‘द लिडर’ घोषणा, रवि लामिछाने उद्घोषक, बाबुराम भट्टराईदेखि सुशीला कार्कीसम्म निर्णायक

Spread the love

रियालिटी शो ‘द लिडर’को घोषणा गरिएको छ । आयोजकले यो कार्यक्रमलाई संसारकै पहिलो र फरक किसिमको कार्यक्रम भनेको छ । आज काठमाडौँ स्थित होटल अन्नपुर्णमा आयोजित एक औपचारिक कार्यक्रमकाबिच उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

यो कार्यक्रमको निर्णायकमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व पत्रकार तथा नेता रविन्द्र मिश्र, पुर्व प्रधानन्याधिस शुशिला कार्की र अन्य दुई चर्चित नेता रहने आयोजकले जनाएको छ ।  बुझिएअनुसार अन्य दुई नेतामा गगन थापा र गोकर्ण विष्ट हुनेछन् । तर, आयोजकले भने आज उनीहरुको नाम सार्वजनिक गरेन ।

त्यस्तै, उक्त ‘रियालिटी शो’को उद्घोषकको जिम्मेवारी भने ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममार्फत चर्चामा आएका रवि लामिछानेलाई दिइएको छ ।

आयोजक संस्था एसआरबिएन मिडियाले यो कार्यक्रमको अडिसन छिट्टै नेपाल र नेपालबाहिर गरिने जनाएको छ । एसआरबिएनका सिइओ विपिन कुमार आचार्यले भने, ‘नेता फेरिए, नेतृत्वमा विभिन्न किसिमका व्यक्ति आए । तर, नेपालीहरुको मुहारमा चमकता कहिल्यै देखिएन । सोहि कारण यो कार्यक्रममार्फत नेतृत्व खोजी गरेका हौं ।’

एसआरबिएनले यसअघि चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ पनि ल्याएको थियो । उक्त कार्यक्रममा विजेता राजिब जैनले एक करोड पाइसकेका छन् ।

आज घोषणा भएको कार्यक्रम ‘द लिडर’का विजेताले काठमाडौँमा अपार्टमेन्ट, कार र २० लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । मुलुक इतिहासकै अप्ठेरो अवस्थामा फसेको र यसको मुख्य कारण राष्ट्रले राम्रो नेतृत्व जन्माउन नसकेको भन्दै आयोजकले यस्तो किसिमको कार्यक्रमको घोषणा गरेको जनाएको छ ।

पुर्व प्रधानन्याधिस शुशिला कार्कीले यो कार्यक्रमले मुलुकलाई स्थिर र समृद्ध बनाउने नेतृत्व पत्ता लगाउने बताइन् । उनले भनिन्, ‘निकै रोचक किसिमको कार्यक्रममा निर्णायकको भुमिकामा काम गर्ने अवसर मिलेको छ । राजनितीमा जस्तो विभिन्न पार्टिका व्यक्तिले यो व्यक्तिलाई जिताउनुहोस् भनेर फोन नआए हुन्थ्यो ।’ उनले नयाँ क्षमतावान व्यक्ति कार्यक्रमले जन्माउने अपेक्षा राखिएको समेत बताइन् ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले क्षमतावान व्यक्तिको पहिचान गर्न कार्यक्रमले टेवा पुग्ने बताए । उनले यो रियालिटी शो मार्फत जनताले आगामी समयमा  निर्वाचनमा कस्ता व्यक्ति छान्ने र कसलाई जिताउने भन्ने विषयको जानकारी समेत प्राप्त हुने बताए ।

कार्यक्रममा नेता रविन्द्र मिश्रले देशमा नेता प्रयाप्त भएपनि राजनेताको खाँचो औल्याउँदै यो ‘रियालिटी शो’ले एउटा आवश्यक राजनेता जन्माउने महत्वकांक्षा रहेको खुलाए । उनले थपे, यो कार्यक्रमको विजेताले करोडमाथिको पुरस्कार मात्रै प्राप्त गर्ने मात्र छैन, देशको मुहार परिवर्तन गर्ने अवसरको ढोका समेत खुल्ला हुन सक्ने बताए ।

चाँडै नेपालका सातै प्रदेशका धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौं, जनकपुर र विराटनगरमा अडिसन हुनेछन् भने नेपाल बाहिर अमेरिका, साउदी अरब, दुबई, दक्षिण कोरिया, मलेसिया र अष्ट्रेलियामा अडिसनको आयोजना गरिनेछन् ।

प्रदेश र प्रवासका विभिन्न स्थानमा प्रारम्भिक अडिसनहरु सञ्चालन गर्ने र कार्यक्रमका लागि एक सयजना नयाँ नेतृत्व खोजेर उनीहरुविच प्रतिस्पर्धा गराउने कार्यक्रमको डिजाइन गरिएको छ ।

१० एपिसोड संचालनमार्फत १ सय जना प्रतिस्पर्धी छानेपछि ११ देखि १३औं एपिसोडबाट ६५ जनालाई हटाएर ३५ जना छानिनेछन् । ती ३५ लाई पाँच–पाँच जनाको समूहमा विभाजन गरेर ७ गु्रप बनाइने र २७ औं एपिसोडबाट एउटा गु्रप मात्र फाइनलमा पुग्नेछन् ।

प्रतिस्पर्धीहरुले राजनीतिक घोषणापत्र सार्वजनिक गर्नेदेखि सार्वजनिक सुनुवाई, कोष जम्मा गरेर परिवर्तन गर्न सक्ने कार्यक्रम, बजेट भाषण, व्यवसायिक परियोजना र निर्वाचनसम्मको प्रक्रियाबाट गुज्रँदै आफ्नो प्रतिभा देखाउनुपर्नेछ ।

कार्यक्रमको सेमिफाइनलसम्म निर्णायकले भुमिका खेल्नेछन् । तर, फाइनलमा भने सार्वजनिक रुपमा भोटको लागी आह्वान गरिने र जनताको मत नै निर्णायक हुने बताइएको छ ।

घोषणा कार्यक्रममा ‘द लिडर’का प्रस्तोता रवि लामिछानेले देशमा नयाँ नेतृत्वको आवश्यकता यो कार्यक्रमबाट जन्मिएको व्यक्तिले पुरा गर्ने अपेक्षा गरे । उनले विगतमा जस्तै दर्शकको माया र साथ पाउने अपेक्षा राखे ।

आयोजक एसआरविएन मिडियाले एरो प्रोडक्सनको सहकार्यमा कार्यक्रम ल्याउन लागेको हो ।

कार्यक्रम न्युज २४ टेलिभिजनका साथै रमाईलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।


Spread the love