएको उनको भनाइ छ।

उनले भने, ‘हामीले त्यो रातको सिसिटिभी फुटेज माग्यौं, तर बारसँग फुटेज रहेनछ।’

परिवारको निरन्तरको दबाब र व्यापक आलोचनापछि प्रहरीले अहिले नुभिवको हत्या भएको निष्कर्ष निकाल्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। मुद्दामा सिसिटिभी फुटेजमा नुभिवलाई कुटपिट गर्दै गरेको देखिएका ३ जनालाई अभियोग लगाएको छ। उनीहरू अहिले प्रहरी कार्यालय बैदामको हिरासतमा छन्।

उनीहरू खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ का १८ वर्ष कम उमेरका बालक, स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ का १९ वर्षीय बासुदेव गुरुङ छन्। उनीहरू तीनै जना पोखरा– ७ घारीपाटन बस्दै आएका छन्।

प्रहरीका अनुसार यी ३ मध्ये १८ वर्षभन्दा कम उमेरका बालकसँग ट्रेजर लाउञ्ज बारअगाडि नुभिवको भनाभन भएको थियो। नुभिव ट्रेजर लाउञ्ज बारमा गएर मदिरा सेवन गरेको र त्यही रात किङ्स लाउञ्ज बार गएको प्रहरीले जनाएको छ। किङ्स लाउञ्ज बारले पनि नुभिव मध्यरात बार छिरेको बताएको छ।

किङ्सबाट निस्केर फेरि नुभिव ट्रेजर लाउञ्ज गएको र त्यही बेला ती ३ युवासँग भेट भएको प्रहरीको निष्कर्ष छ। त्यहाँबाट बाहिर निस्केर नुभिवले अर्काको मोटरसाइकल स्टार्ट गर्न खोजेको तर स्टार्ट नभएको डिएसपी हमाल बताउँछन्।

लेकसाइडमा नुभिवले भाडामा बुलेट बाइक लिएका थिए। भाडामा लिएको बाइक चिन्न नसकेर अर्काको मोटरसाइकल स्टार्ट गर्न खोजेको प्रहरीको भनाइ छ। मदिरा सेवन गरेका कारण उनले चलाएको मोटरसाइकल त्यही रात प्रहरीले नियन्त्रणमा लिएको डिएसपी हमालले बताए।

त्यही बेला मोटरसाइकल हराएको भन्दै सहयोगका लागि नुभिवले इन्स्टाग्राममा स्टोरीमा लेखेको हुन सक्ने प्रहरीको अनुमान छ।

ट्रेजर लाउञ्ज बारअगाडि झगडा गरेका तीन जना केटाहरूसँग त्यसपछि लेकसाइडको स्ट्रिट नम्बर १३ मा भेट हुन्छ। त्यहीँ यी ३ जना केटाहरूले नुभिवलाई कुटपिट गरेको डिएसपी हमालले बताए।

कुटपिट भएपछि घटनास्थलमा प्रहरी पुग्दा नुभिवले म ठिक छु भनेर गएको हमाल बताउँछन्। साढे दुई बजेतिर उक्त घटना भएको उनको भनाइ छ। बिहान प्रहरी कार्यालय बैदाममा स्थानीयले नै बाराहीघाटस्थित फेवातालमा शव देखिएको जानकारी गराएको र प्रहरी गएर हेर्दा नुभिवको शव भेटिएको डिएसपी हमालले बताए।

तीन जना युवा मिलेर कुटपिट गरेपछि नुभिव आफैं गएर फेवातालमा हाम फालेको हुन सक्ने प्रहरी आशंका छ। यद्यपी प्रहरीले नुभिव हत्यामा संलग्न भएको भन्दै उल्लेखित ३ जनाविरूद्ध हत्या अभियोगसहित जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएको छ। जिल्ला अदालतले बिहीबार पहिलो सुनुवाइसमेत गरेको छ।

यता, प्रहरीले निकालेको निष्कर्षमा भने नुभिवको परिवारले पत्याएको छैन।

‘नुभिव आफैं फेवातालमा गएर हाम फाल्ने खालका होइनन,’ उनका आमा भगवती भन्छिन्, ‘ऊ त एकदम प्रडक्टिभ मान्छे थियो, हामीलाई पनि कहिलेकाहीँ गाइड गर्थ्यो।’

नुभिवलाई आत्महत्या गर्नुपर्ने अवस्था भए आफूलाई त्यस्तो म्यासेज पनि नगर्ने उनको भनाइ छ।

‘मैले मेरो छोरा फिर्ता लेऊ भनेको छैन, मेरो छोराको हत्या भएको हो, प्रहरीले अनुसन्धानमा एकदम हेल्चक्र्याइँ गर्‍यो,’ भगवतीले भनिन्, ‘न्याय नपाएसम्म मुद्दा लडिराख्छु।’


Spread the love