अमेरिकाले किन मार्‍यो इरानी जनरल सोलेमानीलाई ?

Spread the love

मध्यपूर्वभरि इरानी सैन्य गतिविधि सञ्चालन गरेका कासेम सोलेमानीलाई बिहीबार अमेरिकाले मारेको घटनाको ठूलो महत्त्व छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स कुड्स फोर्सका कमान्डर सोलेमानीलाई उनकै गाडीमा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्षेप्यास्त्र प्रहार गरी मारिएको इराकी टेलिभिजनले बिहीबार जनाएको थियो। त्यसपछि पेन्टागनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा उक्त हमला गरिएको स्वीकार गरेको हो।

मध्यपूर्वमा अमेरिकी सैन्य गतिविधि हेर्ने अमेरिकी सेन्ट्रल कमान्डका तत्कालीन कमान्डर जनरल जोसेफ भोटेल सन् २०१८ मा सोलेमानीको भूमिकाबारे यस्तो भन्छन्, ‘जहाँ तपाईं इरानी गतिविधि देख्नुहुन्छ, त्यहाँ कासेम सोलेमानी देख्नुहुन्छ, सिरियामा होस् वा इराकमा वा यमनमा, उनी त्यहाँ हुन्छन् र त्यहाँ हुन्छ उनको नेतृत्वको कुड्स फोर्स। यो हाम्रो लागि प्रमुख खतरा हो।’

गत दशकमा इरानले मध्यपूर्वभर इराक, सिरिया र यमनमा छद्म रूपमा युद्ध सञ्चालन गरिरहेको छ र, इरानले हिजबुल्लाह सेनामार्फत् लेबनानको ठूलो भागमाथि नियन्त्रण जमाएको छ। यी सबै गतिविधिको नेतृत्व सोलेमानीको हो।

सन् २००३ मा इराकमाथि अमेरिकाको हमलापछि सिया सेनाले इरानमा सयौं अमेरिकीमाथि हमला गरी मार्दा त्यसको नेतृत्व पनि सोलेमानीकै थियो। मध्यपूर्वमा अमेरिकी युद्ध घटाउन चाहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य गतिविधिमार्फत् जवाफ दिन कसिएका छन्। उनले गत आइतबार इराक र सिरियामा इरानको सहयोगप्राप्त समूहमाथि पाँचवटा हवाई हमलाको स्वीकृति दिएका थिए। उक्त समूहले केहीअघि इराकमा रहेका अमेरिकी सैन्य शिविरमा हमला गरेका थिए, जसमा अमेरिकी ठेकेदार मृत भेटिएका थिए भने अन्य थुप्रै कामदार घाइते भएका थिए।

अब प्रश्न छ- इरानीहरूले कस्तो प्रतिक्रिया दिनेछन्? केही महिनायता इरानी हवाई हमलाले अमेरिका र सहयोगी राष्ट्रलाई जिस्काउन चाहिँ खोजेको छ, तर पूर्ण युद्धकै हाँक भने दिएको छैन।

गत जुनमा इरानीले अमेरिकी ड्रोनलाई ध्वस्त बनाए। यसको सैन्य प्रतिक्रिया दिन सकिन्थ्यो, तर अमेरिकी राष्ट्रपति ट्रम्पले मानवविहीन ड्रोन ध्वस्त गर्नुसँग इरानमा हवाइ हमलाको निर्णय यथोचित नहुने भन्दै पछि हटे।

त्यसको तीन महिनापछि विश्वको सबैभन्दा ठूलो तेल सुविधामाथि लक्षित गरी क्षेप्यास्त्र र ड्रोनले साउदी अरबमा हमला भयो। ट्रम्पले त्यसबेला ट्वीटरमार्फत् आक्रमणकारीलाई जवाफ दिन अमेरिका तयार रहेको जनाए। यस हमलाको आरोप इरानलाई लगाइए तापनि ट्रम्पले मध्यपूर्वमा अर्को अमेरिकी युद्ध चाहेनन् र सैन्य आक्रमणको स्वीकृति दिएनन्।

तर गत अक्टोबरमा सिरियामा आइएसका नेता अबु बक्र अल-बगदादीलाई समात्ने वा मार्ने जोखिमपूर्ण आक्रमणलाई स्वीकृति दिएझैँ ट्रम्पले सोलेमानीलाई मार्न आक्रमणको स्वीकृति दिए।

सोलेमानीमाथि बिहीबारको उक्त हमलाले राष्ट्रपति ट्रम्प अमेरिकी सैन्यशक्तिको प्रयोगमा झन् बढी विश्वस्त भएको देखिन्छ।


Spread the love