कोरोना संक्रमितबाट दोब्बर-तेब्बर भाडा असुलेको आरोपमा पर्सामा दुई एम्बुलेन्स चालक पक्राउ

Spread the love

बढी भाडा उठाएको आरोपमा पर्सामा दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।

संक्रमित व्यक्ति र आफन्तबाट बढी भाडा असुलेको आरोपमा उनीहरूलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो।

क्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दिन रायभर र बिन्दवासिनी गाउँपालिका-१ का २२ वर्षीय वीरबल मुखिया रहेका छन्।

उनीहरूलाई शुक्रबार बेलुका राति नेसनल मेडिकल कलेज अगाडिको सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवकता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

उनीहरूसँगै ना२च ३२५६ र बा३च ८१९९ नम्बरको एम्बुलेन्स पनि बरामद गरिएको खनालले बताए।

पक्राउ परेकामध्ये ना२च ३२५६ नम्बरका एम्बुलेन्स चालक कमरुद्दिनले काठमाडौं पुर्‍याउदा तोकिएको भाडाभन्दा तीन गुणा बढी असुलेको अनुसन्धानबाट पत्ता लागेको छ। उनले १२ हजार रूपैयाँ भाडा लिनुपर्नेमा ४० हजार रूपैयाँ असुलेको खनालले बताए।

यस्तै, अर्का चालक मुखियाले वीरगञ्जदेखि पर्सागढी नगरपालिका जाने बिरामीबाट ३५ सय लिनुपर्नेमा सात हजार रूपैयाँ लिएको खुलेको छ।

‘कोरोना संक्रमणको विषम परिस्थितिको फाइदा उठाउँदै संक्रमित तथा आफन्तबाट बढी भाडा असुलेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो,’ खनालले भने, ‘यसक्रममा एम्बुलेन्ससहित चालकलाई पक्राउ गरिएको हो।’

उनीहरू दुबैलाई कालोबजारी ऐन आकर्षित गरी अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।


Spread the love