फिटनेस सेन्टरमा आकर्षण

Spread the love

– स्वस्तिक श्रेष्ठ

कार्तिक १९, २०७६युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन् । कसिलो मसल्स तथा पेटमा सिक्स प्याक बनाउने रहर धेरैमा हुन्छ । फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लाग्छ । यो शरीर बनाउने सोखमा मात्र सीमित छैन । रुपन्देहीमा युवाहरू बिस्तारै व्यवसायिक रूपमा समेत यसमा संलग्न हुँदैछन् । अहिलेका अधिकांश फिटनेस सेन्टरमा सुविधायुक्त मेसिन उपलब्ध छन्, जुन लगानीका हिसाबले महँगा भए पनि व्यायाममा प्रभावकारी मानिन्छन् । एउटा सामान्य फिटनेस सेन्टरमा पूर्वाधारबाहेक पनि न्यूनतम १० लाख रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ ।

रूपन्देही जिल्लामा सानाठूला गरी ३ दर्जनभन्दा बढी जिम हाउस तथा फिटनेस सेन्टर छन् । फिटनेस सेन्टर खुल्ने क्रमसँगै खेलाडी उत्पादनमा समेत वृद्धि भैरहेको छ । साँझ–बिहान २ घण्टाका दरले नियमित कसरत गरे कम्तीमा ३ महिनामा राम्रै उपलब्धि हासिल गर्न सकिने बुटवल फिटनेस एन्ड जिम हाउसका सञ्चालक तथा खेलाडी विजेन्द्रमान श्रेष्ठ बताउँछन् । कसरत गर्दा उचाइ बढ्दैन, हड्डी खिइन्छ भन्ने गलत धारणा पहिले भए पनि अहिले त्यो तोडिसकिएको छ । अझ कुलतमा लागेका युवाहरूलाई सही मार्गमा फर्काउन फिटनेस सेन्टर सहयोगी सिद्ध हुने उनको तर्क छ । 

युवाहरू शरीर फिट राख्ने मनसायले फिटनेसमा आउने उनले बताए । ‘प्रोफेसनल खेलाडी बन्ने सोचले आउने युवाहरू अलि कम छन्,’ –श्रेष्ठ भन्छन् । सबै उमेरका मानिसहरू अहिले व्यायाममा आकर्षित छन् । शरीर फिट राख्न बिहान एक घण्टा व्यायाम गरे पुग्ने श्रेष्ठ बताउँछन् । व्यवसायिक खेलाडी नै बन्ने हो भने अलि बढी मेहनतको आवश्यकता पर्ने श्रेष्ठको तर्क छ । नियमित र निरन्तर कसरतका साथै खेलाडीलाई आवश्यक पर्ने पौष्टिक खानाको खर्च धान्न सामान्य व्यक्तिलाई कठिन हुने श्रेष्ठ बताउँछन् । 

भालुभैरव जिम हाउसले आफनो चौथो शाखा बुटवलमा खोलेको छ । काठमाडांैमा ३ वटा शाखा रहेको उक्त जिम हाउसले बुटवलका युवाहरूको क्रेजलाई मध्यनजर गर्दै त्यहाँ शाखा विस्तार गरेको हो । युवाहरूलाई प्राविधिक सहयोग गर्ने लक्ष्यसहित भालुभैरवको शाखा खोलेको जनाउँदै सञ्चालक जीवन गिरी भन्छन्— शारीरिक व्यायामका लागि दक्ष प्रशिक्षकको निकै ठूलो महत्व हुन्छ । गिरीका अनुसार फिटनेसका लागि खेलाडीमा लगाव र निरन्तरता चाहिन्छ । सहरका धेरैजसो व्यक्ति कुर्सीको काममा व्यस्त हुँदा पेट बढ्ने समस्या सिर्जना हुने भएकाले पनि फिटनेस सेन्टर उपयोगी सावित हुन थालेका हुन् ।

प्रदेशस्तरीय शारीरिक सुगठनमा उपाधि जितेका तथा निर्वोध जिम एन्ड फिटनेस सेन्टरका सञ्चालक चन्द्रमान श्रेष्ठ अहिले प्रशिक्षकका रूपमा खेलाडी उत्पादनमा लागेका छन् । हरेक बिहान र साँझ उनी फिटनेसका कक्षामा व्यस्त हुन्छन् । महिलाहरूका लागि विशेष जुम्बा कक्षाहरू सञ्चालन गरिँदै आएको श्रेष्ठले बताए । 

उद्योगपति, व्यवसायिक घरानाका सदस्यहरू, शिक्षकलगायत विभिन्न पेसा–व्यवसायका मानिसहरू फिटनेस सेन्टर पुग्छन् । ठूला होटलहरूले फिटनेस सेन्टरलाई आफ्नो होटलकै एउटा पाटोका रूपमा लिन थालेकाले प्रशिक्षकहरूले थप रोजगारी पाएको खेलाडीहरू बताउँछन् । रुपन्देहीका ड्रिमल्याड रिसोर्ट, टाइगर रिसोर्ट, क्लब डेनेभो, रेडसन होटलजस्ता अधिकांश होटलमा फिटनेसको सुविधा उपलब्ध छ 


Spread the love