मध्यावधि चुनाव घोषणा, कात्तिक २६ र मंसिर ३ मा हुने

Spread the love

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

सरकारका लागि दावी पुगेन

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा ९५० बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दाबीकर्ताको दाबी खारेज गरेकी हुन् ।

शुक्रबार राति राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छः ‘संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा ९५० बमोजिमका दाबीकर्ता दुबै माननीय सदस्यहरुको दाबी नपुग्ने देखिएकाले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठन गर्न राष्ट्रपतिले आव्हान गरेपछि  शुक्रबार विपक्षी गठबन्धन र सत्तारुढ केपी शर्मा ओली पक्षले नयाँ सरकारका लागि छुट्टाछुट्टै हस्ताक्षर शीतल निवासमा बुझाएका थिए ।

विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै नेताहरु शीतलनिवास पुगेका थिए । तर, विपक्षी गठबन्धनका नेता शीतलनिवास पुग्नु अघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेर बहुमत सांसदको हस्ताक्षर बुझाएका थिए ।

ओलीले  १५३ सांसदको को समर्थन रहेको भन्दै सरकारको नेतृत्वका लागि दाबी पेश गरेका थिए ।  विपक्षी गठबन्धनले भने १४९ सांसदको हस्ताक्षर नै पेश गरेका थिए ।


Spread the love