अमेरिकाको न्युजर्सी शहरमा गोली चल्यो, प्रहरी अधिकारीसहित ६ जना मारिए
२५ मंसिर, काठमाडौं । अमेरिकाको न्युजर्सी शहरमा गोली चल्दा एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् ।
जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो ।
गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।
स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए ।
मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।
जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।
केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए ।
दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे ।
त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयकडौं राउण्ड गोलीहरु बरामद भएका छन् ।