बलिउड र हलिउडको रोमाञ्चक भिडन्त

Spread the love

नयाँ वर्ष २०२० आममानिसका लागि के–कस्तो रहला, त्यो बिस्तारै देखिँदै जानेछ । तर, बलिउड र हलिउड चलचित्रका लागि भने यो वर्ष केही विशेष हुँदैछ । विशेष यस अर्थमा कि यो वर्ष केही प्रतीक्षित बलिउड र हलिउड चलचित्र एकै मितिमा रिलिज हुँदैछन् । यी चलचित्रको सार्वजनिक प्रदर्शन मितिले आमदर्शकमाझ चलचित्रको व्यापार कस्तो होला भन्ने कौतूहलता सुरु भइसकेको छ ।

हाल छायांकनरत बलिउड चलचित्र ‘राधे : युअर मस्ट वान्टेड भाइ’ र हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस–९’ आगामी मे २२ मा रिलिज हुँदैछन् । चलचित्र ‘राधे : युअर मस्ट वान्डेट भाइ’को निर्देशन प्रभु देवाले गरेका छन् । रिल लाइप प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता सोहेल खान छन् । चलचित्रमा सलमान खान, दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ, भारत, गौतम गुलाती, जरिना वाहाबको अभिनय रहनेछ भने अभिनेत्री ज्याकुलिन फर्नान्डिजले एक गीतमा आइटम नृत्य गर्नेछिन् । यो चलचित्रको मोसन पिक्चर सन् २०१९ को अक्टोबर १८ मा सार्वजनिक गरिएको थियो । भारतको पुनेस्थित लोनाभालाबाट छायांकन सुरु गरिएको चलचित्र सन् २०२० को इद उल फितरको अवसर पारेर मे २२ मा रिलिज हुँदैछ ।

अमेरिकी एक्सन चलचित्र ‘फास्ट एन्ड फ्युरियस–९’को निर्देशन जस्टिन लिन र लेखन डेनियल क्यासेले गरेका हुन् । यो चलचित्र सन् २०१७ मा निर्मित चलचित्र ‘फास्ट एन्ड फ्युरियस’को नवौं संस्करण हो । चलचित्रमा भिन डेज, मिसेल रोड्रिग्वेज, जोर्डाना ब्रिउस्टर, टाइर्सी गिब्सन, क्रिस लुडाक्रिस ब्रिज, नाथाली इम्यानुअल, जोन केना, हेलेन मिरेन, चार्लिज थेरोन र माइकल रुकरको अभिनय छ । 

बलिउड निर्देशक रोमियो डि सुजा निर्देशित चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’ र हलिउड निर्देशक गाइ रिचीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘द जेन्टलमेन’ आगामी जनवरी २४ मा एकसाथ रिलिज हुँदैछ । डान्सिङ फ्लेभरको चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को निर्माण भूषण कुमार, दिव्या घोस्ला कुमार, कृषन कुमार र लिज्ले डिसुजाले गरेका हुन् । चलचित्रमा वरुण धवन, श्रद्धा कपुर, प्रभु देवा, नोरा फतेही, मुरली शर्मा, पुनित पाठक, धर्मेश येलेन्दे, क्यारोलिन विल्डे, सलमान युशुफ खान, अपारशक्ति खुराना, सुशान्त पुजारी, सोनाम बाजवा, राघव जुयाल, जय सिंह, भर्तिका झा, सुशान्त खत्री, सोनाम जोहार, सेमी जोन हेनीलगायतले अभिनय गरेका छन् । यो चलचित्रको सन् २०१९ को फ्रेब्रुअरीमा पन्जाबबाट छायांकन सुरु गरिएको थियो । पन्जाबपछि लन्डनमा जुलाई महिनामा छायांकन सम्पन्न गरियो । सन् २०१९ को नोभेम्बर ८ मा रिलिज गर्ने भनिए पनि त्यो मितिलाई जनवरी २४ पुर्‍याइयो । यो चलचित्रलाई डिस्नेको ‘एबीसीडी २’ को सिक्वेल भनिए पनि डिस्नेले भारतीय चलचित्र उत्पादनबाट हात झिकेपछि यसको नाम फेरिएको हो ।

त्यस्तै हलिउड चलचित्र ‘द जेन्टलमेन’को कथा इभान एटकिन्सन, मार्न डेभिस र रिचीले लेखेका हुन् । चलचित्रमा म्याथु म्याककनौघे, चार्ली हननाम, हेनरी गोल्डिङ, मिसेल डोकरी, जेरेमी स्ट्रङ, इडी मार्सन, कोलिन फेरेल र हग ग्रान्टको अभिनय छ । यो चलचित्र यूकेमा जनवरी १ मा र अमेरिकामा जनवरी २४ मा रिलिज हुँदैछ ।

