जस्टिनको सर्त

Spread the love

साप्ताहिक संवाददाता

अमेरिकी गायक जस्टिन बिबर चाँडै नै हकीको मैदानमा खेलाडीका रूपमा देखिँदैछन् । जस्टिनले हालै नेसनल हकी लिगका स्टार गोलटेन्डर जोर्डन बिनिङ्टनसँग हकी च्यालेन्ज स्वीकार गरेका थिए । जस्टिनले इन्स्टाग्राममा एउटा सेयर गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

जोर्डनले जस्टिनलाई च्यालेन्ज गर्दै उनको इन्स्टा पोस्टमा कमेन्ट गरेका थिए । उनले लेखेका थिए— ‘तिमीले मेरो विरुद्ध एक मात्र स्कोर गर्न सफल भयौ भने म आफ्नो केशमा प्लेटिनम ब्लन्ड डाई लगाउनेछु ।’ २६ वर्षीय जोडर्न क्यानाडाका व्यावसायिक आइस हकी खेलाडी हुन् ।

गायकका साथै हकीका राम्रा खेलाडी जस्टिनले जोर्डनको च्यालेन्ज स्वीकार गरिदिए । यद्यपि उनले सर्त परिवर्तन गर्ने प्रस्ताव राखे । उनले कमेन्टको स्क्रिनसट सेयर गर्दै लेखे— ‘१० हजारको च्यारिटीका बारेमा के छ विचार ? यदि मैले तिमीविरुद्ध स्कोर गर्न सफल भएँ भने तिमी मैले चाहेको ठाउँ गएर च्यारिटी गर्नुपर्छ र हामी त्यसलाई छायांकन गर्नेछौं ।’

जस्टिनले हालै मात्र हेली बाल्डटिनसँग लस एन्जल्समा आर्ट एजुकेसनलाई प्रोत्साहन गर्नका लागि एउटा च्यारिटी कार्यक्रम राखेका थिए, जहाँ काइली जेनर, जेडन स्मिथसहितका सेलिब्रेटीहरूले सहभागिता जनाएका थिए । 



Spread the love