आगामी जून २६ मा बलिउड चलचित्र ‘थलाइवी’ र हलिउड चलचित्र ‘टप गन : मेवरिक’ रिलिज हुँदैछ । ए एल विजयको निर्देशन तथा विष्णु बर्दान इन्दुरी र शैलेश आर सिंहको निर्माण रहेको यो चलचित्र त्रिकोणीय बायोपिक जनराको छ । चलचित्रले दिवंगत राजनीतिज्ञ तथा चलचित्र अभिनेत्री जयललिताको कथा प्रस्तुत गरेको छ । जयललिता तमिलनाडु राज्यकी मुख्यमन्त्री थिइन् । चलचित्रमा अभिनेत्री कंगना रणावतले शीर्ष भूमिकामा अभिनय गरेकी छन् । यो चलचित्रको घोषणा जयललिताको जन्मदिनको अवसर पारेर सन् २०१९ को फेब्रुअरी २४ मा गरिएको थियो भने चलचित्रको फस्टलुक र टिजर नोभेम्बर २३ मा सार्वजनिक गरिएको थियो । तमिल, तेलेगु र हिन्दी भाषामा निर्माण गरिएको चलचित्रमा कंगनाका अतिरिक्त अरविन्द स्वामी, प्रियामनी, विजय देवेराकोन्डा र प्रकाश राजको अभिनय छ ।

अमेरिकन एक्सन ड्रामा चलचित्र ‘टप गन : मेवरिक’को निर्देशन जोसेफ कोसिन्सकीले गरेका हुन् । जेरी ब्रकेमिर, टम क्रुज, डेभिड एलिसन, डाना डोल्डबर्ग र डोन ग्रेन्गरको निर्माण रहेको चलचित्रमा पिटर क्रेग, एहरेन क्रग, जस्टिन मार्क्स, एरिक वारेन सिंगर र क्रिस्टोफर म्याक्वेरीको लेखन छ । यो चलचित्र सन् १९८६ को ‘गन’को सिक्वेल हो । चलचित्रमा टम क्रुज, मिलेस टेलर, जेफिर कोन्ली, जोन हेम, ग्लेन पोवेल, लेविस पुलमेन, इद हेरिस, भाल किल्मेरलगायतको अभिनय छ ।

सन् २०२० को मे १ मा बलिउड चलचित्र ‘कुली नम्बर वान’ र हलिउड चलचित्र ‘ब्ल्याक विडो’ रिलिज हुँदैछन् । चलचित्र ‘कुली नम्बर वान’का निर्देशक डेभिड धवन हुन् भने यसलाई बासु भागनानीले निर्माण गरेका हुन् । सन् १९९५ को चलचित्र ‘कुली नम्बर वान’को यो रिमेक भर्सन हो । चलचित्रमा वरुण धवन, सारा अली खान, परेश रावल, जाभेद जाफरी, राजपाल यादव, जोनी लिभर, साहिल भेद र शिखा ताल्सानियाको अभिनय छ । चलचित्रको छायांकन सन् २०१९ को अगस्ट ८ मा बैंककबाट सुरु गरिएको थियो ।

अमेरिकी सुपरहिरो चलचित्र ‘ब्ल्याक विडो’ मार्बल कमिक्समा आधारित चलचित्र हो । यो मार्भल सिनेमाटिक युनिभर्सबाट निर्माण भएको २४ औं चलचित्र हो । मार्भल स्टुडियोले निर्माण गरेको चलचित्र वाल्ड डिस्ने स्टुडियो मोसन पिक्चर्सले वितरण गर्दैछ । केट सर्टल्यान्डको निर्देशन तथा ज्याक साइफर र नेड बेन्सनको लेखन रहेको चलचित्रमा स्कार्लेट जोहान्सन, डेभिड हार्बर, फ्लोरेन्स पग, ओटी फ्यागबेन्ले र राचेल विस्जको अभिनय छ ।

बलिउड निर्देशक अबिर सेनगुप्ताको चलचित्र ‘इन्दुकी जवानी’ र हलिउड निर्देशक पेटी जेन्किन्स निर्देशित चलचित्र ‘वन्डर वुमन १९८४’ आगामी जून ५ मा रिलिज हुँदैछ । भूषण कुमार र निखिल आडवाणीको निर्माण रहेको चलचित्र ‘इन्दुकी जवानी’मा आदित्य सिल, कायरा आडवाणी, मल्लिका दुवा र शिवम ककरको अभिनय छ । यो चलचित्रलाई निर्माता आडवाणीले सन् २०१९ को मे २७ मा सामाजिक सन्जालमार्फत निर्माणको घोषणा गरेका थिए । अक्टोबर २३ मा लखनउबाट छायांकन सुरु गरिएको चलचित्रको नोभेम्बर २२ मा इन्डक्ल्याप गरिएको थियो ।

त्यस्तै हलिउड चलचित्र ‘वन्डर वुनम १९८४’ डिसी कमिक्स पात्र वन्डर वुमनमा आधारित छ । वार्नर ब्रोस पिक्चर्सले वितरण गर्ने यो चलचित्र सन् २०१७ को वन्डर वुमनको सिक्वेल र डीसी एक्सटेन्डेड युनिभर्सको नवौं प्रस्तुति हो । चलचित्रमा निर्देशक पेटीसँगै जिओफ जोन्स र डेभिड काल्हामको लेखन छ । चलचित्रमा डाल गाडोट, क्रिस पिन, क्रिस्टेन विल्ग, पेड्रो पास्कल, रोविन रिट र कोनी निल्सनको अभिनय छ ।

स्रोत : एजेन्सी 


Spread the love